काठमाडौं :
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्दैछ।
नेपाली समयअनुसार जिम्बाबेमा दिउँसो १:१५ बजे हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्न लागेको हो। प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्न नेपालले जित्नैपर्छ। दुवै खेलमा पराजित हुँदै अंकविहीन रहेको नेपाल अंकविहीन अवस्थामा तालिकाको पुछारमा छ।
यसअघिका दुई खेलमा हार बेहोरेको नेपालले समूह चरणमा अब खेल्न बाँकी दुवै खेलमा जित हात पार्नुपर्ने छ। अफगानिस्तान पनि समूह चरणमा खेलेका तीनवटै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामै छ।
अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक दिवसीय क्रिकेटका नम्बर एक बलर रासिद खानको सामना गर्नुपर्नेछ । पछिल्लो समय खराब ब्याटिङबाट गुज्रिरहेको नेपालका लागि यो निकै कठिन हुने देखिएको छ। नेपालका ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल फर्ममा छैनन् भने अर्का ओपनर दिलीपनाथको अवस्था पनि त्यही छ।
अफगानिस्तानका नियमित कप्तान कप्तान अस्घर स्टानिक्जाई र विके टकिपर तथा ब्याट्सम्यान मोहम्मद शाहजाद मैदान बाहिर रहनु नेपालका लागि सुखद हुनेछ। अस्घर स्वास्थ्यका कारण प्रतियोगितामा छैनन् भने शाहजाद आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै दुई खेलको प्रतिबन्ध भोगिरहेका छन्। एक दिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तानबीच अहिलेसम्म सातपटक प्रतिस्पर्धा भएको छ।
सन् २००४ को एसीसी ट्रफीमा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा उत्रिएको अफगानिस्तानलाई नेपालले ४७ रनले हराएको थियो । त्यसपछि भएका ६ खेलमा नेपाल अफगानिस्तानसँग लगातार पराजित भएको छ।-थाहाखबरबाट