Aamsanchar

काजगमै सीमित मार्ग दर्शन,सडकमै रात बिताउँछन् बालवालिका

Author Image
सोमवार, फागुन २८, २०७४

(सुरेन्द्र भण्डारी)

झापा ।

झापाका मुख्य बजारका सडकमा गाँस, बास र कपासको खोजीमा भाँैतारिने ५०–६० को हाराहारीमा बालबालिका छन् । विभिन्न उमेर समूहका भए पनि उनीहरुको मुख्य काम मागेर खानु हो । माग्दा नपाइए चोरी गर्नु उनीहरुका लागि कुनै नौलो कुरा होइन । उनीहरु के खान्छन्, कसरी खान्छन्, के लगाउँछन्, के ओढ्छन् र कहाँ सुत्छन्, अनि कहाँबाट आए यत्तिका धेरै बालबालिका ? त्यसको कसैलाई चासो छैन ।

सडक बालबालिकाका रुपमा चिनिएका उनीहरुलाई समाजका लव्धप्रतिष्ठित व्यक्तिले नै ‘खाते’ उपनामले बोलाउँछन् । ८ वर्षदेखि १५ बर्ष उमेर समूहका एकै नासे बालबालिका बजार क्षेत्रमा यत्र–तत्र भेटिँदा पनि सम्बन्धित निकाय, स्थानीय सरकार भने अझै बेखबर छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सडक बालबालिका व्यवस्थापन गर्न ‘सडक बालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२’ जारी गरेको छ । तर, जारी मार्गदर्शन कागजमै सीमित हुँदा १६ बर्षमुनिका बालबालिका बाँच्ने झिनो आशा बोकेर सडकमा दिनहुँ भौंतारिरहेका छन् ।

अन्तर्राष्ट्रिय कानून अनुसार १८ वर्ष भन्दा मुनिकालाई र नेपालको कानूनले १६ बर्ष भन्दा मुनिका व्यक्तिलाई बालबालिका भनेको छ । २०६८को जनगणना अनुसार १६ वर्ष भन्दा मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको झण्डै ४० प्रतिशत छ । १८ वर्ष मुनिका भने ४४ प्रतिशतभन्दा बढी छन् । ती मध्ये विद्यालय उमेर समूहका झण्डै ६ प्रतिशत बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन् भने पाँच हजार बालबालिका सडकमा जीवन बिताइरहेका छन् । सडक बालबालिकाको सख्या भने प्रत्येक बर्ष चार सयका दरले बृद्धि हुँदै आएको सरकारी तथ्याङ्क छ ।

बाल अधिकारको संरक्षणको प्रमुख जिम्मेवारी घर परिवारको भए पनि घर परिवारले उनीहरुको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको अवस्थामा राज्यको प्रमुख जिम्मेवारी रहन्छ । तर, राज्यले सडकमा यत्रतत्र हिँड्ने बालबालिकाको संरक्षण नगर्दा उनीहरु सडकमै रात बिताउन बाध्य छन् ।

कति बालबालिका चोरी, लुटपाट, लागूऔषध दुव्यर्सनमा संलग्न छन् भने कतिपय बालबालिका विभिन्न असामाजिक क्रियाकलापमा लागेको पाइएको छ । बालबालिकाका क्षेत्रमा विभिन्न संघ–संस्था र राज्यले लाखौं रुपैयाँ वर्षेनि खर्चिने गरेपनि खर्चिएको रकमले त्यस्ता बालबालिकालाई नछुँदा उनीहरुको भविष्य अन्यौलमा छ ।

दमक र भद्रपुर तथ्याङ्क संकलन गर्दै

चोरी, लुटपाट, लागूऔषध दुव्यर्सनमा सडक बालबालिका संलग्न रहेको पाइएपछि दमक र भद्रपुर नगरपालिकाले उनीहरुको तथ्याङ्क संकलन गर्न शुरु गरेको छ । बजार र सडकपेटीमा रहेका बालबालिकाहरुको अवस्था दयनीय रहेको भन्दै दमक नगरपालिकासँगको सहकार्यमा लागूऔषध पुनःस्थापना संघको अगुवाइमा अहिले त्यस्ता बालबालिकाको संरक्षण र तथ्याङ्क संकलन शुरु गरिएको हो ।

नगरपालिकाले उनीहरुको संरक्षणका लागि बजेट नछुट्याएपनि विभिन्न शीर्षकबाट उनीहरुको भरणपोषण र संरक्षण गर्ने दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीले बताउनुभयो । उहाँले दमक नगरपालिकामा मात्रै १८देखि २०को संख्यामा अभिभावकविहीन सडक बालबालिका रहेको र अभिभावक भए पनि कुलतमा फसेका बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको छ ।

यता भद्रपुर नगरलालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडक बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको र उनीहरुका लागि ठोस् कार्यक्रम नभए पनि संरक्षणका लागि योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो नगरमा अहिलेसम्म सडक बालबालिका नभएको बताउँदै समस्या देखिएको खण्डमा तत्काल उनीहरुको संरक्षण र पुनःस्थापना गर्ने बताउनुभयो । आफ्नो नगरमा लागूऔषध प्रयोगकर्ताविहीन बनाउनलाई ‘भिजन’ बनाएर अघि बढ्ने नगरप्रमुख पोखरेलको भनाइ छ ।

यसरी फस्छन् कुलतमा बालबालिका

दमक निवासी चक्रबहादुर दर्जीकी श्रीमती गंगा नाबालक दुई छोरा छोडेर अर्कैसँग हिँडेपछि छोराको लालनपालन र रेखदेख गर्न उहाँले कान्छी श्रीमती भित्र्याउनुभयो । कान्छी श्रीमती भित्र्याएको केही दिनमै चक्रबहादुरको घरमा आगो लगाएर उनी पनि हिँडिन् ।

कान्छी श्रीमती हिँडेको हप्तादिन बित्न नपाउँदै चक्रबहादरको मृत्यु भएपछि उहाँका दुई छोरा सहाराविहीन बने । बिजय चक्रबहादुरका कान्छा छोरा हुन् । दाजुको अत्यधिक मादकपदार्थ सेवनका कारण मृत्यु भएपछि बिजयको संरक्षक कोही भएन त्यसपछि उनी सडकमा रात बिताउन बाध्य भए । अभिभावकविहीन बन्न पुगेका बिजय साथीको लहैलहैमा लागेर लागूऔषध सेवन गर्न थाले । उनले दमकको सडकमा सात वर्ष बिताए ।

उनी अहिले १५ वर्षका भए । सात वर्ष सडकमा बिताउँदा उनले भोक मेटाउन कहिले मागे त कहिले चोरी गरे । चोरी गर्दा धेरैपटक कुटाइ खाएको तीतो अनुभव छ उनीसँग । उनी अहिले सडकबाट सुधार गृहमा छन् ।

उनी मात्र होइन दमककै १५ वर्षीय सरोज श्रेष्ठ पनि हाल सुधारगृहमा छन् । उनका अभिभावक भए पनि निम्न आर्थिक अवस्थाका कारण सिङ्गो परिवार मागेर हिँड्ने गरेको उनले बताए । उनले पनि दमक लगायत पूर्वका विभिन्न बजार र सडकमा रात बिताएका छन् । उनले सडकमा रात बिताउँदा डेन्ड्राइट लगायतका नशालु पदार्थ सेवन गर्न सिके ।

लागूऔषध प्रयोग गर्नकै लागि कहिले पकेट मारे त कहिले चोरी गरे । माग्दा नपाएपछि धेरैपटक चोरी गरेको सुनाउँदै उनले भने– कति पटक त टेलिफोन, केवल र बिजुलीको तार काटेर बिक्री गरेका छौं । चोरी गर्नुभन्दा तार काटेर बिक्री गर्न सजिलो हुन थालेपछि नियमित जसो तार चोरी गथ्र्यौं– उनले भने– दमकका धेरै पसललाई हामीले चोरी गरेको तार बेचेर लागूपदार्थ किनेर खाएका छौं ।

कुलतमा फसेका सडक बालबालिकाको निःशुल्क उपचार

सरोकारवाला निकायले कुलतमा फसेका सडक बालबालिकाको हेरचाह नगरेपछि नेपाल आगूऔषध पुनःस्थापना संघले उनीहरुको निःशुल्क उपचार र पुनःस्थापना शुरु गरेको छ ।

कुलतमा फसेका सडक बालबालिकाको संख्या झापामा दिनानुदिन बढेको भन्दै उनीहरुलाई सही वाटोमा ल्याउन संघले निःशुल्क उपचार र पुनःस्थापना शुरु गरेको संघका केन्द्रीय अध्यक्ष राजु गिरीले बताउनुभयो । उहाँले भन्नुभयो – सडक बालबालिकाको अवस्था दयनीय रहेको छ र उनीहरुलाई कसैले नहेरेकाले उनीहरुलाई उपचार गर्दै नयाँ जीवन दिलाउन हामीले अभियान शुरु गरेका हौंैं ।

अभियान अन्तर्गत दमकबाट पाँचजना सडक बालबालिकालाई संघले उद्धार गर्दै संरक्षण गरेको छ । संरक्षण गरिएका पाँच बालकमध्ये तीन जनालाई दमकमा रहेको ह्याप्पी नेपालको संरक्षणमा राखिएको छ भने दुई जना बिर्तामोडस्थित पुनर्जन्म समूह नेपालमा राखिएको छ । उनीहरुलाई निःशुल्क उपचार र पुनःस्थापन नहुञ्जेल संस्थामा राखिने र स्थानीय निकायले सहयोग गरे लागूऔषध सेवनकर्ताका रुपमा सडकमा रहेका सबै बालबालिकाको उद्धार गर्ने संघको लक्ष्य रहेको अध्यक्ष गिरीले बताउनुभयो ।

उनीहरुको उद्धारका लागि दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले सहयोग पु¥याएको गिरीले बताउनुभयो । सडक बालबालिकाको उपचार र पुनःस्थापनपछि दमक नगरपालिका, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको रोहवरमा समाजमा पुनःस्थापना गरिने गिरीको भनाइ छ ।

यता ह्याप्पी नेपालका कार्यक्रम संयोजक तथा नेपाल लागूऔषध पुनःस्थापना संघका सचिव कुमार गुरुङले सडक बालबालिकाको निःशुल्क उपचार र पुनःस्थापनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँनले सबैले यसमा सहयोग पु¥याए उनीहरुको भविष्य सुन्दर बनाउन सकिने बताउनुभयो । केही सडक बालबालिकाको उद्धारले मात्र समस्याको दीर्घकालीन समाधान नहुने भन्दै उहाँले सवै पक्षलाई सहयोग पु¥याइदिन आग्रह गर्नुभएको छ । झापामा लागूऔषध नियन्त्रणका क्षेत्रमा १३ वटा संघ–संस्था क्रियाशील रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 353

प्रतिक्रिया (०)