Aamsanchar

अपाङ्ग बालबालिकालाई वीरता जेसीजद्वारा पुस्तकसहित सहयोग सामग्री प्रदान

Author Image
शुक्रवार, चैत ९, २०७४

बिर्तामोड, चैत ९।

 ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’– भन्ने जेसीज आस्थालाई आत्मसाथ गरी वीरता जेसीजले आज शुक्रबार अपाङ्ग बालबालिकालाई पाठ्यपुस्तक, अन्य शैक्षिक सामग्री र खाद्य सामग्री सहयोग गरेको छ । 

अर्जुनधाराको कप्तानबारीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका १३ जना बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । उक्त केन्द्रमा आयोजित कार्यक्रमकाबीच प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विनोद बस्नेत लगायतले सामग्री वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका वक्ताहरुले अपाङ्ग बालबालिकालाई जेसीजले उदाहरणीय सहयोग गरेको भनी प्रशंसा गर्दै जेसीजबाट अरुले पनि सेवा कार्य सिक्नुपर्ने बताए । 

कार्यक्रममा उक्त केन्द्रका अध्यक्ष कृष्णदेव दुलाल, वीरता जेसीजका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकाल, अर्जुनधारा जेसीजका मानार्थ सदस्य तथा अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतले जेसीजको उक्त कार्यक्रमले अपाङ्ग बालबालिकालाई खुशी र उत्साह थप्नुका साथै शिक्षा आर्जनमा महत्वपूर्ण टेवा पुगेको बताए । 

कार्यक्रम संयोजक तथा जेसीजका कार्यकारिणी उपाध्यक्ष मिक्की कार्की मेघराजले स्वागत गरेको कार्यक्रम महासचिव विनोद पाण्डे (कमल)ले सञ्चालन गरेका थिए । जेसीजले त्यहाँ रहेका अपाङ्ग बालबालिकालाई एक–एक सेट पुस्तक, कापी, पेन्सिल, झुल, चना, च्युरा, मटर, दाल, मिठाई लगायतका सामग्री प्रदान गरेको थियो । 

अपाङ्ग बालबालिकालाई पुस्तक प्रदान गर्नका लागि कार्यक्रम संयोजक कार्कीले विभिन्न प्रकाशन गृहसँग समन्वय गरेर पुस्तक जुटाएका थिए । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले अपाङ्ग बालबालिकाका लागि सहयोग प्रदान गरेर जेसीजले वास्तविक सेवा कार्य गरेको बताउँदै आगामी दिनमा पनि अझ रचनात्मक कार्य गर्न शुभकामना दिए । उनले कार्यक्रममा जेसीजका पदाधिकारी, संयोजक तथा सदस्यहरुको उत्साहजनक सहभागिताको प्रशंसा समेत गरे । 

 

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर