Aamsanchar

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार सार्वजनिक

Author Image
शनिवार, चैत १०, २०७४

झापा, 

झापा भद्रपुर–११ स्थित रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा विभिन्न चार विधामा स्थापित पुरस्कार आज सार्वजनिक गरिएको छ ।

प्रतिष्ठानले बिर्तामोडस्थित ओली वंश प्रतिष्ठानको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो पुरस्कार सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार यस वर्षको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ बैतडीका वैज्ञानिक मदनराज भट्टलाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशि रु एक लाख एक हजार १११ रहेको छ ।

तीन दशकसम्म राष्ट्रिय गहँु बाली अनुसन्धान कार्यक्रमको मुख्य प्रयोजनकर्ता तथा संयोजकका रुपमा कार्यरत रही गहुँ बालीको विभिन्न जातको विकास गरी कृषि अनुसन्धान तथा प्रविधि प्रशारण कार्यमा उत्कृष्ट योगदान पु¥याएको भन्दै उहाँलाई सो पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष ओलीले बताउनुभयो ।

त्यस्तै यस वर्षको रु एक लाख एक हजार १११ राशिको ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ बालकुमारी जिसीलाई प्रदान गरिने छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सूचना प्रवाह तथा जोखिमस्थितिबाट महिलाको सशक्तीकरण, उद्धार तथा पुनःस्थापनामा उल्लेखनीय योगदान पु¥याएवापत नवलपरासी निवासी जिसीलाई सो पुरस्कार प्रदान गर्न लागिएको उहाँले जानकारी दिइयो ।

रु एक लाख एक हजार १११ राशिकै ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ यस वर्ष साहित्यकार मेघराज मञ्जुललाई प्रदान गरिने छ । सामाजिक चेतना अभिवृद्धिलाई अभियानका रुपमा सञ्चालन गर्दै साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए वापत मञ्जुललाई सो पुरस्कार प्रदान गर्न लागिएको संस्थाका कोषाध्यक्ष नारायण ओलीले जानकारी दिनुभयो ।

त्यस्तै यस वर्षको रु ५१ हजार १११ राशिको ‘देवी ओली स्मृति राष्ट्रिय वाल पुरस्कार’ सामाजिक क्षेत्रमा क्रियाशील संस्था सिबिआर भक्तपुरलाई प्रदान गरिने भएको छ । अपाङ्गताको रोकथाम, उपचार तथा पुनःस्थापनामा २०४२ सालदेखि निरन्तर रुपमा लागिपरेर बालबालिकाको हित अधिकार तथा सम्मानयुक्त जीवनयापनका लागि संस्थाले योगदान पु¥याएको भन्दै उक्त संस्थालाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको सो अवसरमा जानकारी दिइयो ।

उक्त पुरस्कार आगामी वैशाख ४ गते प्रदान गरिने जनाएको छ । सोही दिन अर्जुनधारा नगरपालिका–१ साधुटारमा रहेको शंकराचार्य पीठ वेद वेदाङ संस्कृत पाठशालालाई रु एक लाख लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माणका लागि सहयोग गर्ने संस्थाका अध्यक्ष ओलीले बताउनुभयो । उहाँका अनुसार रु १० लाखको लागतमा निर्माण गरिने खानेपानी ट्याङ्की एक वर्षभित्र निर्माण सम्पन्न गरी पाठशालालाई हस्तान्तरण गरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)