Aamsanchar

धुलावारी मावि र किसानहरुको बीचको विवाद २८ बर्षपछि समाधान

Author Image
आइतवार, चैत ११, २०७४

धुलाबारी।

झापाको मचीनगर नगरपालिका–१०स्थित धुलावारी मावि र धुलावारी मािवको जमिन उपभोग गर्ने किसानहरुको बीचको विवाद २८ बर्षपछि समाधान भएको छ ।

प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकणमा धुलावारी माविमा आयोजित दुबै समूहको संयुक्त बैठकमा १३ बुँदे सहमति गर्दै विवाद समाधान भएको हो । २००८ साल बैशाख ७ गते स्थापना भएको विद्यालयको ३२ विगाह १८ कठ्ठा ८ धुर जग्गा मध्ये २९ बिगाह ८ कठ्ठा ८ घुर जग्गामा विवाद भएको थियो । बिद्यालयको अभिलेखबाट जग्गा उपभोग गर्ने किसानहरुले २०४६ साल भन्दा अगाडि नियमित रुपमा ठेक्का तिर्दै आए पनि ०४६ सालपछि ठेक्का नबुझाएको र ०५५÷०५६ सालदेखि तीन जना किसानले मात्र ठेक्का बुझाउँदै आएका थिए ।

उक्त विद्यालयलाई शैक्षिक क्षेत्रमा अब्बल बनाउन विभिन्न दाताहरुले प्रदान गरेको जमिनमा भोगचलन नियमित ठेक्का, ठेक्काको पुनःमूल्यांकन, बोटविरुवा उपयोग, आर्थिक पारदर्शिता, जमिनको अवस्था, जमिन यकिन, रकम बुझ्ने, भर्पाई लिनेदिने लगायतका विषयमा विद्यालय र जमिन उपभोग गर्ने किसानहरुबीच विवाद हुँदै आएको र विवाद समाधान गर्नका लागि थुप्रै प्रयास गरेपनि समाधान नभएको बताइएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले द्वन्द्व रुपान्तरण प्रक्रिया अन्तर्गत विद्यालय र किसानबीचको विवादलाई रुपान्तरण गर्न २०७३ कात्तिक ३ गतेदेखि शुरुवात गरेको थियो ।

रुपान्तरण प्रक्रिया अन्तर्गत द्वन्द्वरत् पक्षहरुबाट नै माकुरा समूह गठन गरेर समूहको अगुवाइमा विद्यालयको जमिन रहेको मेचीनगर–३, ७, ८, ९, १०, ११ र १३ नम्बर वडाहरु र बुद्धशान्ति गाउँपालिका–५ नम्बर वडामा रहेका किसानहरुसँग संवाद गरेर जमिनको अवस्थाको बारेमा पहिचान गरिएको थियो ।
प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालले १३ बुँदे सहमति गरी उक्त विवाद समाधान गरेको हो ।

धुलावारी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङको अध्यक्षता तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त सहमति गरिएको प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले जानकारी दिइन् ।

किसानले बिद्यालयलाई तिर्न बाँकी रहेको ठेक्काको ५० प्रतिशत चैत मसान्तभित्र तिर्ने, बिद्यालयको जमिनमा बसोबास गरेका किसानहरुले अर्को ब्यवस्था नभएसम्म नयाँ संरचना नबनाउने, किसानले उपभोग गरेको जमिनको क्षेत्रफल यकिन गर्न नगरपालिकाको प्राविधिक सहयोग लिने, बसोबास क्षेत्र बाहेकको जमिन बिद्यालयलाई फिर्ता गर्ने किसानको ठेक्का मिनाह गर्ने लगायतका १३ बुँदे सहमति भएको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले जानकारी दिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना उप्रेती, वडा अध्यक्ष गोपाल खड्का, वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी, प्रकाश भण्डारी, कृष्ण कनाल, संगीता थापा, सुनीता पनेरु लगायतले बिवाद समाधानका लागि भएको सहमतिमा सबै पक्ष इमान्दार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कञ्चन तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन धुलाबारीमा शिक्षक रमेश दाहालले गरेका थिए ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर