(अमित खम्बू)
अर्जुनधारा।
झापाको अर्जुनधारा नगरपालिका–९मा रहेको नमूना सामुदायिक वन अतिक्रमण हुँदा समेत सम्बन्धित निकाय वेखबर छ ।
जिल्ला वन कार्यालय झापालाई नमूना सामुदायिक वन अतिक्रमण भएको जानकारी भए पनि वन कार्यालयले त्यसलाई रोक्न प्रयास नगर्दा सो वन अतिक्रमणमा परेर लथालिङ्ग भएको हो । धर्मको नाममा सामुदायिक वन अतिक्रमण भइरहँदा वन कार्यालय मात्र नभई स्थानीय सरकार समेत बेखवर छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास भइरहेको नमूना वनमा किरात राई यायोक्खा नगर कार्यसमितिले शुरु गरेको ट्रष्ट निर्माण गर्ने कार्य भने रोकिएको छ । वन व्यवस्थापन तथा संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समूह र यायोक्खा बीच भएको सम्झौता अनुसार वन क्षेत्रमा यायोक्खालाई छुट्याइदिएको स्थानमा व्यवस्थापनको लागि गरिएको सो निर्माण कार्य रोकिएको हो ।
बुधबारे इलाका वन कार्यालय शनिश्चरेका सहायक वन अधिकृत इन्द्रकुमार मण्डलको नेतृत्वमा निर्माणस्थल पुगेको टोलीले सो कार्य नियम विपरीत भएको भन्दै रोक्न लगाएको निर्माण समितिका संयोजक एवम् कार्यसमितिका उपाध्यक्ष क्या. शिवकुमार राईले बताए ।
राईले भने– हामीले वन क्षेत्रभित्र रहेको रुख काटेको होइन, न वनको क्षेत्र अतिक्रमण नै गरेका हौं । ‘तर पूर्वाधार निर्माणमा वन कार्यालयको मनोमानीका कारण हामीले काम रोक्नुप¥यो – उपाध्यक्ष राईले भने । अन्य समुदायहरुको पनि धार्मिक तथा सांस्कृतिक पूर्वाधारहरु आधुनिक शैलीका बनेका छन्, केही बनिरहेका अवस्थामा छन्, नियम हामीलाई मात्र हो ?– उनले प्रतिप्रश्न गरे ।
किरात राई यायोक्खासहित पाँच समुदायहरुको धार्मिक तथा सांस्कृतिक पूर्वाधारहरु निर्माण भएको सो स्थानमा आफूहरुले पनि आवश्यक पूर्वाधारहरु बनाउन पाउनुपर्ने अन्यथा नियम अनुसार सबैको हटाउनुपर्ने माग किरात राई यायोक्खा नगर कार्यसमितिले राखेको छ । यस विषयमा बुधबारे इलाका वन कार्यालय शनिश्चरेका सहायक वन अधिकृत मण्डलले आफूले माथिको आदेश मात्र पालना गरेको बताएका छन् ।
वन अतिक्रमण गरेर बनाइएका भैतिक संरचनाहरु
वन क्षेत्रमा हिन्दू धर्मावलम्वीहरुको भूवनेश्वर शिवालय पाञ्चायन आनन्द धामको मुख्य मन्दिर रहेको छ । योसँगै सभाहल पनि वन क्षेत्रमै निर्माण गरिएको छ ।
त्यस्तै किरात याक्थुम चुम्लुङको माङ्हिमसहित १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक, सुनुवार सेवा समाजको साकेला थान, किरात राई यायोक्खाको साकेला थानसहित साकेला सिली प्रस्तुत गर्ने स्थान र चौधरी समुदायको काली मन्दिर निर्माण गरिएको छ । तर, जिल्ला वन कार्यालय झापा सो विषयमा केही बोल्दैन ।
वनमै साप्ताहिक हाट
विगतका वर्षदेखि सो सामुदायिक वन क्षेत्रमा विहीवार साप्ताहिक रुपमा हाट लाग्दै आएको छ । सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर अस्थायी टहरा समेत निर्माण हुँदा जिल्ला वन कार्यालयले साप्ताहिक हाट हटाउने विषयमा कुनै चासो दिएको छैन ।
बुधबारे इलाका वन कार्यालय शनिश्चरेका सहायक वन अधिकृत मण्डलले वन क्षेत्रभित्र लाग्दै आएको साप्ताहिक हाट अवैध भएको बताएका छन् । तर, हटाउने विषयमा उनी केही बोल्दैनन् । पहिले पशु हाटको रुपमा शुरु भएको सो हाट पछि कपडा, सब्जी तथा मासुजन्य सामग्री बिक्री वितरण गर्ने बजारमा रुपान्तरण भएको छ ।
सञ्चालनरत् हाट रोक्न तथा हाट लाग्ने बजार क्षेत्रमा निर्माण गरिएको टहराहरु हटाउन पटक–पटक सूचना जारी गर्दा पनि कसैले नटेरेको सहायक वन अधिकृत मण्डलको गुनासो छ । यता समूहले सञ्चालन शुरु गरेको सो हाट स्थानीयहरुका लागि तथा पर्यटन क्षेत्रमा आउनेहरुका लागि आवश्यक सामग्रीहरु खरिद गर्न सहज भए पनि त्यसलाई व्यवस्थित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
के भन्छन् डीएफओ ?
जिल्ला वन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीले सो सामुदायिक वन अतिक्रमणमा परेको स्वीकारेका छन् । उनले मौखिक उजुरीको आधारमा यायोक्खाले निर्माण गर्न लागेको भौतिक संरचना भने रोक्न आदेश दिएको बताए ।
त्यहाँ निर्माण गरिने सबै पूर्वाधारहरु वन ऐन अनुसार अवैध छन्– जिल्ला वन अधिकृत सुवेदीले भने– ‘निर्माण भइसकेको पूर्वाधारहरु हटाउन सरकार र सम्बन्धित निकायको कमजोरीको कारण सकिएको छैन ।
के भन्छन् स्थानीयवासी ?
भूवनेश्वर शिवालय पाञ्चायन आनन्द धाम व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् स्थानीय राजकुमार महतरा विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक पूर्वाधारहरु रहेको सो क्षेत्रलाई धार्मिक हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिन्छन् ।
धार्मिक हबको रुपमा सो वन क्षेत्रलाई विकास गर्न सके सँगै रहेको पर्यटकीयस्थल सुखानी शहीद स्मृति प्रतिष्ठानमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि थप आकर्षण हुने उनी बताउँछन् ।
त्यसैगरी स्थानीय बालज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पौड्याल सो क्षेत्रलाई धार्मिक वनसँगै पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि सबै एकजुट हुनुपर्ने सुझाउँछन् ।