Aamsanchar

उद्योगी र कर्मचारीलाई कर सम्बन्धी तालिम

Author Image
शुक्रवार, चैत १६, २०७४

भद्रपुर।

झापाका ५० लाख भन्दा बढी कारोबार गर्ने उद्योगी र उद्योगमा कार्यरत् लेखा फाँटका कर्मचारीलाई कर (लेखा) सम्बन्धी तीन दिवसीय तालिम झापाको भद्रपुरमा बुधबारदेखि शुरु भएको छ ।

जीआईजेड र जर्मन सहयोगमा आन्तरिक राजश्व विभाग, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ र झापा उद्योग संघको संयुक्त आयोजनामा भद्रपुरस्थित उद्योग संघको सभाहलमा तालिम शुरु भएको हो ।

उद्यागीहरुलाई करको प्रकृति, प्रकार र प्रणालीबारे पूर्ण जानकार बनाउने उद्देश्यले तीन दिने तालिमको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघका विष्णु अधिकारीले बताए ।

तालिममा इन्टरनेट, कम्प्युटर प्रयोग गर्न सक्नेखालका २३ जना व्यवसायी सहभागी रहेका छन् । सहभागीहरुलाई आय कर तथा मूल्य अभिबृद्धि करको समग्र पक्षको बारेमा प्रशिक्षित गराउनुका साथै घर बहाल करको विषयमा पनि जानकारी गराइने तालिमको सहजीकरण गरिरहेका चाटर्ड एकाउण्टेन्ट लक्ष्मीप्रसाद लुइँटेलले जानकारी दिए । उनले अबदेखि घर वहाल करमा दोहोरोपन नहुने जानारी दिए । अब स्थानीय तहले मात्र घर बहाल कर असुली गर्न पाउने उनको भनाइ छ । तालिममा रजिष्टर अडिटर सुदीप अधिकारीले पनि सहजीकरण गर्नेछन् ।

झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले तालिमको उद्घाटन गरेका थिए । उनले सहभागीहरुलाई पूरै समय तालिममा सहभागी भई त्यसबाट प्राप्त ज्ञान अन्य उद्योगीलाई पनि प्रवाहित गर्दै कर संकलनमा सहयोग पुर्याउन आग्रह गरे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत गरेका थिए ।

यसप्रकारको तालिम झापा, मोरङ, धनुषा, पर्सा, कञ्चनपुर, कास्की र सुर्खेतमा आयोजना गरिएको महासंघका सुदिप अधिकारीले जानकारी दिए । उनका अनुसार झापाको मेचीनगरमा मंगलबार साना व्यवसायीहरुलाई तालिम दिइएको थियो ।
कार्यक्रमको सञ्चालन झापा उद्योग संघका प्रेस सल्लाहकार गोपाल गिरीले गरेका थिए ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर