(शान्तिनगर)



झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा चट्याङ लागेर गाईको गोठमा आगलागी हुदाँ २ लाख बढिको नोक्सान भएको छ । शुक्रबार बिहान हावाहुरी र पानीसंगै परेको चट्याङले स्थानीय नवराज गड्तौलाको गाईको गोठ पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
चट्याङले गाई गोठमा रहेको पराल सल्किदाँ काठपात, गोठको टिन पूर्णरुपमा जलेको छ । बिहान ९ बजेबाट लागेको आगो करिब १ घण्टापछि स्थानीयबासी, प्रहरी र मेचीनगर नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो ।

चट्याङको झट्काले एक २७ बर्षिया ललिता शर्मा सामान्य घाईते भएकी छिन् । उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख पदम सुन्दर लिम्बुले जानकारी दिए । उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
चट्याङले गड्तौलाको घरको मिटरबक्स, एनसिबी लगायतका बिद्युतिय सामाग्रीमा समेत क्षति पूर्याएको छ । स्थानीयको बाक्लो उपस्थितीले घर आगलागीबाट बचेको स्थानीय राजु आचर्यले बताए । आगलागीबाट हुने ठुलो क्षतिबाट बच्न स्थानीयले बुद्धशान्ति गाउँपालिकाले बारुणयन्त्र खरिद गरि सेवा दिन माग गरेका छन् ।

