चारआली (झापा):
फावाखोला १ ताप्लेजुङका पूर्णबहादुर बिस्टलाई गुर्वे भनिने सर्पले असार १५ गते खुट्टामा डस्यो । तर उनी असार १८ गतेमात्र चारआलीस्थित नेपाली सेनाको ब्यारेकको हाताभित्र रहेको सर्पदंश उपचार केन्द्रमा आइपुगे ।
त्यतिन्जेल उनी गाउँकै झारफुके धामीझाँक्रीको भरमा परे । चारआली आइपुग्दा उनको खुट्टा अत्यधिक सुन्निएको थियो । बिस्टले भने, ‘दिनदिनै झन्झन् पोल्न र घोच्न थाल्यो । अब बाँच्दिनँजस्तो लाग्न थाल्यो । तर गाउँघरमा किन जानुपर्यो सर्पदंश उपचार केन्द्रमा ? हाम्रै गाउँमा झारफुक गर्ने मान्छे छन् भनेर त्यतै अलमल्याए ।’
इलाम शान्तिडाँडाकी कोपिला थापालाई पनि केही दिनअघि घाँस काट्दा गुर्वे जातकै सर्पले हातको औंलामा डस्यो । उनी पनि धामीको भर परिन् । तर त्यसले उपचार सम्भव नभएपछि चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा आइपुगिन् । उनले भनिन्, ‘दुई दिनसम्म गाउँमै विष झार्न लगाएँ धामीलाई । सबैले कराए अनि यहाँ आएँ ।’
गाउँघरतिर सर्पले डसेका बिरामी अझै पनि धामीझाँक्रीको भरमा परेर अन्तिम स्थितिमा मात्र सर्पदंश उपचारकेन्द्रमा आइपुग्ने गरेका छन् । खासगरी पहाडी इलाकामा त्यति विषालु सर्प नपाइए पनि सर्पले डसेपछि डसेको भागमा रबर तथा डोरीले रक्त सञ्चालन नै नहुने किसिमले धेरै दिनसम्म बाँधिराख्ने र लामो समयसम्म उपचार नगरी बस्ने गरेका कारण कतिपयको अंगभंग नै हुने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार रक्तनलीलाई धेर बाधा नपुर्याई सामान्य पट्टी बाँधेर त्यस्ता बिरामीलाई चाँडो उपचार केन्द्रमा पुर्याउनुपर्छ ।
पहाडी क्षेत्रमा विषालु सर्पको बिगबिगी उति पाइँदैन । जस्तोसुकै सर्पले डसे पनि टोकेको भागभन्दा केही माथि बेस्कन डोरी तथा रबरले बाँध्ने गरेका कारण कतिपयको बाँधेको भाग नै काम नलाग्ने गरेको सर्पदंशका बिरामीको उपचारमा संलग्नहरू बताउँछन् ।