Aamsanchar

झापामा क्यान्सर, मुटु र मृर्गौला रोगी बढ्दै

Author Image
बिहिवार, असार ३०, २०७३

नरेन्द्र ढकाल
(झापा)

Jhapa-Map-final

नेपालमा सरुवा रोगको प्रकोप कम हुँदै गए पनि क्यान्सर, मुटुरोग, मधुमेह, मृगौला, मानसिक रोगजस्ता नसर्ने रोगको भने प्रकोप बढ्दै गएको चिकित्सकले बताएका छन् ।

अस्वस्थकर खानपिन, रहनसहन र वातावरणीय प्रभावका कारण यस्ता रोग बढ्दै गएको चिकित्सकहरुको भनाई छ । झापामा समेत यस्तो रोगहरु वर्षेनी बढ्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७२/७३ को साउन १ गतेबाट असार ९ गतेसम्मा २३८ जना क्यान्सर रोगी फेला परेका छन् ।

जसमा १२६ जना महिला र ११२ जना पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका खरिदार सुरज पोख्रेलले जानकारी दिए । गत आर्थिक वर्षमा क्यान्सरका २२७ जना रोगी फेला परेका थिए । त्यस्तै नसर्ने रोगको रुपमा नै रहेको मुटु रोगको अवस्था पनि उस्तै रहेको पाइएको छ । असार ९ गतेसम्मको अवधिमा १३१ जना मुटु रोगी फेला परेको बताइएको छ । जसमा ६० महिला र ७१ पुरुष रहेका छन् । गत वर्ष भने १२२ जना मुटु रोगमा विरामी झापामा फेला परेका थिए ।

क्यान्सर, मुटु पछि उस्तै भयावह भन्दै गएको मृगौला रोगबाट पनि धेरै झापाली पिडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखाइएको छ । चालु आर्थिक वर्षको असार ९ गतेसम्मा ६९ जना मृगौला रोगी फेला परेका छन् । जस मध्ये २० जना महिला र ४९ जना पुरुष रहेका छन् । गत आर्थिक वर्षमा यो रोगबाट ६६ जना पिडित बनेको खरिदार पोख्रेलले जानकारी दिए । खाना, पोषण र शारीरिक क्रियाकलापको कमीका कारण यस्ता रोगको खतरा बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।

नसर्ने रोगबाट विशेष गरी ४०–५० वर्ष उमेर समुहका मानिस बढी पिडित रहेका छन् । जिल्ला जनस्वास्थ्यको तथ्याङ्क हेर्दा ५ वर्षदेखि ७४ वर्ष सम्मका ब्यक्ति सिफारिस लिन आएको देखिएको छ । नसर्ने रोगको उपचारका लागी सरकारले एक लाख रुपैंयासम्म उपचार खर्च ब्यर्होन थालेपछि सिफरिस लिन आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको भनाई छ । क्यान्सर रोग रोकथामका लागि खाना र व्यायामको महत्वबारेमा जनचेतना जगाउन आवश्यक भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका सुचना अधिकारी बेदप्रसाद घियिमरेले बताए ।

सुर्तीजन्य पदार्थको सेवन, अनियन्त्रित मद्यपान, धेरै नुन र बोसोयुक्त खाना, बासी ढुसी परेको र अखाद्य रङ मिसाएको खाना, कीटनाशक तथा माछामासु आदिको सेवनबाट क्यान्सर रोगका बिरामी बढ्दै गएको क्यान्सर अस्पताल भरतपुरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताए ।

हरियो ताजा सागपात र फलफूल नियमित प्रयोगले अन्य रोगका साथै क्यान्सरबाट सुरक्षित राख्ने भए पनि यसको प्रयोग कमै मानिसले मात्र गर्ने भएकाले नसर्ने रोगको प्रकोपलाई बढाएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । क्यान्सर रोग थुप्रै किसिम र प्रकृतिको भए पनि धेरै रोग असन्तुलित खाना, नियमित परिश्रमको कमी, प्रदूषणयुक्त वातावरणको असर तथा मानिसको जीवनशैलीका कारण हुने गरेको चिकित्सकहरुको भनाई छ ।

जनचेतनाको कमीका कारण धेरैजसो बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल आउने कारण उनीहरुलाई बचाउन नसकिने क्यान्सर रोग विशेषज्ञहरुले बताएका छन् । नेपालमा हालसम्म पनि कति क्यान्सरका रोगी छन् र बर्सेनि कतिको मृत्यु हुन्छ भन्ने आधिकारिक तथ्यांक नभएपनि विश्व स्वास्थ्य संगठनको तथ्यांक मान्ने हो भने वार्षिक ३० देखि ३५ हजार नयाँ बिरामी देखा पर्छन् । क्यान्सरका साथै मृगौला, मुटु लगायतका अन्य नसर्ने रोगको पनि अवस्था उस्तै रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङक हेर्ने हो भने यसले भोलीका दिनमा भयावह अवस्था सिर्जना हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर