Aamsanchar

झापा सहित देशभरका नदीहरुमा बाढी आउने संकेत, सर्तक रहन आग्रह

Author Image
आइतवार, असार १७, २०७५

झापा।

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्रायस् नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान गरेको छ । मनसुन सक्रिय भएकाले यी स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

झापाका मेची, कनकाई, कमलालगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान छ ।

बाढी सतर्कता केन्द्रले यी क्षेत्रका स्थानीयलाई सजग रहन आग्रह गरेको छ । केन्द्रले सूचनामा लेखेको छ, ‘नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु आइतबारदेखि सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन अनुरोध छ ।’

त्यस्तै, तराई र चुरे क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बस्नेहरुले सोमबारसम्म सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ । कनकाई, कोसी, कमल, बक्राह, रतुवा, मेची नदीहरुमा बहाब बढ्दो क्रममा छ । तर यी नदीहरुमा शनिबार नै खतराको तह पार गर्ने सम्भावना भने कम रहेको सूचनामा उल्लेख छ ।

प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो । आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । ‘देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यम र एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ’, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएको छ, ‘मध्य र आसपासका केही स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

त्यसैले, जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले पनि शनिबार बिहान ६ बजे अर्को सूचना जारी गरेर सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन भनेको छ ।

आधा दर्जन स्थानीय तह जोखिममा

झापाका आधा दर्जन स्थानीय तह बाढीको जोखिममा रहेका छन् । कनकाई, कमल, रतुवा, मेची, मावा नदीको आसपासमा रहेका स्थानीय तह प्रत्येक वर्ष बाढीको उच्च जोखिममा हुन गर्छन् । स्थानीय तहको निर्वाचन भएर यो वर्ष जनप्रतिनिधिले रोकथामका केही उपाय अपनाएको जनाए पनि पर्याप्त नरहेको बाढी प्रभावितको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुुसार कमल, गौरीगञ्ज, झापा, कचनकवल र बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिका बाढीका कारण जोखिममा पर्दै आएका छन् । प्राकृतिक र मानवजन्य प्रक्रियाबाट झापामा बर्सेनि बाढीको ठुलो विपदको जोखिम भएको उनको भनाइ छ ।

विपदको जोखिम झापामा बढ्दै गएको भन्दै उनले वर्षापछि आउने जोखिमका कारण बर्सेनि अकालमा नै मानिसको मृत्यु हुने घटना बढेको बताए । उनले पछिल्ला तीन वर्षमा बाढी पहिरोबाट २० जनाको मृत्यु भएको ७ जना अझै हराएको जानकारी दिए ।
बाढीबाट २०६७ सालमा ३ जनाको मृत्यु, २ जना बेपत्ता, २०७३ सालमा १ को मृत्यु, ३ जना बेपत्ता र ०७४ मा भने १६ जनाको मृत्यु, २ जना बेपत्ता भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, पछिल्लो वर्षको बाढीले जिल्लाका ८११ घरपरिवार पूर्णरुपमा विस्थापित भएको उल्लेख छ । उनले वर्षामा बाढीका रुपमा आउने जिल्लाका कनकाई, बिरिङ, रतुवा, मावा, मेचीलगायतका नदीखोलाबाट बर्सेनि ठुलो जनधनको क्षति हँुदै आएको बताए ।

स्थानीय जनप्रतिनिधिहरुले बाढीको जोखिममा रहेका टोल, समुदायलाई उचित व्यवस्थापन गर्न सबै जुट्नु पर्नेमा जोड दिएका छन् ।

सुरु भयो क्षति

एक साताअघि भएको वर्षका कारण कमल गाउँँपालिका ६ र ७ का दुई स्थानमा खोलाले कटान गर्दा बाटो र कल्भर्ट भत्काएको थियो । त्यस्तै, गोलधाप १ का निर्माणाधीन पक्की पुल पनि क्षतिग्रस्त भएको थियो । अव्यवस्थित सहरीकरण भइरहेको बिर्तामोडका केही भाग डुबानमा परेको थियो ।

कमल-६ स्थित गुहाबारी जाने मार्ग खोलाले कटान गर्दा त्यस क्षेत्रका बासिन्दाहरुलाई आवगमनमा असुविधा पुगेको छ । वडा कार्यालयदेखि पश्चिम जाने बाटो खोलाले कटान गरेपछि वाणी मावि जाने विद्यार्थी बढी प्रभावित भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले बताएका छन् । कमल-७ को रंगपुरदेखि बाह्रघरे जाने सडकको एक कल्भर्ट खोलाले बगाएपछि त्यस क्षेत्रको आउजाउमा समस्या भएको छ । वडाध्यक्ष पृथीपति राईले कल्भर्ट भत्किएपछि त्यहाँको आवगमनमा असुविधा पुगेको विवेचना डटकमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर