Aamsanchar

वर्षाका कारण झापाको जनजीजन कष्टकर

Author Image
सोमवार, साउन १०, २०७३

दमक । 

download (1)

चार दिनदेखि अविरल परेको वर्षाका कारण विभिन्न खोलाहरूमा आएको बाढीका कारण आइतबार झापामा एकको मृत्यु दुई जना बेपत्ता, पाँच जनाको बगाउने अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।  छ सय ८० भन्दा बढी घर परिवार विस्थापित भएपछि सुरक्षित स्थलमा बसोबासको ब्यवस्था मिलाइएको बताइएको छ ।
देउनिया खोलामा आएको बाढीले गरामनी ३ मा सुकुम्बासी टोल डुबानमा परेको छ ।  पाँच घण्टा रूखमा चढेर ज्यान बचाएको स्थानीय ५५ वर्षीय समरबहादुर परियारलाई प्रहरीले उद्धार गरेको जनाइएको छ ।  यसैगरी पृथ्वीनगर ५ स्थित गौरीगाउँमा देउनिया खोलाको पानी बस्तीमा पस्दा ज्यान जोगाउन रूखमा बसेका दुई बालिका सोनिया लिम्बु र सुष्मा राईलाई नेपाली सेनाले उद्धार गरेको छ ।
खोलाहरूमा आएको बाढीले सयाँै घरहरू विस्थापित बनाएपछि र बाढीबाट खतरा बढेपछि बिहानैदेखि उद्धारका लागि नेपाली सेना पनि खटिएको छ ।  गोलधाप गाविस वडा ९ बस्ने ६४ वर्षीय कालीबहादुर लिम्बुको घर नजिकै खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले बताउनुभयो ।  यसैगरी गौरादह ८ र लखनपुर ५ स्थित गेउरिया खोलाको कज्वे पुल तर्ने क्रममा बगाउँदा गौरादह ५ बस्ने ३६ वर्षीय टेकेन्द्र खड्का बेपत्ता हुनुभएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बुका अनुसार बिहान ९ बजे खोलाले बगाएको सूचना आएपछि सशस्त्र प्रहरीसहितको टोलीले खोजी कार्य तीब्र बनाएको छ ।  झापाको भद्रपु्रमा मेची खोलाको डुबानका कारण १ सय घरपरिवारका २ सयभन्दा बढी विस्थापित भएको जनाइएको छ ।  नेपाली सेनाको टोलीले उनीहरूलाई डुङ्गाको सहायताले उद्धार गरेर सुरक्षित स्थलमा ल्याएको जनाइएको छ ।  विस्थापितहरूलाई भद्रपुर उच्च माविमा राखिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक राजनकुमार न्यौपानेले बताउनुभएको छ ।   झापाको मुख्य बजार बीचबाट बग्ने अन्दुवा खोलामा आएको बाढीका कारण बिर्तामोड बजारका सयौँ घरहरू डुबानमा पर्दा करोडौँको क्षति पुगेको जनाइएको छ ।  क्षतिको विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
राजगढमा ५०, कुमरखोदमा ४२, चकिचकीमा २५, महाभारामा २२, जलथलमा १७, घेराबारीमा १७ घर परिवार विस्थापित भएको रेडक्रस झापा कार्यक्रम कोअर्डिनेटर अमर भण्डारीले जनाउनुभयो ।  उहाँका अनुसार माहाभारा ४ को बालुवाडीमा २२ घरमा पानी पसेको र विस्थापित सुरक्षित स्थानतर्फ सारिएको, चकचकी गाविस वडा नं ८ खाडी बस्तीमा घाग्रा खोलाको पानी पसी २५ घर विस्थापित भई नजिकको चियाबगानमा सरी बस्दै आएका छन् ।

कुमारखोद गाविस वडा नं ४ मिलन बस्तीमा ४२ घर  कन्काई नदीको पानी पसेको र बाढीको बढी जोखिम रहेकोले सम्पूर्णलाई सुरक्षित स्थानमा निर्माणाधीन एसटी जेभियर्स विद्यालय सारिएको रेडक्रसको भनाइ छ ।  राजगढ ५ सुकुम्बासी बस्तीमा ५० घर पूर्ण विस्थापित भई मन्दिरमा बसेको पनि बताइएको छ ।
यसैगरी झापाको धरमपुरमा पाराबारीमा ३ सयमिटरभन्दा बढी सडक भत्काएपछि स्थानीयहरू आवतजावत समेत गर्न सकेका छैनन् ।  गौरादह बजारबाट महारानीझोडा जोड्ने कजवे पुलमा आवतजावत समस्या भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)