Aamsanchar

नवविवाहित जोडीसँगै बस्ने पर्व सुरु

Author Image
सोमवार, साउन १०, २०७३

जनकपुरधाम:

5795a63bb2a3f4.82200571

मिथिलामा नवविवाहिताको लागि धार्मिक अनुष्ठानको रूपमा लिइने मधु श्रावणी पर्व सुरु भएको छ । श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि शुक्ल तृतीयासम्म मनाइने यो पर्वको पहिलो दिन आइतबार विवाहित महिलाले पूजापाठ गरी यस अनुष्ठानको प्रारम्भ गरेका छन् ।

 

यसैवर्ष विवाह भएका दुलहीलाई माइतमा ससुरालीबाट पर्व अवधिभरिका लागि भार (कोसेली) आउने गर्दछ । सो भारमा बेहुलीको लागि लुगा, चुरा, गरगहना र खाद्यसामग्री हुने गर्दछ ।

बेहुलीले ससुरालीबाट आएको लुगा लगाएर १५ दिनसम्म पूजा गर्ने परम्परा छ । यस पर्वको अवधिभर नवविवाहिताले बिहान नुहाइधुवाइ गरी मैना नामको रूखको पातमा नाग, नागिनको चित्र कोरी सोको विशेष विधिले पूजा गरेपछि चोखो खाने गर्दछन् । त्यसैगरी प्रतिदिन साँझको बेला शृंगार गरेर साथीसहेँलीसँग बगैंचा र मन्दिरमा गएर फूललोरी (फूल टिप्ने) गर्छन् । साँझ टिपेको फूलबाट अर्को बिहानी नागनागिनको पूजा गर्ने गरिन्छ ।

बासी फूलले पूजा गर्नुको पनि आफ्नै महत्त्व छ । यो पर्वको अन्तिम दिन नवविवाहितालाई घुँडा र खुट्टामा दियोको बत्तीले डाम्ने प्रचलन छ । तर, हाल आएर सहरबजारमा यो प्रथालाई विस्थापित गर्दै लगिएको छ । गाउँमा अहिले पनि टेमी दिने अर्थात् डाम्ने प्रथा यथावत् नै रहेको छ ।

साउन महिना विशेषगरी प्राकृतिक रूपले जलचरको प्रकोप बढी हुने महिनाको रूपमा रहेको हुनाले मिथिलानीहरू आफ्नो श्रीमान्को दीर्घायुको कामना र जलचरलाई प्रसन्न पारेर सम्भावित विपदा टार्ने अभिप्रायले यो पर्व गर्ने गरेको शिक्षक मनोज झा बताउँछन् । मधु श्रावणीमा १५ दिनसम्म नवविवाहित जोडीसँगै बस्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर