Aamsanchar

व्यवसायीका कारण पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको श्रमिकको आरोप

Author Image
शनिवार, असार ३०, २०७५

पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी

काठमाडौं ।

पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा संचालित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिक नेताहरुले व्यवसायीका कारण पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको आरोप लगाए ।

नेपाल पर्यटन बोर्डको प्रायोजन र पर्यटन क्षेत्रका तीन मजदुर संगठन यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको संयुक्त आयोजनामा भएको तालिमको समापन गर्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले अब चप्पल लगाएर काम गर्ने मजदुरको माग खान देउ भन्ने मात्र होईन नीति निर्माण गर्ने तहमै सहभागीता हुनुपर्ने बताए । कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले जिम्मेवार भएर श्रमिकले कार्य गर्नुपर्ने बताउँदै आफ्ना अधिकारका विषयमा नडराई माग उठाउन श्रमिकहरलाई आग्रह गरे ।

कार्यक्रममा आयोजकमध्येको एक यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्र नियमसंगत ढंगले चल्नुपर्ने भन्दै गलत काम गर्ने व्यवसायी र सरकारी निकायका पदाधिकारीलाई पर्यटन श्रमिकले साथ नदिने बताए । उनले ट्रेकिङ क्षेत्रका समस्या बेलैमा समाधान नगर्ने हो भने यो क्षेत्र नै धरापमा पर्ने भन्दै पर्यटन मजदुरका समस्या बेलैमा समाधान भएन भने श्रमिकले यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिए ।

त्यस्तै व्यवसायीका कारण अहिले पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको भन्दै बेलैमा सचेत हुन उनले व्यवसायीको ध्यानाकर्षण गराए । उनले टिम्सको रकम श्रमिकको पक्षमा नहुने हो भने यसलाई बन्द गर्नुपर्ने वा श्रमिकको सामाजिक सुरक्षा कोषमा हाल्नुपर्ने बताए । कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डे (कपिल)ले नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक प्रचार किन भयो भन्नेबारे सबै व्यवसायी र सरकारले विचार पुर्याउनुपर्ने भन्दै बेलैमा नेपालको पर्यटन सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाले पर्यटन क्षेत्रका सबै श्रमिकहरु एक भएर गलत कामको भण्डाफोर गर्नुपर्ने बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी दिपक महत मजदुरको समस्या समाधान गर्न व्यवसायी र राज्य लाग्नुपर्ने र टिम्सको रकम श्रमिकको हितमा लागाईनुपर्ने बताए । त्यस्तै पर्यटन व्यवसायी ज्योति अधिकारीले पर्यटन क्षेत्रमा इमान्दारिता देखाउनुपर्ने भन्दै पर्यटन श्रमिकको बीमाको कुरा व्यवसायी स्वयंले नै बहोर्नुपर्ने र टिम्सको रकममा र्याल चुहाएर सरकारको भर पर्न नहुने बताए । राज्यको रकम आपत विपदका बेला प्रयोग गर्नुपर्ने उनको सुझाव थियो ।

त्यस्तै टानका अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा एकताको खाँचो रहेको भन्दै फेक हेलिकप्टर रेस्यु गर्ने सिमित व्यवसायीका कारण पुरै पर्यटन क्षेत्रलाई बद्नामी गर्न नहुने बताए । त्यस्तै एनएमएका महासचिव कुलबहादुर गुरुङले टिम्सको रकम सिधै मजदुरको कल्याणकारी कोषमा जानुपर्ने भन्दै जिम्मेवार पर्यटन गर्न लाग्नुपर्ने बताए । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले पर्यटन श्रमिकलाई फेक रेस्क्यूको नाममा अवैध सुन बोक्ने गोरेजस्तै बनाउन नहुने बताए ।

६ दिनको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा १५० जना पर्यटन श्रमिकहरु सहभागी भएका थिए । आयोजकले सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर