Aamsanchar

साउन १ गतेदेखि तीव्र गतिमा सवारी कुदाए दोब्बर जरिवाना

Author Image
आइतवार, असार ३१, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड।

झापा सहित प्रदेश नम्बर–१ मा आगामी मंगलबार (साउन १ गते)बाट सवारी साधान तीब्र गतिमा कुदाए दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले तीब्र गतिमा सवारी चलाएवापतको जरिवाना रकम दोब्बर बनाउने भएको हो ।

यसअघि तीब्र गतिमा सवारी चलाउँदा ५ सय रुपैयाँ जरिवाना लिइँदै आएको थियो । साउन १ गतेदेखि एक हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

यातायात व्यवस्था विभागबाट प्रत्यायोजित अधिकार प्रयोग गरेर जरिवाना बढाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तीब्र गतिमा सवारी चलाएवापत ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म जरिवाना लिन सकिने व्यवस्थासहितको जानकारी ट्राफिक प्रहरीले सबै सवारी चालकहरुलाई गराईसकेको बताइएको छ ।

ट्राफिक नियम आफ्नै लागि हो भन्ने कुरा सर्वसाधारणले पहिले बुझ्नु पर्ने ट्राफिक प्रहरीको भनाई छ । ट्राफिकले सवारी चालकसँग आवश्यक कागजपत्र नभए, निषेधित क्षेत्रमा हर्न बजाए र लेन अनुशासन पालना नगरे ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ । मादक पदार्थ सेवन गरी चलाउनेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म लिँदै आएको छ ।

मापसेमा पटकको आधारमा जरिवाना लिने तथा तत्काल नै प्वाल पार्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख राजेश राईले बताए । झापाका दुर्घटना सम्भावित क्षेत्रको पहिचान गरेर उक्त स्थानमा राडर गनको प्रयोग गरेर तिब्र गतिमा सवारी सञ्चालन गर्ने सवारी चालकलाई पहिलो पटक सचेत गराउने काम गरिएको तथा अटेर गर्नेलाई कारबार्ही समेत गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्नका लागि स्थानिय तह र सरोकारवालाहरुसंग समन्वय गरी सडक अतिक्रमण हटाउने, पार्किङ्ग व्यवस्थित गर्ने, फुटपाथ हटाउने, ट्राफिक संकेत राख्ने, छाडा चौपाया नियन्त्रण गर्ने, बस स्टप व्यवस्थित गर्ने, पैदल यात्रीलाई बाटो काट्न जेब्राक्रस निर्माण गर्ने लगायत व्यापक सचेतना मुलक कार्यक्रमहरु संचालन गरी सडक सुशासन कायम गराउनका लागि १ नं. प्रदेशका ६ जिल्लाका विभिन्न स्थान छनौट गरी १० कि.मि. क्षेत्र भित्रको राजमार्गमा परीक्षणको रुपमा अभियान संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कति गतिमा कुदाउने सवारी ?

तिब्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवस्था ऐन–२०४९ र नियमावली २०५४ मा तोकिए अनुसारको गति भन्दा बढी गतिमा संचालन भएका सवारी साधनहरुलाई राडर गनको सहायतामा व्यापक चेकजाँच गरी तिब्र गतिनियन्त्रण गर्ने कार्यमा सक्रियता बढाइएको छ ।

यातायात व्यवस्था ऐन २०४९ को दफा –६ को उप–दफा–४ को प्रयोजनको लागी यातायात व्यवस्था नियमावली २०५४, परिच्छेद–३, नियम– १८, उप–नियम–५ मा निम्न ब्यस्था गरिएको छ । कार, जिप, भ्यान र पिकअप बढीमा ८० कि.मि. प्रति घण्टा , टेम्पो, स्कुटर, पावल टिलर तथा ट्याक्टर बढीमा ४० कि.मि. प्रति घण्टा, मोटरसाईकल बढीमा ५० कि.मि. प्रति घण्टा, बस, मिनिबस, ट्रक, मिनिट्रक, पहाडी बाटोमा बढीमा ५० कि.मि. प्रति घण्टा र समतल बाटोमा बढीमा ७० कि.मि. प्रतिघण्टा, तर बक्लो बस्ति भएको इलाकामा प्रति घण्टा ४० कि.मि. भन्दा बढी गतिमा कुनै पनि सवारी चलाउन नपाउने स्पष्ट उल्लेख गरिएको छ ।

चेक प्वाईन्ट संचालन :

सवारी आवागमनलाई व्यवस्थित ढंगबाट सुचारु रुपमा संचालन गरी सडक सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन तथा ट्राफिक नियम सम्बन्धी चेतना आमसडक प्रयोगकर्तामा प्रवाह गरी सवारी दुर्घटना न्यूनीकरण एवं धनजनको क्षतीमा कमी ल्याउन इलामको रोङ्ग गाउँपालिका–४ जोरकलस किटेनी, झापा दमक नगरपालिका– ४ ताराबारी, धनकुटाको धनकुटा नगरपालिका– ९ मुलघाट, सुनसरीको इनरुवा नगरपालिका– ३ सखुवागाछी, कोशी गाँउपालिका– ७ कटान, दुहवी नगरपालिका– ५ दुहवीमा चेक प्वाईन्ट संचालन गरी सवारी आवागमनको प्रभावकारी व्यवस्थापनका साथै यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभुति दिलाईएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

झापामा यस्तो ट्राफिकको राडर गन प्रयोग :

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले राजमार्ग तथा अन्य सहायक राजमार्गमा तिब्र गतिमा सवारी सञ्चालन गर्ने सवारीको गति नियन्त्रण गर्ने अभियानमा खटिएको थियो ।

तिब्र गतिमा सञ्चालन गर्नेहरुलाई पहिलो पटक सचेत गराइएको र पुनः गल्ती दोहो¥याएमा दोब्बर जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सुचना अधिकारी याम खड्काले जानकारी दिए ।

झापामा ट्रिपर, मोटरसाइकल र राजधानीसम्म सञ्चालन गर्ने सवारी तिब्र गतिमा सञ्चालन हुने गरेको पाइएको छ । हाल तीन वटा राडर गनको प्रयोग गरेर कारबार्ही अभियान तिब्र बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सुचना अधिकारी खड्काले बताए ।

पाँच हजार सम्म जरिवना :

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लघन गर्ने सवारीलाई ५ हजार सम्म जरिवाना गर्ने अधिकार दिइएको छ ।

दर्ता नगरी सवारी सञ्चालन गरे, अनुमति नलिई विदेशी सवारी चलाए, सवारीको रङरोगन विना स्वीकृति हेरफेर गरे, रुट परमिट नलिई सवारी सञ्चालन गरे वा सवारी सञ्चालन आवागमनमा अवरोध गरे एक हजार देखि पाँच हजार रुपैंयासम्म जरिवाना गर्न सक्ने ब्यस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर