Aamsanchar

छब्बीस द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

Author Image
आइतवार, साउन ६, २०७५

तेह्रथुम,

१० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् ।

द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई परिवारलाई रु १४ लाख वितरण गरिएको छ ।

यस्तै मृतकका परिवार छ जनालाई रु २३ लाख र विस्थापित हुने २० परिवारलाई रु १५ लाख पाँच हजार ७०० वितरण गरिएको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसी रिमालले बताउनुभयोे । विगतमा राहत रकम प्राप्त गर्न छुटेका र अपुग रकम मात्रै लिएकाको आवेदन लिएर राहत वितरण गरिएको हो ।

जिल्लाका द्वन्द्वपीडितका लागि रु ६४ लाख बजेट उपलब्ध भएकोमा यो वर्ष पनि तेह्रथुमका द्वन्द्वपीडितका लागि आएको रु ११ लाख ९५ हजार खर्च नभई फिर्ता गएको छ ।

Views: 153

प्रतिक्रिया (०)