Aamsanchar

यौन अड्डा बने होटल, एक हजारदेखि ३० हजारसम्मको मोलमोलाइ ! प्रहरीकै सौदाबाजी

Author Image
बुधवार, भदौ १३, २०७५

काठमाडौं,

साँझपखको समय। मानिसको भिडभाड। चिटिक्क शरीर भएका तीन जना युवती यताउता हेर्दै घुमिरहेका छन्। ती युवतीहरूमाथि केही अधवैंशे युवकको अविचलित दृष्टिपात परिरहेको छ। अधवैंसे युवक र युवतीहरूबीच खासखुस कुराकानी हुन्छ। केही समयपछि युवतीहरू अन्तै मोडिन्छन्।

काठमाडौंको बालाजुस्थित नयाँ बसपार्कको आकाशे पुलमुनिको दृष्य हो, यो। साँझपख बसपार्कमा अक्सर यस्तै दृष्य भेटिन्छ। अर्थात् ‘नगरनायिका’को शरीरको ‘मोलमोलाइ’। ‘ग्राहक’को खोजीमा हिँड्ने नगरनायिका अर्थात् नगरवधु, यौनतृष्णा मेटाउन उपयुक्त नगरवधुको खोजीमा भौंतारिने युवकहरूको धन्दाले साँझपख समयमा बसपार्क आसपासको क्षेत्र थप व्यस्त बनाउँछ।

गरिबी र बेरोजगारीले निम्त्याएको बाध्यता

रामेछापकी गौरी (नाम परिवर्तन) दुई वर्षअघि गाउँकै एक दिदीसँग कामको खोजीमा काठमाडौं आइन्। उनले केही समय गौशालाको एक होटलमा काम गरिन्। होटलमा काम गर्दागर्दै एक जना ‘दिदी’सँग गौरीको चिनजान भयो। होटलको कामभन्दा सजिलो हुने र कमाइ पनि राम्रो हुने आश्वासनमा ती दिदीले गौरीलाई लोभ्याइन्।

त्यसको केही समयपछि गौरी कालीमाटीको एक पसलमा पुगिन्। यहींबाट सुरु भयो उनको ‘यौन धन्दा’। ‘लहैलहैमा लागेर यस्तो पेसामा फसें,’ गौरीले भनिन्।
गरिबी र बेरोजगारीको दुष्चक्रले घेर्दा आफू शरीर बेच्ने बाध्यतामा पुगेको बताउँछिन्, गौरी।

बच्चा पाल्नकै लागि यौन पेसा

रत्नपार्कको पुरानो बसपार्कमा अर्की ‘नगरवधु’ भेटिइन्, सन्तु (नाम परिवर्तन)। यौन पेसामा आउनुको उनको व्यथा कारुणिक छ। छोरा पाल्न यस पेसामा लागेको उनको भनाई छ। उनका छोरा ९ वर्षका छन्।

‘श्रीमानले अर्की श्रीमती लिएर भारत पसे,’ उनले भनिन्, ‘बेसहारा मलाई यौन पेसा अपनाउनुको विकल्प रहेन।’ निरक्षर भएकाले पनि कसैले काम नदिने उनले बताइन्।
उनी आफैंलाई यौन पेसा कहिले छोडौं जस्तै भएको छ। ‘राम्रो काम पाए यो पेसा छाड्ने थिएँ,’ उनले भनिन्।

नसाकै लागि शरीर साट्ने

रौतहटकी गीता (नाम परिवर्तन) नर्स बन्ने सपना देख्थिन्। त्यही सपना बोकेर उनी काठमाडौं आइन्। तर, काठमाडौं आएपछि उनी खराब साथीका संगतमा फसिन्। साथीकै संगतले उनलाई रक्सी र लागुऔषधको कुलतमा फसायो। चाहिएको बेला खानै पर्ने । तर साथमा जहिल्यै पैसा नहुने समस्या झेलिन् उनले। अन्ततः उनी यौनकर्मी बन्न पुगिन्। नसा सेवनकै लागि आफ्नो शरीर बेच्छिन् उनले। यौनकर्मबाट आर्जेको पैसा नसामै खर्चिन्छिन्।

ग्राहक खोज्न ‘दलाल’

भद्रकाली पुल छेउमा एक जना महिला फलफूल बेच्छिन्। संगीता (नाम परिवर्तन) भनिने उनी यो सँगै अर्को काम पनि गर्छिन्, ‘यौनकर्मीलाई ग्राहक खोज्ने’। उनीसँग १५ देखि ४५ वर्षसम्मका यौनकर्मी महिला सम्पर्कमा छन्। संगीता यौनकर्मी महिलालाई ‘कमिसन’ मा ग्राहक खोज्छिन् ।

उपत्यकामा ४० हजार यौनकर्मी

विभिन्न संघसंस्थाहरूले गरेको अध्ययनले उपत्यकामा करीव ४० हजार यौनकर्मी महिला छन्। समूह नेपालले गरेको एक अध्ययन अनुसार अधिकांश यौनकर्मी १८ देखि २० वर्ष उमेर समूहका छन्। उक्त अध्ययन अनुसार ४० प्रतिशत यौनकर्मी १८ देखि २० वर्ष उमेर समूहका र ३३ प्रतिशत यौनकर्मी १८ वर्ष मुनिका छन्।

त्यस्तै, ३१ प्रतिशत निरक्षर छन् । कूल यौनकर्मीमध्ये ५१ प्रतिशत मात्र साक्षर छन् भने करिब २० प्रतिशतले बीचैमा पढाई छाडेर यौनधन्दाको काम अंगालेका छन्।

काठमाडौंका ठमेल, बालाजु, माछापोखरी, गोंगबु, कंलकी, रत्नपार्क र कोटेश्वर क्षेत्रमा यौनकर्मी पाइन्छन्। क्याबिन रेस्टुरेन्ट, डान्सबार, दोहोरी साँझलगायतमा काम गर्नेहरू यस्तो पेसामा संलग्न छन् ।

यौन अड्डा बने होटल, एक हजारदेखि ३० हजारसम्मको मोलमोलाइ

अधिकांश यौनधन्दा होटलमा नै हुने गरेका छन्। यसका लागि उनीहरूले होटलसँग विशेष सम्बन्ध बनाएका हुन्छन् र ग्राहक पाएपछि त्यतै लैजाने गरेको एक यौनकर्मीले बताइन्। प्रतिग्राहक १ हजारदेखि ३० हजार रुपैयाँसम्म लिने गरेको बताउँछन्, यौनकर्मी महिलाहरू। यौनकर्मीबीचमा पनि आफ्नै ‘तह’ र ‘क्षेत्र’ हुन्छन्।

प्रहरीकै सौदाबाजी

सबैभन्दा ठूलो डर प्रहरीसँग लाग्ने यौनकर्मी महिलाहरू बताउँछन्। कतिपय अवस्थामा प्रहरीले नै सौदाबाजी गर्ने उनीहरूको भनाइ छ। ‘केही प्रहरी त राति राम्रो चिज चाहियो भन्दै होटलमा आउँछन्,’ एक यौनकर्मीले भनिन्। प्रहरीमात्र होइन ‘हाइफाई’ वर्ग पनि यौनप्यास मेटाउन आफूहरूकहाँ आउने गरेको ती महिलाहरू बताउँछन्।

यौनकर्मीलाई सम्र्पक गराउने होटलवाला र पुलिसको सम्बन्ध अक्सर राम्रो हुने उनीहरूको भनाइ छ। ‘प्रहरीसँग राम्रो सम्बन्ध नभएका होटल त जानु डरमर्दो हुन्छ,’ एक यौनकर्मी महिला भन्छिन्।

‘अवसर दिएर सुधार्न सकिन्छ’

महिला बालकालिका तथा जेष्ट नागारिक कार्यालय, काठमाडौंकी कार्यालय प्रमुख अनिता अधिकारी उचित अवसर प्रदान गर्न सकिए यौनकर्मी महिलालाई उक्त पेसाबाट मुक्त गराउन सकिने बताउँछिन्।

च्वाइस नेपालकी सविता दाहाल सूचना अभावका कारण पनि धेरै महिला यस्तो पेसा अंगाल्न पुग्ने गरेका बताउँछिन्। ‘महिलाहरूलाई यस्तो पेसाको जोखिमका सम्बन्धमा समयमै सूचना दिन सके समस्या समाधान हुन सक्थ्यो,’ उनी भन्छिन्।

यौनकर्ममा संलग्न महिलालाई समय–समयमा प्रहरीले सार्वजानिक अपराध ऐन अन्तर्गत सामान्य कारबाही गर्ने गरेको छ। तर, पक्रेको केही दिनमै प्रहरीले यस्ता यौनकर्मीलाई मुक्त गरिदिन्छ।

लामो समय पहिलेदेखि नै खुलेआम रुपमा यौन व्यवसाय फस्टाउँदै गएपनि सरकारले व्यवस्थापन गर्न सकेको छैन। फाट्टफुट्ट ‘रेड एरिया’का विषय कुरा उठ्ने गरेपनि खासै प्रगति भने भएको छैन।-नेपाललाइभबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर