इनरुवा,
सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।
आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिनुभयो ।
जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश ः बढ्दै गएको देखिएको छ । आइपासको तथ्याङ्कअनुसार जिल्लामा आव २०७१÷०७२ मा २९१, २०७२÷०७३ मा ७५६, २०७३÷०७४ मा ९३६ र २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।
गत आवको साउनमा १०३ , भदौमा ७३, असोजमा ७०, कात्तिकमा ९६ , मङ्सिरमा ८२, पुसमा १३९, माघमा १४८, फागुनमा ८९, चैतमा १९, बैशाखमा ११२, जेठमा १३३ र असारमा १२६ जनाले सुरक्षित गर्भपतन गराएका थिए । महिलामा जनचेतनाको वृद्धि, सुरक्षित गर्भपतन सेवा कार्यक्रमबारे कार्यक्रम सञ्चालन, निःशुल्क गर्भपतन सेवाको शुरुआत, १२ हप्ताभन्दा माथि अवधि तथा औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको शुरुआत र तालीमलगायतका कारणले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।
तथ्याङ्क हेर्दा सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको देखाएपनि असुरक्षितरुपमा गर्भपतन गराउने बढी रहेको स्थानीयले बताएका छन् । नेपालबाट भारतमा गएर गर्भपतन गराउने र भारतबाट नेपालमा आएर गर्भपतन गराउनेको सङ्ख्या पनि बढी रहेको बताइएको छ ।