काठमाण्डौं ।

तीनदेखि आन्दोलित नेपाल स्वतन्त्र चालक संघर्ष समितिले शुक्रबारदेखि गाडी चलाउन सहमत भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समन्वयमा गृह सचिवसित संघर्ष समितिका पदाधिकारीहरुले फोन वार्ता गरेर काठमाडौंमा अन्तिम वार्ता गरी गाडी चलाउन सहमत भएका हुन् । वार्ता गर्न प्रमुख जिल्ला अधिकारीसहित प्रहरी अधिकारीहरु जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका भवन पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारीसित बिहीवार भएको चार बुँदे सहमति पछि समिति गाडी चलाउन सहमत भएका हुन् । सहमति अनुसार संघर्ष समितिका पदाधिकारीहरु शुक्रवार १० बजे कठमाडौं पुग्दैछन् ।

त्यसका लागि बिहीबार राति नै उनीहरु हिडेँका हुन् । संघर्ष समितिका केन्द्रीय संयोजक बसन्त शर्माका अनुसार गत भदौ २७ मा संघर्ष समितिले स्थानीय प्रशासनलाई बुझाएको १५ बुँदे मागलाई आवश्यक परिमार्जन सहित कार्यान्वयन सम्बन्धी माथिल्लो निकायमा पठाउने, समितिले उठाएका मागहरु तत्कालै कानून तथा न्याय मन्त्रालय मार्फत कानून संशोधन समितिमा पठाउने, कानून संशोधन गराउन संघर्ष समितिका पदाधिकारी सहितको प्रतिनिधि वार्ताका लागि सम्बन्धित मन्त्रालय पुगेर वार्ता गर्ने र तत्कालका लागि आन्दोलन स्थगित गर्ने गरी चार बुँदे सहमति भएको हो ।
‘शुक्रवार काठमाडौंमा सम्बन्धित मन्त्रालयका सचिवज्युहरुसित वार्ता गरेर गाडी चलाउँछौं,’ शर्माले भन्नुभयो, ‘प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालयका सचिवज्युहरुसित टेलिफोनमा कुराकानी भएपछि आन्दोलन स्थगन गरका छौं ।’ अन्तिम वार्ता साकारात्मक हुने विश्वास रहेको वार्तापछि उहाँले बताउनुभयो ।
वार्ताका लागि समन्वय गरेका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका अनुसार समितिले प्रधानमन्त्री कार्यालय, गृह, कानून तथा न्याय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसित शुक्रवार वार्ता गरेर गाडी चलाउने छ ।
‘बिहीबारको वार्ताले अन्तिम वार्ता गर्ने र गाडी चलाउने वातावरण बनेको छ, प्रजिअ भट्टराईले भन्नुभयो, ‘चालकहरुले गाडी नचलाउँदा यात्रुलाई सास्तीसँगै इन्धन ढुवानीमा समस्या भइरहेको छ ।’ नयाँ कानून चालक मैत्री नभएको भन्दै चालकहरुले तीन दिनदेखि गाडी चलाएका छैनन् । चालकहरुको हड्तालले इन्धन ढुवानी नभएपछि कालोबजारी र इन्धनमा कृत्रिम अभाव पनि सुरु भएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो ।
‘शुक्रबारबाट गाडी चलाउन भएको प्रयास सफल भएको छ,’ उहाँले भन्नुभयो, ‘संघर्ष समितिका पदाधिकारीहरु वार्तामा साकारात्मक थिए ।’
लापरवाहीपूर्वक गाडी चलाउने क्रममा मान्छेको मृत्यु भएमा नयाँ मुलुकी अपराध संहिताले कडा सजायको व्यवस्था गरेपछि चालकहरु संगठित भएर नेपाल स्वतन्त्र चालक संघर्ष समिति निर्माण गरेका हुन् ।–रेडियो कान्तिपुरबाट

