Aamsanchar

झापामा ट्रक व्यवसायीको मनोमानी, जथाभावी ढुवानी भाडा बढाउँदा उपभोक्ता मारमा

Author Image
आइतवार, असोज १४, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोडबाट ताप्लेजुङसम्म सामान ढुवानी गर्दै आएका ट्रक व्यवसायीले मनोमानी रूपमा भाडा बढाएका छन्। ७० प्रतिशतसम्म ढुवानी भाडा बढाइएसँगै दसैं, तिहारलगायत चाडपर्वमा उपभोक्तालाई महँगीको मार पर्ने देखिएको छ।

प्रतिकिलो ३ रुपैयाँमा ढुवानी हुँदै आएकामा अहिले बढाएर पाँच रुपैयाँ पुर्‍याइएको छ। झापाका मुख्य व्यापारिक केन्द्र बिर्तामोड र काँकडभिट्टाबाट पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न बजारमा दैनिक उपभोग्य सामानदेखि तयारी कपडा र निर्माण सामग्री ढुवानी हुँदै आएको छ। बिर्तामोडबाट सबैभन्दा टाढा ताप्लेजुङ सदरमुकाम फुङलिङ र ताप्लेजुङको दोभानसम्म ट्रकबाट सामान ढुवानी गर्ने गरिन्छ।

ताप्लेजुङ सदरमुकामसम्म कालोपत्रे भएकाले प्रतिकिलो पाँच र दोभानसम्म पाँच रुपैयाँ ५० पैसासम्म ट्रकले भाडा लिन थालेपछि सामानको मूल्य पनि बढेको दोभानका स्थानीय कृष्ण पौडेलले बताए। पहिले दोभानमा प्रतिकिलो तीन रुपैयाँमा ढुवानी हुँदै आएको थियो। दोभानबाट जिल्लाका आधा भागमा सामान जाने हुँदा यो क्षेत्रमा बढी सामान ढुवानी हुने गरेको पूर्व नेपाल मेची ट्रक व्यवसायी संघले जनाएको छ।

‘मेचीमा मात्र २ हजारभन्दा बढी ट्रकले सामान ढुवानी गर्छन्’, संघका अध्यक्ष रोहितकुमार बुढाथोकीले भने, ‘यहाँ सरकारले भाडादर निर्धारण गरेको छैन, ट्रक व्यवसायीले आफूखुसी भाडा बढाएका रहेछन्।’ उनका अनुसार साबिक मेची अञ्चलका पहाडी जिल्लामा ट्रकधनीले नै आफूखुसी भाडा लिने गरेका छन्। ‘दसैंको मौका छोपी ट्रकले भाडा बढाएपछि यसको असर ताप्लेजुङसहित पहाडी बजारमा देखिन थालेको छ’, उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव राम कार्कीले भने, ‘वैज्ञानिक रूपमा भाडा निर्धारण नभए उपभोक्ता ठगीमा पर्न सक्छन्।’

ट्रकले भाडा बढाएपछि पूर्वी पहाडी जिल्लामा नुन, चामल, तेल र चिनीको भाउ अस्वाभाविक रूपमा बढेको उनको भनाइ छ। ट्रक सञ्चालकले समन्वय नगरी भाडा निर्धारण गरेको संघका अध्यक्ष बुढाथोकीको भनाइ छ। ‘हामीले सबै काम सल्लाहमा गर्नुपर्छ भन्ने गरेका छौँ’, उनले भने, ‘पहिलादेखि नै ट्रक किन्ने र चलाउने व्यवसायीको मनोमानी छ। घटाघटमा जति मन लाग्यो त्यति भाडा लिने गरेका छन्।’

यो क्षेत्रमा २ हजारभन्दा बढी ट्रक सञ्चालनमा रहे पनि संघमा भने २ सय ३१ वटा मात्र दर्ता रहेको तथ्यांकले देखाएको छ। ‘संघमा दर्ता भएपछि नियममा बस्नुपर्ने हुन्छ’, उनले भने, ‘भाडा निर्धारणदेखि हरेक कुरा संघसँगको समन्वयमा हुन्छ। त्यसो हुँदा भाडा बढाउन र मनोमानी रूपमा लिन नपाउने हुँदा ट्रक व्यवसायी संघमा बस्न चाहँदैनन्।’

मनोमानी रूपमा भाडा बढाउँदा पनि संघले नियन्त्रण गर्न नसकेको उनले स्वीकार गरे। ‘संघले अहिले दुर्घटना हुँदा बिमाबापतको रकम व्यवसायीलाई दिलाउन समन्वय गर्ने कामबाहेक केही गरेको छैन’, उनले भने, ‘सरकारले भाडा निर्धारण गरिदिए सबै कुराको हल हुने थियो।’

उनले ट्रक व्यवसायी आफैं मिल्ने र सडकमै निर्णय गरेर भाडा बढाउने गरेको दाबी गरे। ‘हामीले सिन्डिकेट गरेका छैनौं तर ट्रकधनीकोे सिन्डिकेट छ’, उनले भने, ‘यसलाई सम्बन्धित जिल्ला प्रशासनले पनि रोक्न आवश्यक छ।’ मेची राजमार्गमा ६ चक्के ढुवानी साधनले एकपटकमा साढे १० ट्रन सामान बोक्न पाउँछ। सबै ट्रकले धर्मकाँटामा जोखेर सामान लैजाने गरेका छन्। अन्नपूर्णपोष्टबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर