Aamsanchar

तपाईको राशीफल यस्तो छ २०७३ मा

Author Image
शुक्रवार, साउन २१, २०७३

मेष

वर्षारम्भमा बृहस्पतिको अनुकूलताले पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । अध्ययनका लागि विदेश जाने अवसर प्राप्त हुन सक्छ । भाग्यले मन मिल्ने साथी जुराउनेछ भने प्रेमसम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ । सन्तानबाट लाभ तथा सुख मिल्नेछ । दिगो फाइदा हुने काम शुभारम्भ हुने योग छ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरणले मन प्रसन्न रहनेछ । भदौदेखि पुससम्म परिस्थिति केही खराब हुनसक्छ । काममा अवरोध खडा गर्नेहरूले सताउने भएकाले महत्वपूर्ण योजना गोप्य राख्नुहोला । शनि र राहुको स्थिति विचार गर्दा पेट, जोर्नी वा मलद्वारमा समस्या देखापर्न सक्छ । खर्च र ऋण बढ्ने देखिन्छ । वैदेशिक रोजगारीमा केही समस्या सिर्जना हुनसक्छ । शनिबार पीपलमा जल चढाउँदा तथा वटुक भैरव, काली एवं छिन्नमस्ता भगवतीको पूजा–उपासना गर्दा प्रतिकूलता केही कम हुनेछ । रोकिएका काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल हुनेछन् । असार, असोज, माघ र फागुन महिनामा बढी फाइदा हुनेछ । वैशाख, साउन, मंसिर तथा चैत महिना प्रतिकूल छन् ।

वृष

यो वर्षको प्रारम्भिक समय त्यति अनुकूल छैन । घरमा अशान्ति, आफन्तहरूसँग विवाद एवं साझेदारीमा समस्या सिर्जना हुने योग भएकाले सावधान रहनुहोला । साउन २२ पछि बृहस्पतिको अनुकूलताले स्थितिमा सुधार ल्याउनेछ । व्यवसायमा उतारचढाव आए पनि मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा सफलता हात पर्नेछ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार बनाउन सक्छ । प्रेम विवाहमा परिणत हुनेछ भने सन्तानसुखको योग समेत छ । रोकिएका काम पुन: सुचारु हुनेछन् । अध्ययन वा रोजगारीका लागि विदेशयात्राको अवसर जुर्न सक्छ । गृहसुखमा राहु र दाम्पत्यमा शनिको उपस्थितिले वर्षभरि नै मानसिक शान्ति एवं पारिवारिक सुखमा बाधा देखा पर्न सक्छ । मित्रहरू टाढिने र विश्वासपात्रले धोका दिने समय भएकाले सचेत रहनुहोला । समस्याबाट मुक्तिका लागि राहुको मन्त्रजप तथा काली र बटुक भैरवको पूजा–उपासना गर्नुहोला । साउन, कात्तिक, फागुन तथा चैत महिनामा विशेष फाइदा हुनेछ । वैशाख, भदौ र मंसिर महिना प्रतिकूल रहनेछन् ।

मिथुन

वर्षको सुरुमा आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । नोकरी तथा राजनीतिमा विशेष पद प्राप्त हुने सम्भावना छ । स्थायी सम्पत्ति जोड्ने समय छ । उद्योगधन्दा तथा व्यवसायबाट फाइदा हुनेछ । प्रेम तथा दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूलाई माघ र फागुन महिनामा विशेष अवसर प्राप्त हुनेछ । साउन २२ पछि बृहस्पतिको स्थानान्तरणले कामको दायित्व बढाउनेछ । महत्त्वाकांक्षाका कारण बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । मनोमालिन्यले साझेदारीमा विवाद एवं परिवारमा असमझदारी बढाउन सक्छ । शनिदेवको अनुकूलताले शत्रु तथा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ । भ्रातृस्थानको राहुले दाजुभाइमा विवाद निम्त्याए पनि आफ्ना लागि फाइदा दिलाउनेछ । सहयोगीहरूले वर्षभरि नै साथ दिनेछन् । वगलामुखी र काली भगवतीको पूजा–आराधना गर्दा प्रतिकूल समयमा पनि फाइदा हुनेछ । वैशाख, भदौ, मंसिर तथा चैत महिना लाभप्रद छन् । जेठ, असोज र माघ महिना केही कष्टदायक सावित होलान् ।

कर्कट

बृहस्पतिको अनुकूलताले शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर प्राप्त गर्न सकिने समय छ । रोजगारी वा पदोन्नतिको सम्भावना छ । आफन्तजनको सहयोगमा विशेष फाइदा उठाउन सकिनेछ । व्यवसाय विस्तार हुनेछ भने धेरैको भलाइ हुने कार्य सम्पादन गर्न सकिनेछ । प्रेमसम्बन्धले विवाहरूपी निकास पाउनेछ । साउन २२ पछि परिस्थिति केही कमजोर हुनेछ । धनस्थानको राहुले अर्थ सञ्चितिमा बाधा पुर्‍याउने देखिन्छ । विश्वासमा पारेर रकम लिनेहरूले झुक्याउन सक्छन् । विवादमा परी तीव्र आलोचना सहनुपर्ने हुनसक्छ । शनिको प्रभावले पेटमा समस्या निम्त्याउन सक्छ । अरूको फाइदाका लागि आफू उपयोग भइनेछ । साथीभाइ तथा परिवारजनले समेत साथ नदिँदा एक्लोपनको अनुभूति हुनेछ । विधिपूर्वक काली भगवती तथा बटुक भैरवको पूजा–उपासना तथा राहु र शनिको आराधना गर्दा फाइदा हुनेछ । वैशाख, जेठ, असोज र पुस महिना अनुकूल छन् । असार, कात्तिक तथा फागुन महिना कष्टदायक रहनेछन् ।
सिंह

ग्रहहरू प्रतिकूल हुनाले आफन्तजनसँग बिनाकारण टाढिनुपर्ने परिस्थिति सिर्जना हुनसक्छ । काम बिग्रने डरले सताउनेछ भने मन अशान्त रहनेछ । साउन २२ देखि बृहस्पतिको अनुकूल प्रभावले स्थितिमा सुधार ल्याउनुका साथै भाग्यसमेत बलवान् हुनेछ । बिग्रिएको प्रेमसम्बन्ध पुन:स्थापित हुनेछ भने दाम्पत्य सम्बन्ध पनि सुमधुर बन्नेछ । बौद्धिक अभिव्यक्तिले मानसम्मान दिलाउनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ । नोकरीमा कामको दायित्व बढ्नुका साथै अनुकूल स्थान प्राप्त हुनसक्छ । आय–आर्जनका स्रोतहरू थपिनेछन् । वर्षभरि शिरमा राहु र सुखस्थानमा शनिको अढैयाजन्य प्रभावले अशान्ति, स्वास्थ्यबाधा, धनहानि, लाञ्छना जस्ता समस्याले मन विचलित तुल्याउन सक्छ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुक भैरवको पूजा–आराधना गर्दा फाइदा हुनेछ । कात्तिक, माघ, जेठ तथा असार महिना लाभदायक रहनेछन् । साउन, मंसिर र चैत महिना प्रतिकूल देखिन्छ ।

कन्या

बृहस्पतिको प्रभावले टाढाको यात्रा, धर्मकर्म वा मांगलिक कार्यका लागि धन खर्च हुनसक्छ । साउनदेखि विभिन्न अवसर आए पनि अध्ययन र व्यवसायमा बाधा सिर्जना हुनेछ । प्रतिकूल स्थानान्तरणले रोजगारीमा पनि समस्या पार्न सक्छ । आम्दानीले नधान्ने गरी खर्च बढ्नेछ । अप्ठ्यारो मौकामा प्रेमसम्बन्धमा खटपट र पतिपत्नीमा मतभेद हुने सम्भावना पनि छ । बिनाकारण आफन्तहरू टाढिनेछन् भने आफू एक्लिएको अनुभूति हुनेछ । माघ महिनातिर भाग्यले जीवनसाथी जुराउनुका साथै प्रेमको बन्धन कसिलो हुन सक्छ । शनिको अनुकूलताले माघसम्मै सहयोगीहरूले साथ दिनेछन् । स्थापित व्यवसाय, कृषिकर्म तथा उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । नोकरीमा पनि फाइदा हुनेछ । शिवजी, वटुक भैरव एवं बगलामुखीको पूजा–आराधना तथा राहु र बृहस्पतिको मन्त्रजप गर्दा लाभ हुनेछ । असार, साउन, मंसिर तथा फागुन महिना राम्रा छन् । वैशाख, भदौ तथा पुस महिना प्रतिकूल सावित हुन सक्छन् ।

तुला

वर्षको सुरुआत फाइदाजनक रहनेछ । आय भावमा बृहस्पति एवं राहुको अनुकूल प्रभावले प्रगति अर्थात् भाग्योदय हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ भने मानसम्मान पाइनेछ । प्रेम र मित्रताको गाँठो कसिलो हुनेछ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीमा हुनेहरूका लागि अनुकूल स्थानान्तरण एवं पदोन्नतिको समय छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा एवं परोपकारी कार्यमा संलग्न भइनेछ । साउन २२ देखि फागुन ५ गतेसम्म चिताएको काम रोकिनुका साथै एकपछि अर्को समस्या आइलाग्न सक्छ । झूटा आरोप, आर्थिक कठिनाइ एवं मानहानिको योग भएकाले सावधानी अपनाउनुहोला । शनि र गुरुको मन्त्रजप, काली र बगलामुखीको आराधना तथा शनिबार पीपलमा जल चढाउँदा ग्रहदोष कम हुन्छ । तुलनात्मक रूपमा साउन, भदौ, पुस र चैत महिनामा सफलता मिल्नेछ भने जेठ, असोज र माघ महिना प्रतिकूल रहनेछन् ।

वृश्चिक

वर्षभरि साढेसात शनिको मध्य र अन्त्य भएकाले जन्मसमयमा शनि कमजोर हुनेहरूमा चिन्ता बढ्ने, कामका अवरोध सिर्जना हुने तथा स्वास्थ्य कमजोर रहने सम्भावना छ । मायाप्रेममा आफ्नै कारणले समस्या सिर्जना हुने भएकाले सजग रहनुहोला । मातापिता एवं नजिकका व्यक्तित्वहरूबाट अनायासै टाढिनुपर्ने स्थिति आउन सक्छ । सार्वजनिक जीवनमा चुनौती थपिनाले परिस्थितिसँग सम्झौता गर्नुपर्ने स्थिति आउन सक्छ । साउन २२ गतेदेखि बृहस्पतिको स्थानान्तरणले समय अनुकूल हुँदै जानेछ । प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्नेछ । प्रयत्न गर्दा पदोन्नति वा अनुकूल सरुवा हुन सक्छ । गुमेको स्थान प्राप्त गर्न सकिनेछ । विधिपूर्वक काली भगवती तथा बटुक भैरवको उपासना एवं शनिको मन्त्रजप गर्नुका साथै प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कात्तिक तथा फागुन महिना प्रतिकूल छन् ।

धनु

काममा दु:ख भए पनि वर्षारम्भमा राम्रै उपलब्धि हात लाग्नेछ । प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक रूपमा ख्याति बढ्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम कमाउने समय छ । भाग्यले मन मिल्ने पात्र जुराउन सक्छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनमा प्रगति गर्न सकिनेछ । साउन २२ पछि जन्मराशिमा बसेको शनिको साढेसात प्रभाव बढ्न सक्छ । फागुन ५ सम्म आद्य र त्यसउप्रान्तको मध्य साढेसात शनिले आर्थिक पक्ष कमजोर बनाउन सक्छ । जन्मकुण्डलीमा शनि बलवान् हुनेहरूलाई भने राम्रै फाइदा हुनेछ । महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ । तुलनात्मक रूपमा जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहनेछन् । साउन, मंसिर एवं चैत महिना सचेत रहनुहोला ।

मकर

आफन्तहरूको व्यवहारले मन खिन्न हुनेछ । स्थायी सम्पत्तिमा विवाद आउनुका साथै परिवारजनबाट टाढिनुपर्ने स्थिति उत्पन्न हुनसक्छ । चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा सिर्जना गरिरहनेछ । विरोधीहरूले टाउको उठाउन सक्छन् । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । मातापितालाई लिएर चिन्ता बढ्नेछ । साउन २२ देखि बृहस्पतिले भाग्यलाई प्रत्यक्ष प्रभाव पार्ने हुनाले स्थितिमा सुधार आउनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । अध्ययनमा प्रगति हुनेछ । प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ । शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा बढ्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट पनि फाइदा हुनेछ । बहुमूल्य धातु, यन्त्र तथा सवारी साधन प्राप्त हुने सम्भावना छ । वर्षभरि राहु तथा फागुन ५ गतेदेखि शनि प्रतिकूल हुने भएकाले शिवजी, काली तथा बटुक भैरवको उपासना गर्नुहोला । असार, कात्तिक, मंसिर तथा चैत महिना लाभप्रद छन् । वैशाख, भदौ र पुस महिना प्रतिकूल रहने देखिन्छ ।

कुम्भ

बृहस्पतिको अनुकूलताले धेरै काम बन्नेछन् । आयआर्जनका प्रशस्तै स्रोत फेला पर्नेछन् । व्यवसायमा सोचेजस्तै सफलता हात पर्नेछ । घरमा मांगलिक कार्य सम्पन्न हुनेछ । प्रेम वा दाम्पत्य सम्बन्ध स्थापित हुने समय छ । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । तर्कशक्ति बढ्नेछ । उत्तम रोजगारीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । बाहिरी यात्रा वा प्रवासमा हुनेहरूका लागि पनि समय अनुकूल देखिन्छ । शनि र राहुसमेतको स्थिति विचार गर्दा पारिवारिक असमझदारी बढ्न सक्छ । नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले सताउन सक्छ । काममा दोहोर्‍याएर प्रयत्न गर्नुपर्नेछ । साउन २२ देखि बृहस्पति कष्टस्थानमा जाने हुँदा अर्थअभाव एवं काममा अवरोध हुने भएकाले गोपनीयतामा ध्यान पुर्‍याउनुहोला । वर्षभरि छिन्नमस्ता र बटुकभैरवको पूजा–आराधना गर्दा लाभ मिल्नेछ । शिवजी र नागको पूजा गर्दा पनि फाइदा हुनेछ । वैशाख, साउन, मंसिर एवं पुस महिना फाइदाजनक छन् । जेठ, असोज र माघ महिना प्रतिकूल रहनेछन् ।

मीन

वर्षारम्भ सामान्य भए पनि साउन २२ देखि गुरुको अनुकूलताले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । व्यापार तथा अध्ययनका लागि विदेशयात्राको अवसर प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । विशेष मित्रता प्रेममा तथा प्रेमसम्बन्ध दाम्पत्यमा रूपान्तरित हुने बलियो सम्भावना छ । सन्तान र जीवनसाथीको सहयोगले सजिलै काम सम्पन्न हुनेछन् । माघ र फागुनमा केही समस्या देखिए पनि मेहनतले प्रतिष्ठित स्थान दिलाउन सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । साझेदारीमा पनि फाइदै हुनेछ । राजनीतिक पहुँच बढ्नेछ भने सुखद समाचारले आनन्द दिलाउनेछ । बगलामुखी र काली भगवतीको पूजा–उपासना गरे प्रतिकूल समयसँग लड्न सकिनेछ । जेठ, भदौ, पुस तथा माघ महिना लाभप्रद छन् । असार, कात्तिक तथा फागुन महिना प्रतिकूल हुन सक्छन् ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
फलित ज्योतिषाचार्य

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर