Aamsanchar

व्यवसायी सफल भए सरकार सफल हुन्छ –निर्माण व्यवसायी

Author Image
मङ्गलवार, असोज १६, २०७५

बिर्तामोड।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी सफल भएमात्रै सरकारको सपना साकार हुने बताएका छन् ।

निर्माण व्यवसायीले खाडी मुलकमा नभएर स्वदेशमा नै रोजगारी सृजना गर्न लागि परेकाले सरकारले पनि निर्माण व्यवसायीलाई सहयोग गर्नु पर्ने उनको भनाई छ । झापाको बिर्तामोडमा मंगलवार नव निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सवै निर्माण व्यवसायी एक भएर राष्ट्र निर्माण जुट्नु पर्ने धारणा राखे ।

प्रधानमन्त्रीको गृह जिल्ला झापा रहेकाले झापाली व्यवसायीको साथ र सहयोग पाए निर्माण व्यवसायी व्यवसायीहरुको हक अधिकारका लागि आफू एक ढिक्का भएर अगाडि बढ्न तयार रहेको उनको भनाई छ । पाँच करोड रुपैयाँसम्म स्थानीय निकायमा १५ देखि २० करोड प्रदेश भित्रका निर्माण व्यवसायीले मात्र प्रतिष्पर्धा गर्न पाउनु पर्ने विषयमा आफूले पहल गरिरहेको अध्यक्ष सिंहले बताए । उनले दुई अर्व रुपैयाँ भन्दा बढीका आयोजनामा मात्र विदेसिलाई प्रतिष्पर्धीका रुपमा सहभागी गराउन माग गरे ।

नव निर्वाचित निर्माण व्यवसायीहरुको एजेण्डामा सरकारले साथ दिएमा अरवौं रुपैया विदेसिने रकम रोकिने उनको भनाई छ । नेपाली निर्माण व्यवसायीसक्षम भएमा सरकारको सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने केन्द्रीय अध्यक्ष सिंहको भनाई छ । उनले विदेसी प्रविधि सिक्ने वातावरण वनाउन पनि सरकारलाई आग्रह गरे । वहुमत प्राप्त सरकार भएकाले सरकारले चाहेमा जुनसुकै विषयमा पनि परिर्वतन गर्न सक्ने उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले राष्ट्र र व्यवसायी प्रति समान व्यवहार गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

बिर्तामोड नगर क्षेत्रमा भइरहेका विकास निर्माणका काममा इञ्जिनियरलाई प्रसा दिएर विल पास गराउनु प¥यो भने सोझैं आफूलाई भन्न आग्रह गर्दै राम्रो काम गर्दा पनि पैसा खुवाएर बील पास गराउनु प¥यो भने रकम फिर्ता गर्दै फूलमाला लगाएर सम्मान गर्छु ।राज्यको तलव खाने इञ्जिनियरलाई निर्माण व्यवसायीले पैसा दिन नहुने उनको भनाई छ । कार्यक्रममा बोल्दै महासंघका वरिष्ट उपाध्यक्ष निकोल पाण्डेले निर्माण व्यवसायीको बोल्ने दिन सकिएको भन्दै काम गरेर देखाउने समय आएको बताए ।

उनले भने–‘ चुनाव अघिसम्म आफ्ना एजेण्डावारे बोलयो अब भने एजेण्डा कार्यान्वयन गर्नका लागि काम गरेर देखाउनु दिन आए ।’ उनले देश निर्माणका लागि निर्माण व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको भन्दै साना, मझौला र ठूला व्यवसायीबीच कुनै भेदभाव हुन नहुने धारणा राखे । कार्यक्रममा महासंघका महासचिव रोशन दाहालले निर्माण व्यवयायीले निर्माण गर्ने परियोजनाहरुमा राज्यले सिमेन्ट, रड, लगायतका निर्माण सामग्रीको गुणस्तरीयता तोक्नु पर्ने बताएका छन् । दुई वटा महासंघ भएर नचल्ने भन्दै एक ढिक्का भएर व्यवसायीहरु अगाडि बढ्नु पर्ने बिचार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश १ का अध्यक्ष मोहनप्रसाद अधिकारीले सबै निर्माण व्यवसायीलाई समान व्यवहार गर्न र स्थानीय स्तरमा सोही ठाउँका निर्माण व्यवसायीलाई मात्र काम गर्ने बतावरण बनाउन केन्द्रले भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।
कार्यक्रममाबोल्दै महासंघकी केन्द्रीय सदस्य मोहनकुमारी कालिकोटेले निर्माण व्यवसायीको क्षेत्रमा महिलालाई चुनौति नै चुनौति रहेको बताएकी छिन् ।

उनले भनिन्–‘ खाना खान महिला भनेर अघि सार्ने पुरुषले काम दिनपछि पार्छन् ।’ घरको सासा काम भ्याएर पनि महिलाले पुरुषसंग पौठेजोरी खेल्दै निर्माण सम्वन्धि ठेक्का पार्नु पर्ने आफूहरुमा बाध्यता रहेको उनले बताइन् । कालिकोटेले भनिन्–‘ विलो ठेक्काको समस्याले कतिपय निर्माण व्यवसायीको उठिवास भएको छ यसतर्फ केन्द्रले निश्चित मापदण्ड तोक्नु पर्छ ।’

त्यस्तै प्रदेश नम्वर १ का उपाध्यक्ष धीरेन दाहालले विभिन्न जिल्लामा भएका समस्याका विषयमा प्रदेशमा जानकारी गराउन सबै निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै निर्माण व्यवसायीसंघ झापाका अध्यक्ष मिलन बस्नेतले केन्द्रीय नेतृत्वसंग झापाका व्यवसायी हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले साना र ठूला व्यवसायी बीचको विभेद हटाउन आग्रह समेत गरे । हालै जारी भएको नयाँ कानूनमा व्यवसायीलाई केही वाँदाले अफ्ट्यारो पर्ने भएकाले त्यस्ता अफ्ट्याराहरु संसोधन गर्नका लागि केन्द्रले सरकारलाई झक्झक्याउनु पर्ने उनको भनाई छ ।

त्यस्तै निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष गणेश वस्नेतले अन्यत्रबाट आएका निर्माण व्यवसायीले कमजोरी गर्दा झापाका निर्माण व्यवसायी लज्जित हुनु परेको बताएका छन् । उनले काम गर्ने बातावरण बनाउन महासंघ संग आग्रह गर्दै समानुपातिक प्रणालीको नियम बनाउन समेत माग गरे । पेशालाई आफैंले मर्यादित बनाउन सके मात्रै निर्माण व्यवसायी प्रतिको आम धारणामा परिर्वतन ल्याउन सकिने बिचार व्यक्त गरेका छन् ।

उनले सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा पनि पहल गर्नु पर्ने बिचार व्यक्त गरे । त्यस्तै निर्माण व्यवसायी संघ झापाका निर्वतमान अध्यक्ष दिपेन्द्र पोखरेलले स्वागत गर्दै राष्ट्रिय गौरवका आयोजना बनाउन सक्ने निर्माण व्यवसायीहरु एक जुट हुनु पर्ने बताएका छन् ।

नव निर्वाचित पदाधिकारीलाई निर्माण व्यवसायीसंघ झापाको तर्फबाट अध्यक्ष वस्नेत र कार्यक्रका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रमको संचारल निर्माण व्यवसायी संघ झापाका महासचिव ओम पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर