Aamsanchar

बैतडीमा औषधि अभाव

Author Image
बिहिवार, असोज १८, २०७५

बैतडी, 

समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो ।

धेरैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् ।

तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि औषधि अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा औषधि अभाव भएकाले खरिद प्रक्रिया अघि बढाइएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले बताउनुभयो ।

त्रैमासिक रूपमा आउने औषधि पछिल्लो समयमा नआएकाले स्वास्थ्य संस्थामा औषधि अभाव चुलिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताउनुभयो । समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो उहाँले भन्नुभयो, “अहिले पनि धेरैजसो सकिएको छ, दशैँअघि औषधि खरिद गर्न नसकिए निःशुल्क औषधि अभाव हुने निश्चित छ ।”

यस्तै पुरचाँैडी नगरपालिकाका सबै स्वास्थ्य संस्थामा केही दिनमै औषधि सकिने अवस्थामा रहेका उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो । स्वास्थ्यका कार्यक्रम अझैसम्म स्वीकृत नगरिएकाले तत्काल औषधि खरिद गर्न नसकिने र केही दिनमै औषधि अभाव हुने उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमा पनि पार्याप्त मात्रामा औषधि नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । औषधि खरिद प्रक्रिया समयमा शुरु नहुँदा औषधि अभाव हुने गरेको उहाँले बताउनुभयो ।

उता क्षेत्रीय मेडिकल स्टोरमा खरिद भएका औषधिका लागि ढुवानी रकम नहुँदा वितरण प्रक्रिया प्रभावित भएको बताइएको छ ।

सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५६ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने निर्णय गरे पनि सबै प्रकारका औषधि स्वास्थ्य संस्थामा नपाइनाका साथै अहिले अत्यावश्यक औषधि पनि अभाव हुन थालेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर