Aamsanchar

प्रभावकारी बन्यो ‘टोलटोलमा प्रहरी’ अभियान/ झापामा यौनजन्य हिंसामा कमी

Author Image
बिहिवार, असोज १८, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड।

देशभर दैनिक २–३ वटा बलात्कारका घटना भइरहेका बेला झापामा भने प्रहरीको सक्रियताका कारण यौनजन्य हिंसामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हाल्न आएका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले यौनजन्य घटना न्यूनिकरणका लागि भदौ ३ गतेबाट शुरु गरेको टोलटोलमा प्रहरी कार्यक्रमबाट साउन महिनामा भन्दा आधाबढी अपराध नियन्त्रण गर्न सफल भएको हो ।

झापा जस्तो शिक्षित जिल्लामा पनि बलात्कार तथा महिला माथिका यौनजन्य हिंसा बढिरहेका बेला प्रहरी उपरीक्षक ढकालले टोलटोलमा प्रहरी परिचालन गरेर निगरानी बढाउनुका साथै सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थिए ।

श्रावण महिनामा यौनजन्य अपराधका घटना ३० वटा घटेकोमा अभियान संचालन गरे पश्चात भदौ महिनामा १६ वटा मात्र घटना भएका छन् । यौनजन्य अपराधका घटना ४६.६७ प्रतिशतले कमी आएको प्रहरी उपरीक्षक ढकालको भनाई छ । उनी भन्छन्– मानिसको मनमा अनेक नकरात्मक सोचहरु आउनसक्छ, उक्त समयमा महिला तथा बालिका एकान्तमा देख्दा उसले जबरजस्र्ती गर्ने हिम्मत गर्दा तर प्रहरी देख्दा मात्रै पनि उसको नकारात्मक दृष्टिकोणमा परिर्वतन आउँछ ।

प्छिल्लो समय विभिन्न प्रविधिको विकाससंगै मानिसमा नकारात्मक सोच धेरै हाबी भएको उनको भनाई छ । समाजिक सञ्जालको प्रयोगबाट पनि धेरै महिला प्रताडित रहेको तथा विभिन्न नक्कली प्रेमजालमा परेर पनि धेरैले आफ्नो इज्जत गुमाउनुपर्ने अवस्था आएकाले यस्ता विषयलाई मध्यनजर गर्दै प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरिरहेको ढकालको भनाई छ ।

झापा प्रहरीले शुरु गरेको टोलटोलमा प्रहरी कार्यक्रम पछि यौनजन्य घटनामा संलग्न ६६ जना अभियुक्त मध्ये ५१ जना पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । पछिल्लो समय महिलामा यौनजन्य हिंसालाई सहेर बस्नुहुदैन भन्ने चेतनाको विकास भएसंगै आपाराधिक मानसिकता बनाएका धेरै ब्यक्तिहरु प्रहरीको फन्दामा पर्नेगरेका छन् । झापाका १५ वटै स्थानीय तहमा प्रहरी परिचालन गरेकाले अपराध न्यूनिकरणमा प्रहरी सफल बन्दै गएको दाबी गरिएको छ । तर प्रदेश १ मा बलात्कारका घटना बढेको तथ्यांकहरुले देखाएको छ ।

झापा सहित १४ जिल्ला रहेको प्रदेश १ मा दैनिक १ भन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्य बाहिरिएको छ । प्रदेश–१ प्रहरी कार्यालय, विराटनगरका अनुसार पछिल्ला तीन वर्षमा एक हजार २९ जना बलात्कारको शिकार भएका छन् । बलात्कृत हुनेमा ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म रहेका छन् । बलात्कारको शिकार सबैभन्दा बढी किशोरी भएका छन् ।

३ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष ०७४–०७५ मा ३ सय ८४ वटा बलात्कारको घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । मोरङमा मात्र गत वर्ष एक सय ३ वटा बलात्कारको घटना भएका छन् । साविकको पुर्वाञ्चल अन्तर्गत १६ वटा जिल्ला कायम भएको आर्थिक वर्ष ०७३–०७४ मा ३ सय ५१ बलात्कारको घटना भएका छन भने ०७२–०७३ मा कुल २ सय ९४ बलात्कारका घटना भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४–०७५ मा कुल ३ सय ८४ बलात्कारको घटना भएकोमा सबैभन्दा बढी जेठमा ६१ घटना भएका छन् । पूर्वमा बलात्कारका घटना बढेसंगै जनचेतनामुलक कार्यक्रमका साथै विभिन्न अभियानहरुलाई तिब्रता दिइरहेका बेला झापा प्रहरीले शुरु गरेको टोलटोलमा प्रहरी अभियान निकै प्रभावकारी देखिएको छ ।

पछिल्लो वर्षमा जघन्य अपराधका घटना २२ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । प्रहरीले ११ वटा अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ । जसमा खुँन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागूऔषध, अपहरण, हातहतियार तथा खरखजना, मानब बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी र बिष्फोटक पदार्थ छन् । त्यसमध्ये डाँकाचोरी बाहेक सबै किसिमका अपराध पछिल्लो वर्षमा बढेका छन् ।

झापा जस्तो सिमावर्ती जिल्लामा अपराध गरेर भारत तर्फ भाग्ने भएकाले अपराधीलाई पक्राउ गर्न केहि समय पनि लाग्न गरेको तर पछिल्लो समय झापा प्रहरीले शुरु गरेको अभियानले मानिसमा नकारात्मक सोचलाई निरुत्साहित गर्दै लगेको प्रही उपरीक्षक ढकालले दाबी गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर