पथरी (मोरङ)।
अपाङ्ता भएरपनि जीवननिर्वाह गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन मोरङका रुपलाल उराव । उहाँ शारीरिक रुपमा तन्दुरुस्त नभए पनि आफूलाई त्यस्तो नभएको महसुस गर्नुहुन्छ । उहाँ मोरङको झोराहाटका नमुना किसानको रुपमा परिचय बनाउनुहुन्छ । व्यावसायिक रुपमा तरकारीखेती सुरु गर्नुभएको उहाँले त्यत्ति धेरै भएको छैन ।
तर व्यावसायिक तरकारीखेती गरेर मनग्ये आम्दानी गर्न सफल हुनुभएको छ । शारिरिक रुपमा तरकारीखेती गर्न केही कठिनाइ भए पनि आफूलाई अपाङ्गता भएको महसुस गर्नुहुदैँन । अन्य जत्तिकै उहाँ पनि खेतबारीमा समय दिनसक्नुहुन्छ ।
बिहान उठेदेखि अबेर साँझसम्म पनि उहाँ खेतमै भेटिनुहुन्छ । उहाँको बारीमा अहिले रायो साग, फूलकोभी, बन्दा, बैगुन भेटिन्छन् । तरकारीका विरुवा पनि उहाँले उत्पादन गर्नु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले व्यावसायिकखेती गर्न सकेको थिइन, अहिले पूरै व्यावसायिक भएको छु ।’ पहिले घरायसी प्रयोजनका लागि मात्रै उहाँले तरकारी लगाउने गर्नुभएको थियो । धेरैतिर रोजगारीका लागि चहारेपनि कतै सफल नभएपछि उहाँले तरकारी खेतीमा लाग्ने सोच बनाउनु भएको थियो ।
उहाँ विगत सम्झदै भन्नुहुन्छ,‘अपाङ्गलाई किन पैसा दिनुपछि फर्कने पनि हैन ।’ भित्रै बिझ्ने गरी व्यवहार गरेको अहिले पनि झल्झल्ली आउने गरेको उरावले सुनाउनुभयो । पछि उहाँलाई जिल्ला कृषि विकास कार्यालय मोरङ र बहुउद्देश्यीय विकास व्यवस्थापन सेवा नेपाल (एमडीएमएस) ले सहयोग गर्ने भएपछि उहाँले पाँच कठ्ठामा व्यावसायिक खेती सुरु गर्नुभयो ।
खेतीबाट राम्रै आम्दानी हुनथालेपछि उहाँले अहिले १२ कठ्ठामा तरकारीखेती गरिरहनुभएको छ । उहाँलाई खेतीको काममा श्रीमती र छोरीले सहयोग गर्ने गरेका छन् । खेतीको कामबाट कहिल्यै पनि थकानको महसुस आफूले नगरेको उहाँले बताउनुभयो । अन्य जस्तो त काम गर्न नसकुला तर सवलाङ्ग भन्दा कम नभएको प्रमाणित गरेर देखाएको उहाँले बताउनुभयो । सुरु सुरुका दिनमा वार्षिक रु ५० हजार आम्दानी हुने गरेपनि गतवर्ष रु एक लाख ५० हजार आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।
तरकारी सँगसँगै कुखुरापालन पनि सुरु गर्न लाग्नुभएको छ । यसका लागि उहाँले फर्म तयार गरिसक्नुभएको छ । केही दिनभित्र चल्ला हाल्ने तयारी गरेको उहाँले सुनाउनुभयो ।
व्यावसायिक तरकारीखेती सुरु गरेपछि दुई छोरी र एउटा छोरोलाई राम्रोसँग पठनपाठन गराउन सकेको उरावको भनाइ छ । एउटी छोरी भारतमा अध्ययनरत छिन् ।
सुरु सुरुमा आफन्त र छिमेकीले विश्वास नगरेको र कुरा काट्दै हिँडेपनि अहिले उनीहरुको मुख बन्द भएकोमा गौरव लाग्ने गरेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ,‘अवसर पाउँदा अपाङ्गता भएकाले पनि गर्नसक्छन् भनेर देखाएको छु ।’ उहाँको बारीमा तरकारीले उत्पादन दिन सुरु गर्ने वित्तिकै उपभोक्ता घरसम्मनै आउने गरेका छन् ।
अर्गानिक तरकारी लगाउने र विषादीको प्रयोग नभएपछि धेरैको ध्यान आफ्नो तरकारीमा तान्न सफल भएको उहाँले बताउनुभयो । उहाँलाई प्राविधिक सहयोग, गाविस र एमडीएमएसले गर्दै आएको छ ।
उहाँको मेहेनत देखेर अरु किसान पनि प्रभावित हुने गरेको एमडीएमएसका कार्यक्रम संयोजक मित्र राईले बताउनुभयो । उहाँको तरकारीबारी हेरेर धेरैजना प्रभावित भएका छन् ।