पाँचथर,

पूर्वी पहाडी जिल्ला पाँचथरको लेकाली क्षेत्रका किसानहरूको अाम्दानीको मुख्य स्रोत मुला बनेको छ। जङ्गली जनावरले बर्सेनि मकै र आलुलगायत बाली नष्ट गरेपछि वैकल्पिक बालीको रूपमा किसानहरूले मुला रोप्दै आएका छन्।

जङ्गली जनावरले नखाने र बजार पनि राम्रो रहेकाले केही वर्ष यता जिल्लाको लेकाली क्षेत्रका किसानहरुको आम्दानीको स्रोत मुला बनेको हो। फिदिम नगरपालिकाको लेकाली क्षेत्रका गाउँहरु सिलौटी, इथुङ, सिम्ले, स्कुलडाँडा, मझुवा, डोजरडाँडा र फाल्गुनन्द गाउँपालिकाको कोल्बुङ, पात्ले, घिसिङटारलगायतका किसानहरूले मुला खेतीबाट आम्दानी लिँदै आएका हुन्।
फिदिम नगरपालिका–३, सिलौटिकी चन्द्रकला मुखियाले पाँच वर्षअघिसम्म मुख्य बालीको रूपमा बारीमा मकै र आलु लगाउने गरेको तर सोचे जस्तो आम्दानी नभएपछि व्यवसायिक रूपमा मुला खेतीमा लागेको बताइन्। उनले हाल आफ्नो बारीको एक चौथाइमा आलु र मकै लगाएर अन्यमा मुला रोप्दै आएकी छन्। चन्द्रकलासँगै सिलौटीसहित आसपासका क्षेत्रका किसानहरु पनि मकै र आलुखेती छाडेर मुला खेतिमा लागेका छन्। छोटो समयमै राम्रो आम्दानी हुने र बजार पनि पाउने भएपछि किसान मुला खेतीतर्फ आकर्षित भएका हुन्।

सिलौटीका मुला व्यवसायी मचिन्द्र मुखियाका अनुसार फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका मात्रै हालसम्म करिब तीन हजार किसान मुला खेतीमा लागेका छन्। ‘मिहिनेत धेरै चाहिँदैन। आम्दानी गर्ने यहाँको सजिलो बाली मुला नै हो’,उनले भने। यस क्षेत्रबाट दैनिक १२ पिकअप मुला निर्यात हुने गरेको व्यापारीहरू बताउँछन्। किसानले प्रतिकिलो १२ रुपैयाँमा व्पायारीलाई दिने गरेका छन्। यसरी प्रतिदिन तीन लाख ४५ हजार बराबरको मुला निर्यात हुने गरेको छ।
त्यहाँ उत्पादित मुला स्थानीय व्यवसायिहरुले इलामको पशुपतिनगर र झापाको काँकडभिट्टा हुँदै भारतका बजारहरूमा निर्यात गर्दै आएका छन्। फिदिम–८, इथुङका व्यापारी बिटु मुखियाका अनुसार त्यहाँ एक जना किसानले कम्तीमा डेढ रोपनीदेखि पाँच रोपनी जग्गामा मुला खेती गरेका छन्।

