Aamsanchar

नयाँ सुरक्षा रणनीतिले प्रहरीलाई सफलता

Author Image
बुधवार, कार्तिक ७, २०७५

बिर्तामोड ।

फाइल तस्वीर, एसपी भिमप्रसाद ढकाल, डीएसपी कृष्ण कोइराला र ट्राफिक प्रहरी निरीक्षक राजेश राई ।

झापा अर्जुनधारा नगरपालिका–११स्थित गिरीवन्धु टी इस्टेटमा २५ वर्षीया एक महिलालाई जवरजस्ती गर्न खोज्ने दुई युवा पक्राउ परे । राजगढ–४ बस्नेत ३० वर्षीय मुस्तफा आलम र भारत विहार डिगलबैंकका १९ वर्षीय महमद रब्बनलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दा चलायो । गत असोज ११ गते पीडित महिलाको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए ।

असोज २१ गते चारपाने–वेलडाँगी सडकखण्डमा रहेको सेवारो खाजाघरबाट बाह्रदशी–६का २५ वर्षीय धु्रव प्रधान, सोही ठाउँ निवासी २५ वर्षीय भीम सुब्बा भनिने भीमबहादुर चेम्जोङ र २५ वर्षीय भानुभक्त ढकाल १८ ग्राम ब्राउन सुगरसहित पक्राउ परे । उनीहरुलाई पनि प्रहरीले लागूऔषध ओसारपसारमा मुद्दा चलायो । उनीहरुलाई प्रहरीले डिजिटल तराजुमा लागूऔषध तौलँदा–तौलँदै पक्राउ गरेको थियो ।

असोज १८ गते बिर्तामोड–४ निवासी ५४ वर्षीया खिनमाया बुढाथोकीलाई धारिलो हतियार प्रहार गरी फरार रहेका २४ वर्षीय मौसम माझीलाई प्रहरीले १९ गते पक्राउ ग¥यो । साँझ ८ बजे सुकुम्वासी टोलका माझीले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

वसमा यात्रा गरिरहेका वेला पूर्व–पश्चिम राजमार्गको कनकाई–१ जुकेकल्भर्टस्थित मोरङको पथरी–१ निवासी ५५ वर्षीय वीरबहादुर राईको गोजीमा रहेको २० हजार रुपैयाँ पाकेट मार्ने दमक–९का ४८ वर्षीय मिलन अधिकारी पक्राउ परे । अधिकारीलाई प्रहरीले आवश्यक कारवाही लागि मुद्दा चलाएको छ ।

असोज १५ गते रामचौकबाट मे १० प ४७६९ नम्वरको एफजेड मोटरसाइकल चोरी भएपछि खोजी गर्ने क्रममा प्रहरीले बेलडाँगी निवासी १७ वर्षीय विवस भन्ने दिवस राईलाई मोटरसाइकलसहित पक्राउ ग¥यो । पक्राउ परेका राईलाई प्रहरीले आवश्यक कारवाही लागि मुद्दा चलाएको छ ।

असोज १५ यता बिर्तामोड क्षेत्रमा घटेका यी ५ प्रतिनिधि घटना मात्र हुन् । चाडपर्व नजिकिएसँगै यी र यस्तै घटना हुन नदिन प्रहरीले अहिले विभिन्न सुरक्षा रणनीति अपनाएको छ । शान्ति सु–व्यवस्थालाई चुस्त राख्न यस अघि पनि प्रहरीले सुरक्षा रणनीति अपनाएको थियो । सोही कारण घटना घटे लगत्तै प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले बताए । बिर्तामोड अन्य क्षेत्रभन्दा संवेदनशील भएकाले शान्ति सुरक्षाका दृष्टिकोणले प्रहरीमा चुनौति थपिएको छ ।

प्रहरीको बढ्दो सक्रियताका कारण आपराधिक गतिविधिमा कमी आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले बताए । उनले भने– ‘अपराधलाई कम गर्न टोल–टोलमा सीसी क्यामेरा जडान गरेकाले पनि ठूलो सहयोग पुगेको छ ।

प्रहरीले स्थानीय निकाय र सर्वसाधारणको सहयोगमा बिर्तामोड क्षेत्रमा मात्रै ३४ वटा सीसी क्यामेरा जडान गरेको छ । ६० वटासीसी क्यामेरा जडान गर्ने लक्ष्यसहित शुरु गरिएको अभियान निरन्तर सञ्चालनमा रहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए ।

सीसी क्यामेरा जडानसँगै विभिन्न ठूला १० घटनाको अनुसन्धानमा सहयोग मिलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न मितिमा हराएका मोवाइल सीसी क्यामेराकै फुटेजका आधारमा भेटिएको र सम्बन्धित मोवाइल धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

बिर्तामोड सडकखण्डमै भएको सवारी दुर्घटनामा मोटरसाइकल र ट्याटर आपसमा ठक्कर खाँदा क्यामेराको फुटेज हेरेर कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । यी केही अपराधका घटना भए पनि प्रहरीले नयाँ सुरक्षाा रणनीति अपनाएपछि गम्भीर प्रकृतिका घट्ना भने घटेका छैनन् ।

Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर