Aamsanchar

हल्दिवारी गाउँपालिकामा ई–रिक्सामा पनि कर ! अटोमा दोब्बर असुल्दै

Author Image
बिहिवार, कार्तिक ८, २०७५

पार्थ मण्डल / झापा ।

पटके सवारी कर असुल्ने नाममा ब्याट्रीबाट चल्ने तीन पांग्रे सिटी सफारीबाट गाउँपालिकाले कर असुल्न थालेका छन्। झापाको हल्दिवारी गाउँपालिकाले ठेक्का प्रक्रियामार्फत् सिटी सफारीबाट कर असुल्न थालेपछि सफारी चालकहरूले असन्तुष्ट पोख्न थालेका छन्।

झापाका १५ वटा स्थानीय तहमध्ये केही गाउँपालिका र नगरपालिकाले पटके सवारी कर असुल्ने ठेक्का लगाए पनि सिटी सफारीको कर लगाएको देखिदैन। तर, हल्दिवारी गाउँपालिकाले आफ्नो क्षेत्र अधिकारभित्र सञ्चालन तथा प्रवेश गर्ने सबै सिटी सफारीबाट पटके सवारी करवापत १० रुपैयाँ असुल्न थालेका छ।

सफारी चालक मुनाजिट हुसेन भने, ‘भद्रपुर नगर क्षेत्रमा सफारी चलाए कुनै कर लाग्दैन, तर महिनादिन यता भद्रपुर सीमाक्षेत्रसँग जोडिएको हल्दिवारी क्षेत्रमा प्रवेश गर्न साथ १० रुपैयाँ कर तिर्नु पर्छ।’

ब्याट्रीबाट चल्ने तीन पांग्रे सफारीबाट गाउँपालिकाले कर लिनु निर्णय सही नभएको उनले बताए। काँही नभएको जात्रा हल्दिवारी गाउँपालिकामा देखिएको छु, सफारी चालक संजिव घोषले भने, ‘पटके सवारी कर संकलनको नाममा सिटी सफारीबाट कर असुल्ने निर्णय सही होइन।’

पटकै पिच्छे सो गाउँपालिका प्रवेश गर्दा ठेकेदारले कर लिने गरेकोले यस्तो निर्णय तत्काल सच्याउन गाउँपालिकासँग सिटी सफारी चालकहरूले आग्रह गरेका छन्। यसअघि हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिले खोला, हाटबजार तथा सवारी कर नअसुल्ने मनसाय बनाएका थिए। गाउँपालिकाले खोला तथा हाटबजारको कर संकलनको ठेक्का नलगाए पनि अहिले आएर पटके सवारी कर असुल्ने ठेक्का लगाएको छ।

गाउँपालिकाले गत भदौमा सूचना प्रकाशन गरी दुईवटा नाका तोकेर सडक ठेक्का लगाएको हो। देउनिया खोला, पाराखोपी, हल्दिवारी, गोलाधाप सडक खण्डको ठेक्का एक लाख ४९ हजारमा स्थानीय राजकुमार राजवंशीलाई दिएको छ भने क्यानरी स्कुलदेखि वडावारीसम्मको सडक खण्डको ठेक्का एक लाखमा स्थानीय छत्रमान पोखरेललाई दिएको गाउँपालिका कर शाखाका कर्मचारी शिशिर भट्टराईले जानकारी दिए।

गाउँपालिकाले स्वीकृत गरेको ठेक्का दर अनुसार ट्याक्टरलाई २५, बस र ट्रकलाई ४०, भ्यान, कार र जीपलाई २०, टेम्पो, अटो र सिटी सफारीलाई १०, हाइवा ६० र टिपरलाई ५० रुपैयाँ तोकेको छ।

यता गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार गाउँपालिकाले पहिलोपटक कर संकलन गर्ने ठेक्का लगाएको हो। उनले सिटी सफारीबाट कर असुल्ने कार्य भइरहेको छ भने यसलाई तत्काल सच्याइने बताए।

गाउँपालिकाले तोकेभन्दा दोब्बर कर असुल्दै ठेकेदार

हल्दिवारी गाउँपालिकाले तोकेभन्दा दोब्बर कर असुल्दै गरेको सप्रमाण भेटिएको छ। गाउँपालिकाले तोकेको देउनिया खोला, पाराखोपी, हल्दिवारी, गोलाधाप सडक खण्डका ठेकेदार राजवंशीले सवारी साधनबाट दोब्बर कर असुल्न थालेका छन्।

गाउँपालिकाले तोकेको टेम्पो, अटोरिक्सा, सिटी सफारी शीर्षकमा १० रुपैयाँ कर तोकेको छ। तर, ठेकेदार राजवंशीले १० को ठाउँमा २० रुपैयाँ कर असुल्न थालेका हुन्।

पटके सवारी करको नाममा एउटै अटोरिक्साबाट जति पटक प्रवेश गरे, त्यती पटक कर असुल्दा अटोरिक्सा चालक मारमा परेका छन्। अटोरिक्सा चालक रजत रायले भने, ‘भद्रपुर नगरपालिकामा दिनमा एकपटक १० रुपैयाँ कर तिरे पुग्छ, तर हल्दिवारीमा ठेकेदारले दादागिरी शैलीमा पटकै पच्छिे कर असुल्न थालेका छन्।’ यतिसम्म कि गाउँपालिकाको पटके सवारी करको रसिद नम्बर २५७४ मा अटोरिक्साबाट २० रुपैयाँसम्म कर लिएको प्रमाण फेला परेको छ।

सो कर रकम चालक रायले तिरेका हुन्। ठेकेदारले कुनै अटोरिक्साबाट १० रुपैयाँ कर लिन्छन भने कुनैबाट १५ वा २० रुपैयाँसम्म कर लिनेको गरेकोले करमा एक रूपता नभएको चालकहरूले गुनासो पोख्न थालेका छन्।

ठेकेदारले प्रयोग गरेको गाउँपालिकाको रसिदमा रकम उल्लेख नभएको बिलसमेत काट्ने गरेको फेला परेको छ। ठेकेदारले आफैँले हस्त लिखितबाटै रकम भरेर बिल दिनेको गरेको समेत प्रमाण भेटिएको छ।

यसरी ठेकेदारले कर संकलनको नाममा सवारी साधन चालकमाथि ज्यादती गरेपनि यसतर्फ गाउँपालिकाले अहिलेसम्म कुनै कानुनी कदम चलाएको छैन। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले दररेटभन्दा बढी रकम असुली गर्ने ठेकेरदारलाई कारबाही गरिने बताए। उनले भने, ‘गाउँपालिकाले तोकेको दररेट भन्दा बढी रकम असुल्ने ठेकेदारलाई कारवाही गर्छौँ।

त्यस्तै गाउँपालिका अध्यक्ष लिङ्देनले गाउँपालिकाको निर्णयविपरीत कार्य गर्न ठेकेदारलाई कारवाही गरिने बताउँदै करको विषयमा गाउँपालिकामा पुनः छलफल गरिने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर