Aamsanchar

झापामा रक्सी बेच्ने र सेवन गर्ने अब कार्वाहीमा !

Author Image
शुक्रवार, कार्तिक ९, २०७५

झापा।

मदिराको बढ्दो प्रयोग स्वास्थ्यका लागि हानिकारक भएको जान्दा जान्दै पनि अधिकांशले कुनै न कुनै वहानामा मादक पदार्थ सेवन गरिरहेका हुन्छन् ।

पछिल्लो समय मदिरा सेवन गरी सवारी चलाउनेको संख्या पनि देशभर नै बढ्दो छ । त्यसमा झापाली पनि अछुता छैनन् । मदिरालाई ‘वल्र्ड एक्सेप्टेड सोसल ड्रिंक्स’ का रूपमा लिइन्छ । यसको प्रयोग विश्वभरि नै हुने गरेको छ । विशेषगरी नशाका रूपमा यसको सेवन गरिन्छ । मदिराको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधिमा समेत सम्लग्न हुने गरेका छन् । यस्तो वेथिति बढ्दै गएपछि अब अनुमति बिना मदिराको विक्री वितरण गर्ने र मदिरा सेवन गरेर जथाभावी गर्ने तथा सवारी चलाउने कार्वाहीमा पर्ने भएका छन् ।

बढ्दो मदिरा सेवन नै अपराधको मुख्य कारण भएको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय झापासहित १५ वटै स्थानीय तहले माघ १ गतेबाट झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरिरहेको छ ।

झापामा वार्षिक कति मदिरा खपत हुन्छ त्यस्को कुनै तथ्याङ्क छैन । तर, चोक–चौकमा खुलेका पसलेले खुलेआम रुपमा मदिरा विक्री वितरण गरिरहेका छन्् । एक सहकारी संस्थासहित १ हजार ६ सय ८२ वटा फर्मले मदिरा विक्रीका लागि आन्तरिक राजश्व कार्यालय मेचीबाट इजाजत नै लिएका छन् ।

मदिरा सेवन गरी सवारी सञ्चालन गर्नै नपाइने नियम छ । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तीन वर्षे तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या उच्च छ । आर्थिक वर्ष २०७२÷०७३ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ सय ४३ जना कारवाहीमा परे । उनीहरुलाई ट्राफिक प्रहरीले कारवाही गर्दा ८ लाख ४३ हजार रुपैयाँ जरिवाना असुल भयो ।

यता आर्थिक वर्ष २०७३÷०७४मा एक हजार ४ सय ५० जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने कारवाहीमा परे । उनीहरुलाई कारवाही गर्दा १४ लाख ५० हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कालीदाश रेग्मीले बताए । आर्थिक वर्ष २०७४÷०७५ मा मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने एक हजार चार सय ९० जना सवारी चालक कारवाहीमा परे । उनीहरुबाट ट्राफिक प्रहरीले १४ लाख ९० हजार रुपैयाँ जरिवाना असुल्यो ।

चालू आर्थिक वर्षको तीन महिनामा ६ सय ९६ जना सवारी चालक मापसेमा कारवाहीमा परे । उनीहरुबाट पनि प्रहरीले ६ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गर्यो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक महिना झण्डै दुई सय ५० सवारी चालक मापसेमा कारवाहीमा पर्ने गरेका छन् । तर, ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई कडाई गरेपछि चार्डवाडमा मापसे सेवन गरी सवारी चलाउने कमै भेटिए । जसका कारण दुर्घटना समेत घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर