Aamsanchar

सासू–बुहारी बेपत्ता पछि बुहारी मृत फेला

Author Image
बिहिवार, कार्तिक १५, २०७५

बैतडी, 

बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् ।

मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट रहेकी छन् ।

बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

दुवै रातिसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

निर्मलाकी सासू पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन् । बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर