Aamsanchar

झापामा लागूऔषध दुर्व्यसनीमा महिला बढ्दै

Author Image
आइतवार, कार्तिक २५, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड ।

नेपाल–भारत सीमा जोडिएको झापामा पछिल्लो समय लागूऔषध प्रयोगकर्ता बढ्दै गएका छन् । सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार तथा प्रयोगकर्ता दिनानुदिन बढेपछि अहिले सर्वत्र चिन्ताको विषय बनेको छ ।

प्रहरीले तीन महिनाको अवधिमा झापाका विभिन्न स्थानबाट लागूऔषधका दुव्र्यसन ६४ जनालाई पक्राउ गरेको छ । चालूआर्थिक वर्ष २०७५÷०७६को तीन महिनामा पक्राउ परेका मध्ये ३६ जनालई मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने– प्रहरीले सीमा नाकामा निगरानी बढाइरहेको छ । भारतीय बजारमा गएर लागूऔषध खाएर आउँछन्, केहीले लुकाएर ल्याएको खण्डमा पक्राउ गरेर कारबाही अघि बढाउँछौं । पछिल्लो समय लागूऔषधको प्रयोगकर्तामा महिलाको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०७४÷०७५मा तीन जना मात्र महिला पक्राउ परेकामा चालू आर्थिक वर्षको तीन महिनामा नै ७ जना महिला पक्राउ पर्नुले महिलाहरुको संलग्नता बढ्दै गएको प्रहरी उपरीक्षक ढकालले बताए ।

अघिल्लो आर्थिक वर्षमा एक सय ७८ जना पक्राउ परेकामा एक सय २५ जनालाई मुद्दा दर्ता गरिएको थियो । प्रहरीको सक्रियता जति बढे पनि लागूऔषधको दुव्र्यसनी घट्नुको सट्टा झन बढ्दो छ । यसले गर्दा हजारौंं युवायुवती लागूऔषधको लतमा फसेर जीवन वर्वाद पारिरहेका छन् भने घरपरिवारलाई पनि पीडामा राखेका छन् । यसको नियन्त्रणका लागि जति प्रयास भए पनि समाधान हुन नसक्दा प्रहरीले पछिल्लो समय विद्यालय तहमा नै विभिन्न अभियान सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।

प्रहरीले सेवनकर्ता र कारोबारी दुबैलाई कारवाही गर्ने गरेको जनाइएको छ । सेवनकर्ता शुरुको अवस्थामा भए परामर्श दिई अभिभावकको जिम्मा लगाउने, पटके भए सुधारगृहमा पठाउने र साथमा लागूऔषधसहित भेटिएमा प्रहरीले कारबाहीका लागि अनुसन्धान अगाडि बढाउने गरेको छ । लागूऔषधले जीवन वर्वाद पार्ने भएकाले सबै मिलेर यसको नियन्त्रणमा लाग्नु पर्ने प्रहरी उपरीक्षक ढकालले बताए ।

नेपालमा एक लाख ५० हजार लागूऔषध दुव्र्यसनी रहेको अनुमान गरिएको छ । प्रहरीका अनुसार, गत एकवर्षमा २० वर्षभन्दा मुनि उमेर समूहका ३६ जना दुव्र्यसनी, २१–३० वर्ष उमेर समूहका ९८ जना, ३१–४० वर्ष उमेर समूहका २९ जना, ४१–५० वर्ष उमेर समूहका ७ जना र ५० वर्षभन्दामथिका २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । चालू आर्थिक वर्षमा पनि २१–३० वर्ष उमेर समूहका ३४ जना पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

चुरोट, रक्सी र गाँजाबाट शुरु हुने लागूऔषधको लत चरेस, हेरोइन हुँदै औषधिका साथै औषधिका रूपमा पनि प्रयोग हुने लागूऔषध प्रयोग गर्ने गरेको पाइएको छ । औषधिजन्य लागूऔषध डाइजेपाम, ब्रुफ्रिन र फेनारगन, सुई (सिरिन्ज) को लतमा युवापुस्ता फस्दै गएको विभिन्न तथ्याङ्कले पुष्टि गरेको छ । लागूऔषधका कारण घरपरिवार र समाजमा झैझगडा, द्वन्द्व र अशान्तिसँगै चोरी, डकैती, लुटपाट, आगजनी, काटमार र तोडफोड, बलात्कार, आत्महत्या जस्ता जघन्य अपराध हुने गरेका प्रहरीले जनाएको छ ।

त्यस्तै, एचआईभी÷एड्स, यौनजन्य अन्य रोग, हेपाटाइटिस बी र सी, क्षयरोग तथा मानसिक रोग लगायत प्राणघातक रोग समेत लाग्ने गरेका चिकित्सकहरुको भनाइ छ । यसका कारण विश्वमा बर्षेनि साढे दुई लाख मान्छे लागू औषधको कुलतमा फस्ने गरेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को तथ्याङ्कमा विश्वमा १४ करोड लागूऔषध दुव्र्यसनी रहेको पाइएको छ ।

लागूऔषधका प्रकार

नेपालमा स्वदेशी र विदेशी गरी छ किसिमका लागूऔषध पाइन्छन् । हेरोइन (सेतो र खैरो), कोकिन, अफिम, चरेस÷गाँजा र औषधिजन्य लागूऔषध । चरेस÷ गाँजा र अफिम नेपालमै उत्पादन हुन्छ । अफिम अन्य मुलुकबाट समेत आयात हुने गरेको छ ।

गाँजा र चरेसपछि बढी मात्रामा औषधिजन्य लागू औषधको प्रयोग हुने गरेको छ । औषधिजन्य लागूऔषधमा डाइजेपाम, एम्फेटामाइन (स्युडो), बु्रफिनर्फिन, कोडिन, नाइट्रोसन, लुपिजेसिक, फेनारगन, नाइट्रोजेपाम, कोरेक्स र स्पास्मो गरी १२ भन्दा बढी किसिमका छन् । नेपाल–भारत खुला सीमानाका कारण सहजै रूपमा भित्रिने यस्ता लागूऔषध सस्तो मूल्यमै सहज रूपमा पाइने भएकाले नेपाली युवाले बढी मात्रामा प्रयोग गरेको पाइन्छ ।

फितलो कानूनी कारबाही

लागूऔषध (नियन्त्रण) ऐन, २०३३को दफा ४मा लागूऔषध सम्बन्धी कसुर तथा सजायको व्यवस्था रहेको छ । लागूऔषध सेवन, कारोवार, निकासी, पैठारी र भण्डारणलगायतका कामलाई निषेध गरेर लागूऔषधका किसिम, सेवन, कारोबार, उत्पादन र परिमाणका आधारमा पृथक सजाय हुने व्यवस्था छ ।

सजाय तोक्दा अपराधको मात्रालाई हेरेर न्यूनतम एक वर्ष जेल सजायदेखि एक लाख रुपैयाँसम्म जरिवाना छ । यो सजायमा पनि तजविजको अधिकार न्यायाधीशलाई दिइएको छ । अन्य मुलुकमा लागूऔषध ओसारपसार र कारोबारलाई जघन्य अपराधको रूपमा लिने गरिएको छ । अन्तर्राष्ट्रिय आपराधिक समूहले पनि विश्वका अन्य देशमा लागूऔषध निर्यात गर्न नेपाललाई ‘ट्राञ्जिट प्वाइन्ट’ बनाउने गरेको पाइन्छ ।

के गर्न सकिन्छ ?

लागूऔषध सेवन र कारोबारमा किशोर उमेरका युवायुवती फस्नुको मुख्य कारणमा ५० प्रतिशत कमजोरी अभिभावकको देखिन्छ ।

त्यसपछि मात्र साथीसङ्गी, बढ्दो उमेर, लहड, रहर, फ्रस्टेसन र फरक जीवनशैली लगायतका कारण पर्छन् । अभिभावकले बालबालिकाको भविष्यप्रति चिन्ता लिए जति उनीहरूका क्रियाकलापप्रति चासो र चिन्ता नलिएकै कारण स्वतन्त्र वातावरणसँगै बिग्रिने र कुलतामा फस्ने सम्भावना बढी हुन्छ ।

गाँउमा भन्दा शहरमा धेरै

झापाका गाँउमा भन्दा शहरमा लागूऔषध प्रयोग कर्ता धेरै रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार गतआर्थिक वर्षमा शहरबाट एक सय २३ जना पक्राउ पर्दा गाउँबाट ५५ जनालाई पक्राउ गरिएको थियो ।

त्यस्तै चालूआर्थिक वर्षको तीन महिनामा शहरबाट ५२ जना पक्राउ पर्दा १२ जना गाउँबाट पक्राउ परेको प्रहरी उपरीक्षक ढकालले बताए । शहरी क्षेत्रमा विभिन्न व्यक्तिहरुको गलतसंगतमा लाग्दा धेरै वा युवतीहरु पनि कुलतमा फस्ने गरेको प्रहरीको भनाइ छ ।

Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर