(केशव भट्टराई) झापा ।

झापा भद्रपुरकी मनिषा कार्की मेची क्याम्पसमा वि एस्सी तेश्रो वर्षकी विद्यार्थी हुन् । कलेजको नियमित पढाइका अलावा आजभोली उनी हस्तकलाका केही सामाग्री निर्माण गर्न थालेकी छिन् । सामान्तया यसै खेर जाने वस्तुहरुलाई कलात्मक प्रस्तुती दिने कार्य उनको दिनचर्या सँग जोडिन पुगेको छ ।
“ दिनको २ घण्टा मैले हस्तकलाका विभिन्न सामाग्री निर्माणमा छुट्टयाएकी छु ”,मनिषा भन्छिन् “म वातावरणको पनि विद्यार्थी भएकाले हाम्रै परिशरमा पाइने बोटविरुवा र अन्य सामग्रीबाट यो कलात्मक प्रस्तुती दिन सकिन्छ ।”
मनिसा जस्तै भद्रपुरकी उर्मिला राजवंशी पनि सनपाट पटिया (एकप्रकारको घाँस), बाँस र नाइलनका माध्यमबाट आकर्षक झोला, हेण्डब्याग, फायल, कलम, कलमदानी लगायतका सामग्री बनाउदैआएकी छिन् । श्रीमानले बनाउने गरेको हस्तकलाका सामग्री देखेर प्रभावित उर्मिलाले विगत सात वर्षयता यो पेशालाई गरिखाने मेलोका रुपमा अंगालेकी छिन् ।

आफ्नै हातले बनाएका घरायसी र कार्यालय प्रयोजनमा चाहिने यी सामग्री देखेर धेरै मानिस लोभिने गरेको उनीहरुको अनुभव छ । मनिसा र उर्मिला जस्तै धेरै महिला मात्र होइन झापाका विभिन्न स्थानमा पुरुषहरु पनि कलात्मक हस्तकलाका सामग्री निर्माणमा संलग्न छन् । उनीहरुले निर्माण गरेका कतिपय सामग्री विदेशमा पनि बिक्री हुदै आएका छन् ।
यी सामग्री निर्माणमा यहीँ उपलब्ध हुने सनपाट, बाँस, पटिया सँगै खेर जाने कपडाका टुक्रा र चुराहरु पनि प्रयोग हुने गरेका छन् । विगत लामो समय यता बाँसको जराबाट आकर्षक सजावटका सामग्री उत्पादन गर्दैै आएका भद्रपुरका संजय प्रधान आजभोली पटियाको ब्याग बनाउन पनि सक्रिय छन् । उनका अनुसार धेरै महिलाहरुले यो कला सिकेर रोजगारी पनि पाएका छन् । पछिल्ले समय नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरी झापाका केही स्थानमा हाते ब्याग, फायल, थर्मस ब्याग, कलम र कलमदानी निर्माण हुँदै आएको प्रधानको भनाई छ । त्यसो त प्रधानले झापासहित विभिन्न स्थान पुगेर धेरैलाई हस्तकला सम्बन्धि प्रशिक्षण पनि प्रदान गरिसकेका छन् ।
हस्तकलाबाटै आकर्षक घरायसी सामग्री उत्पादन गर्न सकिन्छ भन्ने उद्येश्यले २०६१ सालमै समुन्नत नेपाल नामक गैरसरकारी संस्थाले विभिन्न प्रशिक्षण प्रदान गरेको थियो । समुन्नत नेपालकी प्रशिक्षक देविका बुढाथोकीका अनुसार मेची र कोशीका विभिन्न जिल्लामा २१ सय भन्दा धेरै मानिसले हस्तकलाका सामग्री उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । उनका अनुसार स्वदेशी लगानी र उत्पादनलाई सरकारी कार्यालयले खरिद गरेर प्रयोग गर्ने प्रचलन पनि शुरु भएको छ ।
“हामी आफै विभिन्न कार्यालयमा गएर हाम्रा उत्पादन प्रयोग गर्न आग्रह गर्दछौँ तर जति प्रयो हुनुपथ्र्यो त्यति भएको छैन । विशेषत उद्यमशीलतालाई नै प्रवद्र्यन गर्ने उद्येश्यले स्थापित नेपाल उद्यमशील महिला महासंघकी महासचिव समेत रहेकी बुढाथोकी हस्तकलाको उत्पादनलाई व्यवस्थित बजारीकरणका लागी आफ्नो पहिलो प्राथमिकता रहने बताउछिन् ।
सामान्य प्रयोगपछि खेर जाने र नपत्याइएका हाम्रै वरपर पाइने सरसामग्री भेला पारेर घर सजावट र कार्यालय प्रयोजनका निमित्त आवश्यक वस्तुहरु उत्पादन गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् यि उद्यमी हातहरुले ।
उद्यमी हात र कलाले सजिएका यिनै सामग्रीलाई राज्यले प्रोत्साहन र प्रबद्र्धन गर्न सके न जागीरका लागी कतै भौतारिनु पथ्र्यो न त बैदेशिक रोजगारी कै लागी जानु पथ्र्यो । स्वदेशी उत्पादनमा स्वदेशी रोजगार निर्माण गर्न भने राज्यकोृ सम्बन्धित निकायले विशेष चासो भने दिनै पर्छ ।



