Aamsanchar

धर्म परिवर्तन बिरुद्ध कठोर बन्दै गृह मन्त्रालय

Author Image
बुधवार, कार्तिक २८, २०७५

काठमाडौं,

सरकारले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गराउने ३ विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाई निस्काशन गर्ने भएको छ। पछिल्लो पटक इसाई धर्म प्रचारका क्रममा नियन्त्रणमा लिइएका दुई जापानी महिला मारी इकुरा र यासुको ओबा तथा र अस्ट्रेलियाई युवती क्याटिया ग्रानलाई गृह मन्त्रालयले डिपोर्ट गर्ने तयारी गरेको छ।

ती जापानीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाउने गृहको तयारी छ। अध्यागमन विभागले धर्म प्रचार गर्ने जापानीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। धर्म परिवर्तन गराउने नेपालीमाथि समेत कानुनअनुसार कारवाही गर्ने तयारी गृहको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ

अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले धर्म प्रचारको आरोपमा पक्राउ जापानीलाई निस्काशनको तयारी भइरहेको बताए। उनले भने, ‘निस्काशन प्रस्तावसहितको फाइल गृह मन्त्रालयमा पठाएका छौं।’ बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबलसहित धर्म प्रचार गरिरहेका बेला उनीहरू कात्तिक १८ गते पक्राउ परेका थिए।

हिन्दु धर्मको कडा विरोध गर्दै हिँडेका उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। नेपाली प्रष्ट बोल्ने उनीहरू पर्यटक भिसा लिएर धर्म प्रचार गर्दै आएको पुष्टि भएको छ। सुकुम्वासी बस्तीमा धर्म परिवर्तन गराउँदा उनीहरूले आर्थिक प्रलोभन देखाएका थिए।

त्यही आरोपमा सोमबार बर्दियाको गुलरियामा पक्राउ अर्की अस्ट्रेलियाली ग्रानसमेत अध्यागमनको हिरासतमा छिन्। विद्यार्थी भिसामा बसेकी उनले धर्म प्रचार गरेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले कारवाहीका लागि काठमाडौंस्थित अध्यागमनमा पठाएको छ। व्यापारिक, पर्यटक, विद्यार्थीलगायत भिसा लिएर इसाई धर्म प्रचारमा विदेशीको संलग्नता भेटिएपछि गृहले उनीहरूमाथि कडा निगरानी गर्ने भएको छ।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर