Aamsanchar

कनकाई थप चितास्थलको शिलान्यास

Author Image
आइतवार, मंसिर ९, २०७५

सुरुङ्गा।

पूर्वकै प्रसिद्ध नदी कनकाई माईको पूर्वी तटमा रहेको कनकाई घाटमा थप चितास्थल निर्माणको लागि शिलान्यास गरिएको छ ।

शनिवार एक कार्यक्रमकाबीच वैदिक मन्त्रोच्चारणसहित थप चितास्थलको शिलान्यास गरिएको हो । विर्तामोड पञ्चकन्या निवासी तिलरुपा खड्काले आफ्नो खर्चमा विश्रामस्थलसहितको चितास्थल बनाउने प्रतिबद्धतासहित आफैले शिलान्यास गरेकी हुन् । विश्रामस्थल र चितास्थल निर्माणका लागि ३०देखि ४० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

यस सम्बन्धी दाता र कनकाई घाट समितिबीच सम्झौता पनि सम्पन्न भइसकेको कनकाई घाट समितिका कार्यालय सचिव खेम शिवाकोटीले जानकारी दिए । विभिन्न मन्दिर तथा धार्मिकस्थल निर्माणमा खुला हृदयका साथ सहयोग गर्दै आएकी तिलरुपा बिर्तामोड क्षेत्रमा उदार मन भएकी महिलाका रुपमा परिचित छन् । उनी झापाका लोकप्रिय वामपन्थी नेता स्वर्गीय गौरीशंकर खड्काकी भाउजू हुन् ।

बिर्तामोड क्षेत्रमा खड्का परिवार सामाजिक तथा राजनीतिक क्षेत्रमा अग्रणी मानिन्छ । हाल २ वटा मात्र चितास्थल भएको र दिनहुँ १२ वटासम्म शवहरु ल्याइने भएकाले समस्या भइरहेको बेला घाट समितिको प्रस्तावलाई स्वीकार गरी तिलरुपाले थप चितास्थल बनाउने संकल्प लिएकोमा कोषाध्यक्ष केदार गिरीले तिलरुपा र सम्पूर्ण खड्का परिवारलाई धन्यवाद दिए ।

शिलान्यास कार्यक्रममा तिलरुपाले विश्रामघरसहित चितास्थल निर्माणमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने र कनकाई घाट समितिले बनाएको इञ्जिनियरिङ नक्सा बमोजिम आफैं सरिक भएर सम्पूर्ण निर्माण सामग्री जुटाएर निर्माण कार्य सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने बताइन् । निर्माण कार्यलाई सहजीकरण गर्न घाट समितिका सचिव सूर्य उप्रेतीको संयोजकत्वमा ७ सदस्यीय चितास्थल निर्माण समिति गठन गरिएको जानकारी दिइयो । निर्माण समितिको सदस्यहरुमा दाता तिलरुपा खड्का, कनकाई नगरपालिका वार्ड नं. ४का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, घाट समितिका पदाधिकारीहरु युवराज संग्रौला, मेनुका मैनाली र सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्य छन्दुराम भण्डारीले संकल्प वाचन गरी वैदिक मन्त्रसहित शिलान्यास गरिएको कार्यक्रममा समाजसेवी गोपालकुमार बस्नेतले मृत्युपश्चात पनि सहज दाहसंस्कारका लागि सहयोग पु¥याउने उद्देश्यका साथ चितास्थल बनाउने कार्य पुण्यकार्य भएको बताए । घाटसमितिका सदस्य समेत रहेका मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले मारवाडी सेवा समितिले अर्को एक चितास्थल र विश्रामगृह बनाउनका लागि मारवाडी बन्धुहरु वीचमा सरसल्लाह भइरहेको र कार्यसमितिबाट निर्णय भएपछि मात्र घोषणा गरिने बताए ।

घाटसमितिका उपाध्यक्ष युवराज संग्रौलाले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा घाट समितिका पदाधिकारी, विर्तामोड र सुरुङ्गा क्षेत्रका विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । शिलान्यास कार्यक्रमका अध्यक्ष समेत रहेका कनकाई घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले शिलान्यास गरिएको थप चितास्थलको निर्माण कार्य यो आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन घाटसमितिका सचिव सूर्य उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर