Aamsanchar

शिलान्यासको आठ महिनामा पनि निर्माण शुरु भएन पुल

Author Image
बिहिवार, मंसिर १३, २०७५

फायल फाेटाे : शिलान्यास अघि भुमि पुजन गर्दै प्नधानमन्त्री केपी शर्मा अाेली

बिर्तामोड।

ठेकेदारको अत्तोपत्तो नहुँदा झापाको अर्जुनधारा र बुद्धशान्ति जोड्ने पुलको निर्माण कार्य शुरु हुन सकेको छैन् ।

गत बैशाख १८ गते तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा झापाको बिरीङ खोलामा पक्की पुलको शिलान्यास गरिएको थियो । प्रधानमन्त्रीबाट २३ करोड ६९ लाखको लागतमा अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका जोड्ने दुई सय मिटर लामो पुलको शिलान्यास भएको थियो ।

शिलान्यासको समयमा बर्षाैदेखिको आवश्यकता पूरा हुने भएपछि त्यहाँ उपस्थित हजारांै सर्वसाधारण हर्षित देखिएका थिए । उनीहरु पुल बन्ने भएका कारण बर्षायाममा हिँडडुल सहज हुने आशाका साथ खुशी भएका थिए । गत असारदेखि निर्माण शुरु भएर तीन बर्षमा हस्तान्तरण हुने सहमतिका साथ काठमाडौंको वाइबा ईलाइट जेभीले ठेक्का लिएको बताइएको थियो ।
शिलान्यासको आठ महिना बित्नलाग्दा पनि पुल निर्माण शुरु हुनु त परको कुरा ठेकेदार कम्पनी त्यस स्थानमा आएको समेत छैन् ।

शिलान्यासमा उपस्थित भएको ठेकेदार कम्पनीबाट आठ महिना बित्नलाग्दा पनि काम शुरु नभएपछि स्थानीय बासिन्दाको पुल निर्माण हुने अपेक्षा पूरा नहुने भएको छ । स्रोतका अनुसार लगभग एक करोडभन्दा बढी मोविलाइजेशन शुल्क बिभागबाट लिएको ठेकेदार कम्पनी हालसम्म कागज मिलाउनै ब्यस्त भएपछि समयमा पुल निर्माण सम्पन्न हुने आशा संकटमा परेको हो ।
यसैबीच पुल बिभागका प्रदेश प्रमुख अर्जुन अर्यालले अरुभन्दा फरक भएकाले उक्त पुलको ठेक्का प्रक्रिया लम्बिएको बताएका छन् ।

उनले बिभागले बिस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर ठेक्का लगाएपछि निर्माण कम्पनीले फेरि डिपिआर बनाउनुपर्ने प्रक्रियाका कारण ढिलो भएको जानकारी दिए । ‘मलाइ धेरै त थाहा छैन, ठेकेदार कम्पनीले तीन पटकसम्म डिपिआर बनाएर विभागमा पेश गरिसकेको छ भन्ने सुनेको छु’ –अर्यालले भने– ‘बिभागले चित्तबुझ्दो डिपिआर नभएका कारण फर्काएको हो । ठेकेदार कम्पनीबाट विभागको मापदण्ड बमोजिमको डिपिआर आएपछि स्वीकृत हुन्छ र त्यसपछि निर्माण शुरु हुन्छ ।’

अर्यालले शुरुको नौ महिना स्वीकृतिका लागि छुट्याएको भए पनि निर्माणका लागि दुई बर्ष तीन महिनाको समय काफी हुने दावी गरे । यो अरु ठेक्का जस्तो प्रकृतिको नभएका कारण फरक प्रक्रियाले अनौठो लागेको अर्यालको भनाई छ ।

यता पुल निर्माण हुँदै गरेको क्षेत्रका पूर्वसांसद प्रेम गिरीले ठेकेदार संस्थाले लागत बढाउनका लागि ढिलो गरेको आरोप लगाएका छन् । ‘मोविलाइजेशनबापतको रकम लिएर चलाउने, एलेभेन्थ आवरदेखि काम शुरु गर्ने, समयमा नसक्ने, अनि मूल्य समायोजनका लागि दबाव दिने परिपाटी अनुसार यो काम शुरु नभएको हो’ –गिरीले भने– ‘निर्माण कम्पनीले बन्द हड्तालका कारण काम गर्न पाएनांै भनेर कागजात मिलाउन एकजना कर्मचारी नै राखेका हुन्छन् ।’ बिकास निर्माणमा नीतिगत भ्रष्टाचार रहेको आरोप उनले लगाए ।

पूर्वसांसद गिरीको पहलमा त्यस स्थानमा पुलका लागि बजेट आएको हो । उनले उक्त स्थानमा पुल निर्माण भए दक्षिणी इलाम तथा उत्तरी झापाका धेरै बासिन्दालाई सहज हुने बताए । सबै काम सकिए पनि ठेकेदारको कमजोरीकै कारण काम हुन नसकेको उनको भनाइ छ । पूर्वाञ्चलसँग कुरा गर्दै गिरीले भने– ‘पुलका साथै अन्य विषयका बारेमा जानकारी लिन म बिहीबार काठमाडौं जाँदैछु ।’ उनले प्रधानमन्त्रीलाई शिलान्यास गर्न लगाएर यत्रो समयसम्म निर्माण शुरु नगर्नु निर्माण कम्पनीको लापरवाही भएको आरोप लगाए ।

यसैबीच पुल बिभागका महानिर्देशक अर्जुनजंग थापाले अब छिट्टै निर्माणको काम शुरु हुने बताएका छन् । उनले पुलका लागि आवश्यक बजेट विनियोजन नभएको जानकारी दिँदै अब बजेट निकासा गरेर निर्माण शुरु नगरे निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख १८ गते झापाका चार स्थानमा एक अर्बभन्दा बढी लागतका आयोजनाको शिलान्यास तथा उद्घाटन गरेका थिए । अन्य क्षेत्रका आयोजना धमाधम बनेपनि वाइबा इलाइट जेभीले भने– ‘निर्माण शुरु गर्न बिलम्ब गरेको हो ।’ सरकारले समृद्ध नेपालको सपना देखाए पनि ठेकेदारले समयमा नै काम शुरु नगर्नुले सरकारलाई नै असहयोग गरेको देखिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर