Aamsanchar

‘तुर्साको त्याग र इमान्दारिता अनुकरणीय’

Author Image
आइतवार, पौष २२, २०७५

तीर्थराज खरेल / सुरुङ्गा।

झापाली प्रजातन्त्रवादी योद्धा तुर्सा हेमरमको २१ औं स्मृति दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तुर्सा हेमरम स्मृति प्रतिष्ठानले कनकाई नगरपालिका–१ कालीमुडामा शुक्रवार आयोजना गरेको कार्यक्रममा नेपाली लोकतान्त्रिक आन्दोलनका चर्चित व्यक्तित्व हेमरमले पु¥याएको योगदानको बारेमा सहभागी वक्ताहरुले चर्चा गरेका थिए ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि बी.पी. कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोगेका हेमरमको योगदानलाई नेपाली कांग्रेस र प्रजातन्त्रका पक्षधरले बिर्सन नहुनेमा सबैको जोड थियो । कार्यक्रमका वक्ताहरुले तुर्सा हेमरमलाई लोकतन्त्रवादी अनुकरणीय आदर्श नेताका रुपमा चित्रण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का प्रमुख डा. गोविन्द सुब्बाले तुर्साको आदर्श पछ्याउन सके मुलुकले सही दिशा लिने बताए । डा. सुब्बाले तुर्सा आदिवासी जनजातिका लागि मात्र नभएर समस्त मुलुकवासी र लोकतन्त्रका लागि जीवन अर्पण गरेका व्यक्ति भएको र अल्पसंख्यक तथा आदिवासीको हकअधिकार नेपालको संविधान २०७२ मा प्रत्याभूत गरिएको तर व्यवहारमा कार्यान्वयन नभएको बताए ।

उनले प्रजातन्त्रको लागि मरिमेट्ने महान व्यक्तिको रुपमा तुर्साको प्रशंसा गरेका थिए । उनले भने, ‘संविधानमा प्रदत्त हकअधिकार आदिवासी÷जनजातिको जीवनमा कार्यान्वयनमा आएमा मात्र तुर्साको सपना पुरा हुनेछ ।’

कार्यक्रमका विशेष अतिथि नेका झापाका पुराना नेता पूर्णानन्द शर्माले तुर्सालाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने, चट्टानी अडान भएका, इमान्दार, व्यक्तिगत लोभलालच नभएका, स्वतन्त्रता पक्षधर नेता भएको स्मरण गरे । आदर्श नेताको छबि बनाएका तुर्सासँगै जेलनेलको दुःखकष्ट बेहोरेका शर्माको विचारमा हेमरमले आफ्नो सम्पूर्ण जीवन देश, जनता र लोकतन्त्रका लागि समर्पित गरेका थिए ।

उनले वर्तमान नेपाली राजनीतिमा निष्ठा र आदर्शप्रतिको बफादारितामा कमी भइरहेकोले प्रजातान्त्रिक समाजवादका सच्चा अनुयायी रहेका तुर्साको जीवनबाट प्रेरणा लिनुपर्ने बताए ।

कार्यक्रममा तुर्सा हेमरमका छोरा बलराम हेमरमलाई प्रजातन्त्रको लागि पु¥याएको योगदानको कदर गर्दै फूलमाला, अबिर र सम्मानपत्रले सम्मान गरिएको थियो । सो कार्यक्रम प्रतिष्ठानको सभाहल सहितको सामुदायिक भवन निर्माण गर्ने स्थलमा सम्पन्न भएको थियो । उक्त स्थानमा गत वर्ष नै तुर्सा हेमरमको शालिक निर्माण गरी अनावरण समेत भइसकेको छ ।

स्थानीय समाजसेवीहरु मातृकाप्रसाद सिटौला, उमाप्रसाद सिटौला र सावित्रा ओलीले उक्त साढे ३ कठ्ठा जग्गा प्रदान गरेका छन् । नेपाल महिला संघ झापाको अगुवाइमा सो शालिक निर्माण गरिएको बताइएको छ । सो शालिकको डिजाइन तथा निर्माण चर्चित मूर्तिकार हिम्मत नेम्बाङले गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकी, झापा सभापति उद्धव थापा, प्रदेश सभासद् ओमप्रकाश सराबगी, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, सन्थाल विकास समिति झापाका अध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बडाराम हेमरम, सन्थाल नेता लखन हेमरम, महिला नेतृ टीका मैनाली, राप्रपा केन्द्रीय सदस्य राजकुमार पोखरेल लगायतले लोकतन्त्रप्रति समर्पित आदिवासी नेता तुर्साले लोकतन्त्र र समग्र मुलुकका लागि गरेको योगदानलाई सम्झन र अनुशरण गर्न आवश्यक रहेको र त्यसो गर्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

को हुन् तुर्सा हेमरम ?

वि.स. १९७४ मा भारतको दुम्का जिल्लामा जन्मेका तुर्सा हेमरमले बी.पी. कोइरालाको निकटमा रही प्रजातान्त्रिक आन्दोलनमा अगुवा सेनानीको रुपमा काम गरेका थिए । उनी आफ्ना आमाबुबाको साथ लागेर ४÷५ वर्षको उमेरमा नेपाल आएका थिए । हेमरमलाई प्रसिद्ध समाजवादी चिन्तक सी.के.प्रसाईंले समेत राजनीतिका गुरु मान्ने गरेका थिए । सीकेसँगको संसर्गमा संकोच नभएको, भेदभाव नगरिएको र समस्यामा आर्थिक, भौतिक र वैचारिक सहयोग पाएको हेमरम बताउने गर्थे । हेमरमले २००६ सालमा बीपीलाई भेटेका थिए ।

राणाशासन विरोधी सशस्त्र संघर्ष र त्यसपछिका २०१४ सालको भद्र अवज्ञा, २०१५ सालको आम चुनाव र तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र हरण गरेपछि पनि नेपाली कांग्रेसको छातामुनि हेमरम क्रियाशील रहे । प्रजातन्त्र अपहरणपछि उनले पञ्चायती शासकहरुको ठूलो यातना सहनुपरेको थियो ।

उनले जतिसुकै दमन, अन्याय र जेलको यातना भए पनि लोकतन्त्रप्रतिको निष्ठालाई कहिल्यै त्यागेनन् । २०४९ साल फागुन ३ गतेदेखि झापाको कलबलगुडीमा शुरु भएको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले नपढेको आदिवासीको छोरा भएर पनि तुर्साले लोकतन्त्र, नेपाली कांगे्रस र मुलुकको लागि ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । स्व. हेमरम मुलुकको समस्त विकासका लागि निष्ठावान र प्रजातन्त्रका इमान्दार सेनानी थिए । प्रजातन्त्र प्राप्तिका लागि जीवनभर संघर्ष गर्ने अथक योद्धा थिए । उनी जातीय पहिचानप्रति अत्यन्तै सजग थिए । उनी सादा जीवन उच्च विचारका धनी थिए ।

उनका समकालीनहरुले स्मरण गरेका छन्–जेलमा यातना दिँदा उनी भन्थे, ‘म माफी माग्दिन, म जनताको मान्छे हुँ, तिमी सेना, पुलिस र कर्मचारी त जनताका कारिन्दा हौ, तिमीहरु मलाई किन कुट्छौ ?’ प्रजातान्त्रिक आन्दोलनमा उनी आफू मात्र सरिक भएनन्, खेती र किसानीमा मात्र भर पर्ने र शिक्षा, राजनीतिबाट टाढा रहेका सन्थाल जातिलाई पनि संगठनमा आबद्ध गराएका थिए । नेपाली कांग्रेस भन्दा डराउनुपर्ने पञ्चायती व्यवस्थाको कालरात्रीमा सन्थालहरुले प्रजातन्त्रप्रति देखाएको समर्थनका कारण धेरै सन्थालहरु पञ्चायतको दमनको शिकार हुनुप¥यो भने तराई÷मधेशमा औलोसँग लडाइँ गर्दै जमिन आवाद गरेर बसेका उनीहरुको जोताहा खोसियो र जमिनबाट विस्थापित गरियो । शासक र सामन्तको दोहोरो चपेटामा सन्थालहरु परेका थिए । तुर्साले प्रजातन्त्र र जनताका लागि दिन मात्र चाहेका र व्यक्तिगत लाभ लिन कहिल्यै नचाहेको कांग्रेसका पुराना नेताहरु बताउँछन् ।

हेमरमका शरिरमा यातनाका चोटका दागैदाग रहेका थिए । उनले लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा उभिएर पीडा र यातना भोग्नु परेकोमा कहिल्यै पनि पश्चाताप नगरेको उनलाई चिन्ने कांग्रेसीजनको भनाइ छ । प्रजातन्त्रको पुनःस्थापनापछि पनि उनको घरको चुल्होमा आगो बलेन । नेपाली कांग्रेसले उनका लागि केही जग्गा र केही पैसाको व्यवस्था गरेकाले त्यसैको भरमा उनले गुजारा चलाएका थिए ।

२०५४ साल पुस २० गते तुर्साको देहान्त भएको थियो । उनले आफ्नो सम्पूर्ण ऊर्जा, क्षमता, वैंश, सुखसुविधा र ऐश्वर्य त्यागेर आदर्श र निष्ठाको राजनीति गरे । तुर्सा हेमरम जस्ता निष्ठावान, संघर्षशिल र लोकतन्त्रप्रति प्रतिबद्ध नेताहरुको आदर्श भुलेर गुटबन्दी, नातावाद, कृपावाद, अहम् र स्वार्थकेन्द्रित भएका कारण कांग्रेस पछि परेको आम कांग्रेस समर्थकको बुझाइ छ ।

स्मृतिसभामा नेका क्षेत्रीय सचिव शिवकुमार कडेंल, नेपाल महिला संघ झापा सभापति सुशीला ढकाल, झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह, नेका कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया, महासमिति सदस्य देउमान थेबे, तुर्सासँगै जेल जीवन बिताएका सुरेश बास्के लगायतको आतिथ्य रहेको थियो ।

सो अवसरमा धनुषतीर, म्युजिकल चेयर, छेलो फेकाइँ तथा प्रतियोगितात्मक सन्थाल नृत्य आयोजना गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले गरेका थिए ।

Views: 200

प्रतिक्रिया (०)