भद्रपुर।

सडक तथा नाला विस्तारको नाममा जथाभावी खानेपानीको पाइप लाइन काट्दा नगरबासीले स्वच्छ तथा शुद्ध खानेपानी पिउनबाट बञ्चित हुनु परेको छ ।

जिल्ला समन्वय समिति झापाको हलमा शनिवार आयोजित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १७ आंै वार्षिक साधारणसभामा बोल्दै परिषद् सदस्यहरुले सम्बन्धित निकायको लापरवाहीले नगरबासीले स्वच्छ तथा शुद्ध खानेपानी पिउनबाट बञ्चित हुनुपरेको बताएका हुन् ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत भद्रपुर क्षेत्रमा अहिले जताततै नालासहितको सडक विस्तारको काम भइरहेको छ । ठेकेदारले जेसीभी प्रयोग गरी जथाभावी सडक खन्दा खानेपानीको पाइप लाइन काटन थालेका छन् । खानेपानीको पाइप लाइन काटन थालेपछि संस्थालाई बनाउनु वा हटाउनुमै समस्यापर्ने गरेको सहभागीहरुले बताए ।

खानेपानीसँगै बिजुली र टेलिफोन प्रशारण लाइनमा पनि असर पुग्ने गरेकोले यसतर्फ स्थानीय सरकारले तत्काल ध्यान दिनुपर्ने उनीहरुको माग छ । प्रदेश १का सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारेमा जानकारी गराउँदै गतआर्थिक बर्ष २०७४÷०७५ को असार मसान्तसम्म एक करोड ६३ लाख ४१ हजार ५ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको बताए ।
भद्रपुर नगरपलिकामा सञ्चालित सघन सहरी विकास कार्यक्रमले बाटो विस्तार गर्दा खानेपानी, बिजुली र टेलिफोनमा प्रत्यक्ष असर पुर्याएको उनले बार्षिक प्रतिवेदनमार्फत नै उल्लेख गरे । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सघन सहरी विकास कार्यक्रम अन्तरगत भइरहेको कामहरुमा केही प्राविधिक समस्या भएकोले नगरबासीले सास्ती झेल्नु परेको बताए ।
कार्यक्रममा खानेपानी समितिका संस्थापक अध्यक्ष लेखनाथ निरौला, नेकपाका नेता असारु राजवंशी, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिराप्रसाद पोख्रेल, समितिका पूूर्वअध्यक्ष अम्वरबहादुर कार्की, ७ नम्बर वडा अध्यक्ष बिनोद पोख्रेल, १० नम्बर वडा अध्यक्ष टेकवहादुर खड्का, परिषद् सदस्य देवेन्द्र गौतम लगायतले मन्तव्य राख्दै शुद्घ खानेपानी वितरणमा सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
२०५८ सालदेखि उपभोक्ता समिति मार्फत सञ्चालित यस खानेपानी सरसफाई समिति मातहतमा ३५ सय माथिका उपभोक्ताहरुले खानेपानीको प्रयोग गर्दै आएका छन् । संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्व मा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब बाबुराम कार्की र स्वागत उपाध्यक्ष रेखा अधिकारीले गरेकी थिइन् ।

