Aamsanchar

जनता आवास कार्यक्रमबाट ४३ घर 

Author Image
बुधवार, पौष २५, २०७५

तेह्रथुम,
जनता आवास कार्यक्रमअन्तर्गत तेह्रथुममा ४३ घर निर्माण भइरहेका छन् । जिल्लाका सीमान्तकृत तथा दलित बस्तीमा सो कार्यक्रमको सहयोगमा ४३ घर निर्माण भइरहेका छन् ।

कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनोट भएका परिवारले प्रतिपरिवार रु तीन लाख ५० हजार अनुदान पाएका छन् । कार्यक्रमअन्तर्गत जिल्लाका छवटै स्थानीय तहमा रहेका आर्थिकरूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण भइरहेको छ । जनता आवास कार्यक्रमले जिल्लाका ५० घर बनाउने योजना दिएको थियो तर कार्यक्रमको मापदण्डभित्र रहेर जनता आवास कार्यक्रम, जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहबाट एक–एकवटा बस्ती छनोट गरी ४३ वटा घर बनाएको हो ।

आफ्नो घर नभएर छाप्रो र टहरामा बस्दै आएका दलित परिवारलाई सरकारले घर बनाई दिएपछि आफूहरूलाई छाप्रोबाट घरसम्म पु¥याएकोे भन्दै उनीहरूले खुशी व्यक्त गरेका छन् । जनता आवास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन धनकुटाले आठराई गाउँपालिका–५, छातेढुङ्गा माझी बस्तीमा दुई, फेदाप गाउँपालिका–३, जलजलको दलित बस्तीमा चार र मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङ निङ्लेखु टोलमा आठ घर निर्माण गरिरहेको छ ।

यस्तै, म्याङ्लुङ नगरपालिका–४, पिप्ले दलित बस्तीका आठ घर, लालीगुराँस नगरपालिकाको सोल्मामा १२ घर र छथर गाउँपालिका–२, हमरजुङ दलित बस्तीमा नौ घर निर्माण भइरहेको जनाएको छ । भवन निर्माण डिभिजन धनकुटाले धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्ला समन्वय समितिले घर बनाउन गत आर्थिक वर्षमा नै सबै स्थानीय तहमा एक–एक वटा बस्ती छनोट गरे पनि बजेट पूरा नआएकाले घर निर्माणमा ढिलाइ भएको थियो । घर निर्माण गर्न हालसम्ममा मन्त्रालयले पहिलो र दोस्रो किस्ताबापतको रकम उपलब्ध गराइसकेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुङ्गानाले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत आर्थिकरुपमा अति विपन्न परिवारलाई घर बनाउन अनुदान प्राप्त भएपछि ज्याला मजदूरी गरेर दुई छाँक टार्दैै आएका हर्षित भएका छन् । बास बस्ने आफ्नो घर नभएर बारीमा चिमले बारेर बसेका दलित परिवारमा यो कार्यक्रमले खुशियाली भित्रिएको फेदाप गाउँपालिका–३ जलजलेका कुमार धौलाकोटीले बताउनुभयो ।

Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर