काठमाडौँ,

सुधार गृह सञ्चालहरुले आवश्यक कानून बनाउन माग गर्दै आफूहरुलाई सरकारले असहयोग गरेको गुनासो गरेका छन् ।

लागु पदार्थ दुव्र्यसनमा फसेकालाई सुधार गर्ने प्रयास गरिरहेको सन्दर्भमा प्रशासनले आफूहरुमाथि अनावश्यक शङ्का गरेर दुःख दिने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । रिकभरी सोसाइटी अफ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सुधार गृह सञ्चालकले लागु पदार्थ दुव्र्यसनीमा फसेका नागरिक बारे काम गर्ने क्रममा निर्धक्क भएर काम गर्ने वातावरण नभएको भन्दै गुनासो गरेका हुन् ।
नेपाल बार एशोसिएशनका निर्वतमान सचिव एवं अधिवक्ता विष्णु लुइटेलले सरकारले गर्नुपर्ने काम निजी क्षेत्र र केही सामाजिक अभियन्ताको तर्फबाट गरिरहेको सन्र्दभमा सरकारबाटै साथ नभएको गुनासो गर्नुभयो । सरकारले सो क्षेत्रका बारेमा आवश्यक कानून बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

साहारा नेपालकी अध्यक्ष एनी राईले नेपालमा महिला सु्धार गृहको अभाव भएको भन्दै सरकारलाई व्यवस्थापनका लागि आग्रह गर्नुभयो । उहाँले लागु पदार्थमा फसेका महिलाका बारेमा घर परिवार नै बेखबर बन्ने हुँदा सुधार गर्न असहज भएको बताउनुभयो । रिकभरी सोसाइटी अफ नेपालका संयोजक रवीन कार्कीले सुधार गृहमाथि प्रशासनले विभिन्न आरोप लगाएर दुःख दिने गरेको आरोप लगाउनुभयो ।

