Aamsanchar

कनकाई घाटमा पाँचौं चितास्थलको शिलान्यास

Author Image
बिहिवार, माघ ३, २०७५

सुरुङ्गा।

पूर्वकै प्रसिद्ध नदी कनकाई माईको पूर्वी तटमा रहेको कनकाई घाटमा पाँचौं चितास्थल निर्माणको लागि शिलान्यास गरिएको छ ।

बिहीबार एक कार्यक्रमका वीच वैदिक मन्त्रोच्चारणसहित पाँचौं चितास्थलको शिलान्यास गरिएको हो । उक्त पाँचौ चितास्थल पत्नी स्वर्गीय सरवनदेवी मित्तलको पुण्यस्मृतिमा पति द्वारिकाप्रसाद मित्तल र उनको परिवारले बनाउन लागेको हो । स्व. सरवनदेवीको २०७२ साल माघ ३ गते निधन भएको थियो ।

चितास्थल निर्माण सम्बन्धी दाता र कनकाई घाट समितिवीच सम्झौता पनि सम्पन्न भइसकेको बताइएको छ । झापामै व्यापारको क्षेत्रमा अग्रणी रहेको मित्तल परिवारबाट पिता द्वारिकासहित पुत्रहरु दिनेश मित्तल र प्रदीप मित्तल लगायत परिवारका अन्य सदस्यहरु अग्रसर भई चितास्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरी शिलान्यास समेत गरिएकोमा उपस्थित सबैले मित्तल परिवारको उदार तथा पुण्य कार्यको प्रशंसा गरे । मित्तल परिवार धनमात्र होइन मन पनि भएको पुष्टि भएको भन्दै सहयोगी भावले काम गर्नु पर्नेमा सबैको जोड थियो ।

हाल २ वटा मात्र चितास्थल भएको र दिनहुँ १ दर्जनसम्म शवहरु ल्याइने भएकाले समस्या भइरहेकोमा घाटसमितिको प्रस्तावलाई स्वीकार गरी यस अघि विर्तामोड निवासी तिलरुपा खडकाले तेस्रो र मारवाडी सेवा समितिले चौथो चितास्थल बनाउने संकल्प लिई निर्माण कार्य भइरहेको छ भने अहिले मित्तल परिवारले पाँचौं चितास्थल बनाउन लागेको हो ।

शिलान्यास कार्यक्रममा स्व. सरवनदेवीका छोरा दिनेश मित्तलले स्वागत मन्तव्य राख्दै चितास्थल निर्माणमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने र कनकाई घाट समितिले बनाएको इञ्जिनियरिङ नक्सा बमोजिम आफै सरिक भएर सम्पूर्ण निर्माण सामग्री आफै जुटाएर निर्माण कार्य सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने बताए । सम्मानपूर्वक दाहसंस्कारका लागि आफ्नो परिवारले कनकाई माईको पूर्वी तटमा चितास्थल बनाउने संकल्प गरेको दिनेशले बताए । चितास्थल निर्माणका लागि ३० देखि ४० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले तिलरुपा खडका, मारवाडी सेवा समिति र मित्तल परिवारको कार्य अनुकरणीय रहेको बताए । मेयर रानाले सहयोगी हात र उदार मनले मात्र समाजको हितका लागि काम गर्न सक्ने बताए ।

जीवनको अन्तिम विश्रान्तिको सुव्यवस्थाका लागि भएको उक्त कार्य प्रेरक रहेकोमा मेयर रानाको जोड थियो । विशेष अतिथि नेपाल च्याम्बर अफ कमर्श प्रदेश नं. १ का अध्यक्ष राजेन्द्रकुमार घिमिरेले मानिसलाई व्यवस्थित समाज, व्यवस्थित जीवन र व्यवस्थित दाहसंस्कार रहेकोमा जोड दिँदै चितास्थल निर्माणको प्रतिबद्धता व्यक्त गर्ने सबैलाई धन्यवाद दिए ।

अर्जुनधारा नगरपालिका वार्ड नं. १० का वार्ड अध्यक्ष बलदेव गोम्देन, कनकाई नगरपालिका वार्ड नं. ४ का सदस्य रोशन सुबेदी, नेपाल–भारत मैत्री संघ झापा क्षेत्र नं. ४ का अध्यक्ष भवानी लुइँटेल, अलैंची व्यवसायी संघका केन्द्रीय महासचिव ओम बिमली, एकल लगानीमा तेस्रो चितास्थल निर्माण गरिरहने दाता तिलरुपा खडका, अग्रसेन भवन सञ्चालक समितिका अध्यक्ष हनुमान मित्तल लगायतको आतिथ्य रहेको कार्यक्रममा मारवाडी समुदायको ठूलो उपस्थिति रहेको थियो ।

कार्यक्रममा मारवाडी सेवा समिति विर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेल, कनकाई घाट समितिका महासचिव मदनगोपाल सुब्बा लगायतले सेवाभावका साथ लाग्ने दाताहरुको प्रशंसा गरेका थिए ।

यो निर्माण कार्यलाई सहजीकरण गर्न कनकाई घाट समितिका तर्फबाट समितिका सचिव सूर्य उप्रेतीको संयोजकत्वमा कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल समेत रहेको निर्माण समिति गठन गरिएको छ । कार्यक्रममा पंडित लोकनाथ गौतमले संकल्प वाचन गरी वैदिक मन्त्रसहित चितास्थल निर्माणको शिलान्यास गरिएको थियो ।

कनकाई नगरपालिकाले चितास्थल उत्तरतर्फको जमिनको बचाउका लागि नगरपालिकाका तर्फबाट माटो भर्ने र तटबन्ध गर्ने ५० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने कार्य गर्ने प्रतिबद्धता जनाइसकेको छ । यसै वीच लामो समयदेखि सामाजिक काममा आबद्ध कनकाई घाट समितिका कोषाध्यक्ष समेत रहेका निर्माण व्यवसायी केदार गिरी आफ्नो एकल लगानीमा कनकाई सर्पदंश उपचार केन्द्रदेखि चितास्थलसम्मको बाटोलाई स्तरीय रुपमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रमका अध्यक्ष समेत रहेका कनकाई घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले शिलान्यास गरिएका थप तीनै वटा चितास्थलको निर्माण कार्य आर्थिक वर्ष २०७५÷०७६ भित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

अध्यक्ष कडरियाले कनकाई घाट समितिको गुरुयोजना अनुसारका काम एकपछि अर्को पुरा हुँदै गएका र यसका लागि झापावासी उदारहृदयी दाताहरुको सहयोगबाट मात्र सम्भव रहेको बताए । कनकाई घाट निर्माण समितिको आयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन कनकाई घाट समितिका सचिव सूर्य उप्रेतीले गरेका थिए ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर