Aamsanchar

पर्यटक प्रवद्र्धनका लागि महोत्सव

Author Image
शनिवार, माघ ५, २०७५

लमजुङ,

लमजुङ सुन्दरबजार नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि ‘भोटेओडार महोत्सव’ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घ भोटेओडार इकाइको आयोजनामा यही माघ १८ देखि २७ गतेसम्म हुने महोत्सवमा १५० स्टल राख्ने आयोजकले जनाएको छ ।

‘समृद्ध भोटेओडारको मूलआधार, पर्यटन प्रवद्र्धन, उद्योग व्यापार, परम्परागत सीप, कला र संस्कृतिको संरक्षण’ भन्ने मूलनाराका साथ शुरु हुने महोत्सवमा करीब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न ३५१ सदस्यीय मूलआयोजक समिति र विभिन्न २८ उपसमिति गठन गरिएको छ । महोत्सबाट करीब ५९ लाख ७० हजार आम्दानी गर्नेे लक्ष्य राखिएको महोत्सवका सहसंयोजक निपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

तार्कुकोटमा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण, भोटेओडारको मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान, भक्ति नमूना माविको विशेष कक्षामा पढ्ने विद्यार्थीका लागि सहयोग गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको लमजुङ उद्योग वाणिज्य सङ्घ भोटेओडार इकाइका अध्यक्ष एवं महोत्सवका संयोजक सुरजकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा भोटेओडार युथ सोसाइटी र बुद्धयुथ क्लबको पनि सहयोग रहने छ । महोत्सव सचिवालयका संयोजक रेवतीकुमार श्रेष्ठका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, विज्ञान प्रतियोगिता, प्याराग्लाईडिङ उडान, माविस्तरीय लोक नृत्य प्रतियोगिता, जातीय सांस्कृति झलक, नाटक प्रदर्शनी गरिनेछ ।

महोत्सवको मुख्य आकषर्णमा बाल उद्यान, स्थानीय कृषि, घरेलु तथा हस्तकला, प्रदर्शनी, स्थानीय फोटो प्रदर्शनी, परम्परागत खाना महोत्सव, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, झाँकी तथा ¥याली प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत हुने छ ।

Views: 123

प्रतिक्रिया (०)