बनियानी।

कचनकवल–७ स्थित दिपज्योति सामुदायिक वनको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वनका अध्यक्ष हरि लिम्बूको अध्यक्षता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार यस वर्ष वनले १६ लाख ५२ हजार आम्दानी गरेको छ । लक्ष्यको ७० प्रतिशत मात्र आम्दानी भएको अध्यक्ष लिम्बूले बताए । वनको यसवर्षको खर्च २७ लाख १० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । लकडी कटान, संकलन तथा बिक्री वितरणमा ढिलाइ भएकाले यस वर्ष घाटा बेहोर्नु परेको अध्यक्ष लिम्बूको भनाइ छ ।
२०६६ साल चैतमा जिल्ला वन कार्यालय झापामा दर्ता भएको सामुदायिक वनमा ७ सय घरधुरी आवद्ध छन् । वनको क्षेत्रफल ३ सय ९२ दशमलब १८ हेक्टर रहेको कोषाध्यक्ष रिता सापकोटाले बताइन् । साधारणसभाका अवसरमा स्थानीय १७ जना ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो । प्रमुख अतिथि सांसद् लिङ्देनले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला र नगदसहित सम्मान गरे ।

सोही अवसरमा उनले गोलघर (चौतारो) र फलामे गेटको समेत उद्घाटन गरेका थिए । साधारणसभामा कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे, धान सुपरजोनका अध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद् लिङ्देनले हरेक सामुदायिक वनले एउटा सिमसार बनाउनुपर्ने बताए । जंगलबाट निस्किएर सर्वसाधारणलाई दुःख दिने हात्ती हेर्नकै लागि पर्यटक आउने वातावरण चाँडै बनाइने उनको भनाइ थियो । ‘हात्ती हेर्न पर्यटक आउनेछन्, यहाँको आम्दानी पनि बढ्नेछ,’ उनले भने ।
जलथल जंगल वन्यजन्तु र जैविक विविधताका हिसावले महत्वपूर्ण रहेकाले यसको संरक्षणमा जुट्नुपर्ने उनको भनाइ थियो । लोपोन्मुख सालक पनि यही जंगलमा पाइने उनले जानकारी दिए । हात्तीको उपद्रो रोक्नका लागि सौर्य विद्युतीय तारबारको काम चाँडै अघि बढाइने लिङ्देनले बताए ।
प्रमुख अतिथि लिङ्देनले कचनकवलका सबै माद्यमिक विद्यालयमा अंग्रेजी तथा कम्प्युटर शिक्षा अनिवार्य गरिनेसमेत उद्घोष गरेका छन् । विद्यालयहरुमा कम्प्युटर शिक्षक र कम्प्युटरको व्यवस्था चाँडै गरिने उनको भनाइ छ ।

