Aamsanchar

भद्रपुरमा दिउँसै खुलेआम तस्करी

Author Image
सोमवार, माघ ७, २०७५

भद्रपुर।

कारोबारीले भद्रपुर नाकाबाट दिउँसै खुलेआम तस्करी गर्न खोजिएपछि नेपाल प्रहरीले आइतबार बिहान एक लाख ९० हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।

भारतको गलगलिया नाकाबाट भित्र्याइएको चार पोका सामान भद्रपुर–५स्थित मसानघाट छेऊबाट भन्सार छलेर भित्र्याउन खोजिएपछि वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले सो मूल्य बराबरको सामान बरामद गरेको हो ।

बरामद गरिएको सामानमा रेडिमेट सर्ट, टि–सर्ट, जिन्स ज्याकेट र जुत्ताचप्पल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीलाई चुनौति दिँदै दिउँसै प्रहरी कार्यालय अगाडिबाटै सरसमानको तस्करी हुन थालेको गोप्य सूचनाको आधारमा सो मूल्य बराबरको सामान बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

भद्रपुरको मुख्य नाकादेखि मसानघाट ५ सय मिटर दक्षिणमा पर्छ । पाँच सय मिटर उत्तरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिए पनि कारोबारीले तस्करीको माध्यमबाट सो सामान भित्र्याउन खोजेका थिए ।

सरकारले सीमानामा हुने अपराधिक क्रियाकलापसँगै तस्करी गतिविधि रोक्न सशस्त्र प्रहरीको स्थापना गरेको हो । सशस्त्र प्रहरीलाई नै सीमानाको रक्षक भनिन्छ । तर, सशस्त्र प्रहरी बल झापा गण नम्बर २बाट ड्युटीमा खटाइएका सशस्त्र प्रहरीले भद्रपुरको सीमानामा हुने अपराधिक क्रियाकलाप रोक्न खासै चासो नदेखाउँदा नेपाल प्रहरीले यसतर्फ निगरानी बढाउन थालेको हो ।

Views: 206

प्रतिक्रिया (०)