भद्रपुर।

भद्रपुर नाकामा तस्करी मौलाएसँगै सशस्त्र प्रहरीले एक लाख ९५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएका सशस्त्र प्रहरी टोलीले भद्रपुर–५स्थित गणेश मन्दिर नाकाबाट उक्त मूल्य बराबरको सामान बरामद गरेको बताइएको छ । बरामद गरिएको सामानमा साडी, कुर्ता, थान कपडा, किराना, टायर लगायतका सामान रहेको छ ।
बरामद गरिएको सामानलाई भद्रपुर भन्सार कार्यालय बुझाइसकेको बताइएको छ । सो नाकाबाट पछिल्लो समयमा भन्सार छलेर धमाधम तस्करीको माध्यमबाट सरसामानहरु भित्रिन थालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले सक्रियता बढाएको छ ।

केही दिनअघि मात्र सो नाकाबाट करिब १० लाख मूल्य बराबरको लत्ताकपडा बरामद गरिएको थियो ।
Views: 170

