अर्जुनधारा।

जलेश्वर सामुदायिक सिकाई केन्द्र अर्जुनधारा–८को आयोजनामा सञ्चालित आठ दिवसीय कपडाको झोला बनाउने तालिम सम्पन्न भएको छ ।

केन्द्रकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षता र वडाध्यक्ष गोपीचन्द्र गौतमको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य हिमा विष्टले गरेकी थिइन् ।

चालु आर्थिक वर्षमा वडा समिति ८को एक लाख रुपैयाँको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिमका सहभागी १२ जना सहभागीलाई वडाध्यक्ष गौतमलगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।



त्यसैगरी कार्यक्रममा केन्द्रलाई विशेष सहयोग गर्ने अर्जुनधारा–११स्थित परिश्रमी मिश्रित महिला समूहलाई कदर पत्रसहित सम्मानित गरिएको थियो । सोही कार्यक्रमको सन्दर्भमा केन्द्रको गत आर्थिक वर्ष २०७४÷२०७५को गतिविधि र आय–व्यय विवरणसहितको प्रतिवेदन केन्द्रकी अध्यक्ष सुवेदीले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा बोर्ड सदस्यद्धय सकुन्तला बराल र हरिमाया दाहाल, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद्का अध्यक्ष जगत राना मगर, प्रज्वला महिला तथा अपाङ्ग सहकारी संस्थाकी अध्यक्ष निर्मला पौड्याल, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, केन्द्रका संस्थापक अध्यक्ष कुमार भट्टराई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रकी सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।

