Aamsanchar

जुम्लाको मार्सी चामलमा झापालीको आकर्षण

Author Image
मङ्गलवार, माघ २२, २०७५

बिर्तामोड,

झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल किन्न आउनेको संख्या उल्लेख्य पाइएको छ ।

महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांश सर्वसाधारण मार्सी चामलको स्टल खोज्दै पुग्ने गरेका छन् ।
महोत्सवस्थलमा जुम्ला बजारबाट ल्याइएको मार्सी चामलको स्टल राखिएको छ । स्टलमा बसेकी शान्ति न्यौपानेका अनुसार राजधानीस्थित हिमाली प्रोडक्ट टेडिङ सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर सप्लाइ गरिरहेको छ ।

हाल देशैभर मार्सी चामलको माग उच्च रहेकाले हरेक ठाउँमा लाग्ने महोत्सवमा यसको स्टल राख्ने गरिएको स्टलकी गंगादेवी राउतले जानकारी दिइन् ।

बिर्तामोड महोत्सवबाट मात्र ९ क्वीन्टल मार्सी चामल बिक्री भएको छ । स्टलबाट २ लाख ५२ हजार रुपैयाँको मार्सी चालम बिक्री भएको न्यौपानेको भनाइ छ ।

‘पहिले मार्सी चामल चिन्नेहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो,’ उनले भनिन्, ‘उहाँले केपी ओली र प्र्रचण्डलाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।’ दुर्गा प्रसाईंलाई भेट्न र सम्मान गर्न मन लागेको स्टलका राउत र न्यौपानेले बताए ।

बिर्तामोड महोत्सवबाट आफूहरु सन्तुष्ट रहेको उनीहरुले प्रतिक्रिया दिए । स्टलबाट दिनमा ५० देखि ६० जनासम्मले मार्सी चामल किनेर लैजाने गरेको बताइएको छ । एकजनाले ३० केजीसम्म खरिद गरेको राउतले बताइन् ।


‘दुर्गाले प्रधानमन्त्रीलाई खुवाएको चामल कहाँ पाइन्छ भन्दै सोध्न आउँछन्,’ उनले सुनाइन् । मार्सी चामल मिलमा नकुटेर ढिकीमा कुटेका कारण पौष्टिक तत्व बढी पाइने बताइएको छ ।

महोत्सवको आज अन्तिम दिन

११ माघबाट जारी बिर्तामोड महोत्सव आज (बुधबार) समापन हुँदैछ । एक भव्य कार्यक्रमको आयोजना गरी महोत्सव समापन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघको तयारी छ ।

महोत्सवले बिर्तामोडको परिचयलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जोड्न निकै बल पु¥याएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । महोत्सवभर २२ करोडको कारोबार अनुमान गरिएको उनको भनाइ छ । महोत्सवभर माया र हौसला प्रदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिने उनले जानकारी दिए ।

व्यवसायिक तथा सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था र आदिबासी जनजातीलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष भट्टराईको भनाइ छ ।

महोत्सवबाट पूर्वको प्रमुख व्यापारिक सहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने आफूहरुको लक्ष्य पूरा भएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

घरेलु उत्पादनका उपभोग्य सामाग्रीदेखि भारत, बंगलादेश र पाकिस्तानका स्तरीय उत्पादनहरु एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उनले बताए ।

महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार मंगलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर महोत्सवको अवलोकन गरेका छन् । विगतका महोत्सवहरुको तुलनामा बिर्तामोड महोत्सव स्तरीय बनेको उनले बताए ।

महोत्सव समापनका दिन बुधबार साँझ लाहुरेको विशेष सांगीतिक प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक श्याम खड्गीले जानकारी दिए ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर