

बिर्तामोड, माघ २४। झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ ।

कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, जिल्ला ट्राफिक कार्यालयका झापाका प्रमुख राजेश राई, वर्ष उत्कृष्ट कर्मचारी विमला न्यौपाने, यमबहादुर बिष्ट, उत्कृष्ट सेवाकेन्द्र धुलाबारी लघुवित्त सेवाकेन्द्र, सुरुङ्गा सेवाकेन्द्र लगायतलाई नगदसहित सम्मान गरिएको थियो ।
संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीलाई, बिशेष सम्मान गरिएको थियो । सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्कालाई समेत स्वागत गरिएको थियो ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संस्थाका सञ्चालक समिति सदस्य इन्द्रबहादुर कार्कीले गरेका थिए ।
कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत, महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, कञ्चनजंगा एफएमका अध्यक्ष राजकुमार पोखरेल, बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, जिल्ला बचत संघका सहसचिव उपेन्द्र ओली, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले औचित्यमाथि प्रकाश पारेका थिए । उनले ५५ जनाको अगुवाईमा २० लाख ५० हजार शेयर पुँजीबाट शुरु भएको संस्थाले छोटो समयमा ८ करोड शेयर पुँजी पुर्याउन सफल भएको बताए । संस्थामा १९ हजार छ सय शेयर सदस्य रहेको र संस्थाको १४ वटा सेवाकेन्द्र मार्फत एक सय २३ जनाले रोजगारी पाएको अध्यक्ष बस्नेतले बताए । उनले पुस मसान्तसम्ममा संस्थाले एक करोड ४० लाख नाफा गर्न सफल भएको जानकारी दिए ।
सोही कार्यक्रममा संस्थाका दुई जना शेयर सदस्यहरुको ऋण मिनाहा गरिएको थियो । मेचीनगरपालिका–१२ सविना दर्जीको मृत्यु भएकोमा उनले लिएको नगद ४० हजार र बनियानीका सोरेन मुखियाको मृत्यु भएकोमा उनले लिएको नगद ४० हजार ऋण मिनाहा गरिएको थियो ।
त्यस्तै मेचीनगर नगरपालिकाकी सुनिता लामिछानेलाई उपचारका लागि आठ हजार, मनबहादुर तामाङको आगलागी भएकोमा उनलाई पाँच हजार, बिर्तामोडकी विष्णुमाया पाठकलाई उपचारका लागि चार हजार, बिर्तामोडकी लक्ष्मीदेवी भट्टराईलाई स्तन क्यान्सर भएकोमा नगद २५ हजार, दुहागढीकी सुष्मा भट्टराई दाहाललाई नगद १० हजार, कनकाई नगरपालिकाका यदुप्रसाद भट्टराईलाई मृगौला फेल भएका कारण २५ हजार, मेचीनगरपालिका–६ का धनवीर तामाङको आगलागी भएकोमा नगद चार हजार, दुहागढीकी रिता राउतलाई उपचारका लागि नगद आठ हजार प्रदान गरिएको संस्थाका सचिव सुवास भट्टराईले जानकारी दिए ।
यसैबीच संस्थाले झापामा सबैभन्दा बढी रक्तदान गरेको छ । संस्थाको आठौं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा एक सय ९५ जनाले रक्तदान गरेका थिए । एकैदिनमा एकै स्थानमा गरिएको रक्तदान झापामा सबैभन्दा बढी भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।कार्यक्रममा व्यवसायि तथा रेडक्रसकर्मी ओमप्रकाश लुइँटेलले ६४ पटक रक्तदान गरेका थिए । रक्तदान सफल पार्न संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेत संयोजक र रेडक्रसकर्मी ओमप्रकाश लुइँटेल, सञ्चारकर्मी रञ्जित प्रसाईं सदस्य रहेको समिति समेत गठन गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

