Aamsanchar

निदि मावि तथा इन्द्रेणी क्याम्पसको वार्षिकोत्सव

Author Image
शुक्रवार, माघ २५, २०७५

सुरुङ्गा।

विर्तामोड नगरपालिका–२ रामचोकस्थित इन्द्रेणी एजुकेशन फाउण्डेसनको वार्षिकोत्सव तथा अभिभावक दिवस–२०७५ सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष एल.पी. उप्रेतीको प्रमुख आतिथ्य र निदि मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्रेणी क्याम्पसका सञ्चालक तथा पूर्व क्याम्पस प्रमुख निर्मलकुमार पाण्डेले इन्द्रेणी फाउण्डेसनको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि उप्रेतीले शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिने र छोटो अवधिमा इन्द्रेणी एजुकेशन फाउण्डेसनले शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्दै अघि बढेकोमा प्रशंसा गरेका थिए । पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा प्याब्सन विर्तामोड नगर अध्यक्ष उत्तम खनाल, विद्यार्थी भगवान कोइराला लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा व्यवस्थापक संकायका सहसंयोजक रञ्जितकुमार शाहले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । व्यवस्थापन संकायमा विद्यार्थी र अभिभावकको विश्वास आर्जन गर्न सफल झापा जिल्लामै ख्याति कमाएको उक्त फाउण्डेसनले निकट भविष्यमा एम.बी.एस. र बीबीए कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख अनिल झाले जानकारी दिए ।

सो फाउण्डेशन अन्तर्गत इन्द्रेणी क्याम्पस र निदि शिक्षा निकेतन मावि तह सञ्चालित छन् । क्याम्पस तर्फ बी.बी.एस, मावि तहतर्फ कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन समूह र निदि शिक्षा निकेतन अन्तर्गत नर्सरीदेखि कक्षा १० सम्मका कक्षाहरु सञ्चालनमा रहेका छन् ।

शहरबजारको हल्लाखल्लादेखि टाढा शान्त ठाउँमा रहेको सो शैक्षिक प्रतिष्ठान अन्तर्गत नर्सरीदेखि कक्षा १२ सम्म १ हजार २ सय तथा क्याम्पसतर्फ बीबीएसमा ३ सय १८ जना विद्यार्थी अध्ययनरत र जम्मा ९० जना शिक्षक, प्राध्यापक तथा कर्मचारी कार्यरत रहेको विद्यालयका प्रिन्सिपल भीष्म प्रसाईले जानकारी दिए ।

सो कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु एमबीबीएस उत्तीर्ण डा. दीपा झा, बी.ई (सिभिल) उत्तीर्ण दिवस भण्डारी, बी.ई. (कम्प्युटर) उत्तीर्ण तान्या अग्रवाल, सीए मन्दिप न्यौपाने, बीई उत्तीर्ण अजयकुमार शाह, समीक्षा भट्टराई, पवन शाह र राकेश सोनार, बीबीए उत्तीर्ण सरिता बर्देवा, समीक्षा प्रसाई र बीबीएस उत्तीर्ण अभिषेक अधिकारीलाई विशेष सम्मान गरिएको थियो ।

अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको सहभागिता रहेको उक्त कार्यक्रममा बीबीएस चौथो वर्षका विद्यार्थीलाई हार्दिक बिदाइ र कक्षा ११ तथा बी.बी.एस. प्रथम वर्षका विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरुले मार्शल आर्ट, नृत्य, गीत, कविता तथा फेशन शो प्रस्तुत गरेका थिए ।

विर्तामोड नगरपालिका वार्ड नं. २ का वार्ड अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको विशेष आतिथ्य रहेको औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मीहरु दीपेन्द्र पौडेल र स्वस्तिका भण्डारीले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन शिक्षक नवीन आचार्य र विद्यार्थीहरु त्रिजा शाह, कुशला मिश्र, प्रतिमा रिजाल तथा नीलिमा दाहालले संयुक्त रुपमा गरेका थिए ।

Views: 67

प्रतिक्रिया (०)