बिर्तामोड ।

बढ्दो सहरीकरणले दिन प्रतिदिन प्रदुषण बढेको र मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेका बेला झापा बिर्तामोडका बिद्यार्थीले ‘ग्रीन सिटी’को अवधारणा अघि सारेका छन् ।

झापाका सवैजसो स्थानीय तहले ‘स्माट सिटी’को अवधारणा अघि बढाइरहेका बेला बिद्यार्थीले भने ‘ग्रीन सिटी’लाई प्राथमिकता दिएका छन् । सरकारले एक घर दुई विरुवा अनिवार्य भनेपनि वातावरण संरक्षणमा आम नागरिकले चासो दिएका छैनन् । जसका कारण दिनप्रतिदिन प्रदुषण बढ्दै गएको छ ।

प्रदुषणकै कारण मानिसलाई विभिन्न प्रकृतिका रोग लाग्ने क्रम बढ्दो छ । वातावरण प्रदुषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै बिर्तामोडमा रहेको ग्रिण्ड फिल्ड वल्र्ड स्मार्ट स्कूलका बिद्यार्थीले भने ‘ग्रीन सिटी’को अवधारणा अघि सारेका हुन् ।

सहर हरियाली भए वातावरण स्वास्च्छ हुने र वातावरण स्वाच्छ भए मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका रोग नलाग्ने जनाउँदै उनीहरुले विद्यालयमा आयोजित विज्ञान प्रर्दशनीमा ‘ग्रीन सिटी’को अवधारणा मार्फत आफ्ना अभिभावकलाई सन्देश दिएका थिए । विद्यालयले आयोजना गरेको विज्ञान प्रर्दशनीमा सहभागी अभिभावक पनि विद्यार्थीको अवधारणा देखेर दंग परेका थिए ।
‘साइन्स,टेक्नोलोजी,इन्भारमेन्ट र म्याथम्याटिक्स’ (एसटीइएम) नाम दिएको विज्ञान प्रर्दशनीमा विद्यार्थीले प्रर्दशन गरेको ‘ग्रीन सिटी’को अवधारणा निक्कै उत्कृष्ट लागेको अभिभावक पवन खतिवडाले बताए । ‘हरियाली सहर भए प्रदुषणका काराण रोग लाग्दैन, तीव्र सहरीकरणका कारण बिर्तामोड लगायत सबैजसो सहर प्रदुषित बनेका छन्’ खतिवडा भन्छन्– ‘बिद्यार्थीको अवधारणा अनुसार अघि बढ्न सक्ने हो भने हाम्रो आयु पनि लम्विने रहेछ ।’


त्यस्तै कार्यक्रममा सहभागी क्रिष्टिना भिल्यारमिनो प्रसाईले ‘ग्रीन सिटी’ संगै स्वास्थ्यकर र अस्वास्थ्यकर खाना पहिचान गरेर खाने गरे शरीर स्वास्थ्य रहने अवधारणा आफूलाई मन परेको बताएकी छिन् । उनी भन्छिन– खाना खान नजानेर धेरै रोग लागिरहेका बेला बिद्यार्थीले स्वास्थ्यकर र अस्वास्थ्यकर खाना पहिचान गरेर खाने हो भने रोग नलाग्ने सन्देश सहित प्रस्तुत गरेको प्रर्दशनीले आफ्नो मन छोएको बताइन् ।
शिक्षा सेवी गोपालकुमार वस्नेतले उद्घाटन गरेको प्रर्दशनीमा दुई सय भन्दा बढी प्रर्दशनीका सामग्री राखिएको छ । विद्यार्थीले पढ्दै सिक्दै गरेको ज्ञानलाई व्यवहारमा उतारेर प्रर्दशनीमा राखिएको विद्यालयका निर्देशक आनन्दकुमार बस्नेतले बताए । प्रर्दशनीमा विद्यार्थी सहित अभिभावकको समेत उत्सुकता रहेको कार्यक्रम इञ्चार्ज सुरज थापाले बताए ।
विद्यालयका विज्ञान शिक्षक निलमप्रसाद खरेलका अनुसार समुहमा काम गर्ने अभ्यास तथा पाठ्यक्रम अनुसारका विज्ञान प्रर्दशनीलाई व्यवहारमा उतार्न यस्ता प्रर्दशनीले विद्यार्थीको प्रयोगात्मक क्षमतामा वृद्धि गरेको छ । विद्यार्थीले प्रर्दशनी राखेको ड्रोन, रकेट, तारामण्डल,कम्प्यूटर प्रोगामिङ,वातावरणका विभिन्न प्लानेट लगायतले अभिभावकको मन जितेको कार्यक्रममा सहभागी हिमालय प्रसाईले बताए ।

