Aamsanchar

महाधिवेशनलाई पछाडि धकेलेर फाइदा हुँदैन : काङ्ग्रेस नेता थापा

Author Image
आइतवार, माघ २७, २०७५

गोरखा,

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई÷अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिनुभयोे ।

‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन”, उहाँले भन्नुभयो, “सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।”

नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताउनुभयो ।

अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उहाँहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गर्नुभयो । “युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु”, उहाँले भन्नुभयो, “अब पुराना नेतालाई बढो सम्मान दिएर राख्नेछौँ ।”

नेता थापाले अहिलको काङ्ग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताउनुभयो । पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उहाँको तर्क छ । “शीर्ष नेता मिलेका बेला विधान चाहिँदैन, जब सामान्य समस्या आउँछ अनि नेता विधान पल्टाउन थाल्नुहुन्छ”, उहाँले भन्नुभयो, “यही कारणले पार्टीभित्र समस्या उत्पन हुने गरेको हो ।”

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर